काठमाडौं - बागमती प्रदेशको रिक्त राष्ट्रिय सभाको उपनिर्वाचनमा भोलि मतदान हुँदैछ । हेटौडामा झन्डै साढे तीन सय मतदाताले आफ्नो स्वविवेक प्रयोग गर्नेछन् ।
उपनिर्वाचनमा रामबहादुर थापा बादल, डा.खिमलाल देवकोटा र कृष्णबहादुर तामाङ उम्मेदवार बनेका छन् । तर, मुख्य प्रतिस्पर्धा बादल र देवकोटाबीच हुने देखिएको छ । भोलि हुने निर्वाचनमा नेपाली कांग्रेसले आफ्नो पार्टीको उम्मेदवार उठाएको छैन ।
एमालेमा देखिएको किचलोका कारण माधवकुमार नेपाल समूहको आग्रहका कारण कांग्रेस र माओवादी केन्द्रले डा.देवकोटालाई सहयोग गर्ने निर्णय गरेका छन् । माओवादी केन्द्रले देवकोटालाई भोट हाल्न ह्विप नै जारी गरेको छ ।
एमालेले भने आफ्नै उम्मेदवार बादललाई भोट हाल्न ह्विप जारी गरेको छ । तर, कांग्रेसले केही निर्णय गरेको छैन । यद्यपि कांग्रेसले देवकोटालाई नै भोट हाल्ने निश्चित छ ।
यो उपनिर्वाचनमा बादल र देवकोटा उम्मेदवार भए पनि राजनीतिक दाउ भने माधव नेपालको लागेको छ । माधव नेपालले बादल रोज्लान् कि खिमलाल ? अहिले सर्वत्र उठेको प्रश्न हो यो । राष्ट्रिय सभा उपनिर्वाचनका लागि कांग्रेस, माओवादी र जसपालाई समेत सहमत गराएर उनले खिमलाल देवकोटालाई उम्मेदवार बनाएका हुन्।
अहिले आएर खिमलालको साथ छाडे भने उनको थोरै बाँकी नैतिकता पनि समाप्त हुने छ । अर्कोतिर देवकोटालाई मत हाल्न निर्देशन दिए र उनले जिते भने पनि केपी ओलीले माधव पक्षलाई कारबाही गर्ने निश्चित छ ।
किनकि अहिले ओली माधव पक्षसँग नरम देखिए पनि त्यो यही उपनिर्वाचनसम्मका लागि मात्रै हो । ओलीले बजेट ल्याउनुअघि नै प्रतिनिधिसभामा विश्वासको मत लिन चाहिरहेका छन् ।
यो दुईवटा कारण पनि ओली लचिलो भएको देखिएको छ । नत्र ओलीले माधव पक्षलाई पहिल्यै नै कारबाही गरिसक्ने बताइन्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।