काठमाडौं – शरीरको फोक्सो, नसा र स्नायुलाई तन्दुरुस्त राख्न शंखनाद प्रभावकारी हुने परम्परागत भनाइ छ ।
यसलाई आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ तर बिरामी अवस्थाका मानिसलाई भने यस्तो अभ्यास उचित नहुने चिकित्सकको सुझाव छ ।
बाँसबारी अस्पतालका वरिष्ठ स्नायुरोग विशेषज्ञ डा. गोपालरमण शर्माका अनुसार श्वासप्रश्वास र स्नायु तन्दुरुस्त राख्न शंखनाद प्रभावकारी रहेको छ ।
शंखनादले फोक्सोका स्नायुलाई स्वस्थ रहन सहयोग गर्ने उनले बताए । उनका अनुसार स्वस्थ मानिसले शंख फुक्दा फोक्सोको अभ्यास हुन्छ तर बिरामीले भने यो अभ्यास गर्नुहुन्न ।
प्राण वायु लिने फोक्सो स्वस्थ रह्यो भने श्वासप्रश्वास सम्बन्धी रोगले चाँडो समाउन सक्दैन । चिकित्सकका अनुसार विगत डेढ वर्षदेखि नेपाललगायत विश्वलाई नै आक्रान्त बनाएको कोरोना (कोभिड–१९) श्वासप्रश्वास सम्बन्धी रोग हो ।
फोक्सोको क्षमता कमजोर भएकालाई कोरोनाले चाँडो
आक्रमण गर्छ । बाग्मती अञ्चल आयुर्वेद औषधालयका प्रमुख डा. अञ्जु कार्कीका अनुसार शंखनाद स्वास्थ्यका लागि निकै लाभदायक रहेको छ ।
शंख फुक्दा रोग प्रतिरोधात्मक शक्ति, मानसिक स्फूर्ति, स्नायुको तन्दुरुस्ती र फोक्सोको कसरत हुने र शरीरमा भएका बिकार हटाउने, फोक्साका अक्सिजन थैलीलाई अक्सिजनयुक्त राख्न शंख बजाउनु निकै लाभदायक रहेको उनको भनाइ छ ।
उनका अनुसार शंख फुक्ने अभ्यासले फोक्सोको प्राणवायु लिने क्षमता बढाउन सकिन्छ तर श्वासप्रश्वासका बिरामीले यस्तो अभ्यास गर्नुहुन्न । आनन्दखेरा फ्रेन्ड एन्ड फेमिली ट्रस्टका डा. पदमराज भारतीले आफूले शंख बजाउन सुझाव दिइरहेको बताए ।
पशुपति क्षेत्र विकास कोषका मन्दिर प्रशासन हेर्ने पूर्व प्रमुख कमलबहादुर बोगटीले शंखनादको ध्वनिको तरंगले वातावरण समेत स्वच्छ राख्ने विश्वासका साथ पशुपतिनाथमा नित्य शंखनाद हुने गरेको बताए । उनका अनुसार वासुकीमा शंखनाद हुँदा सुन्न आउने भक्त निकै रहेका थिए ।
संस्कृतिविद् तेजेश्वरबाबु ग्वङ्गले शंखनाद ध्वनिले मानव मस्तिष्क, स्वास्थ्य, स्नायु, स्मृति ताजा बनाउने बताए । ‘प्रत्येक दिन एक समय घरघर र मन्दिरमन्दिरमा यत्रतत्र शंखध्वनि गुञ्जन हुनैपर्छ र यो संस्कृतिको संरक्षण पनि हुनुपर्छ,’ उनले भने ।
सोमसरला वेदविद्याश्रम गौरीघाटका प्रमुख योग प्रशिक्षक केशवप्रसाद अधिकारीले योगसँगै शंखनादले शरीर र स्वास्थ्यलाई लाभ पुग्ने बताएका छन् । आजको गोरखापत्र दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।