काठमाडौं – कोरोना भाइरस संक्रमणको महामारी बढिरहेका बेला सरकारले संकटकाल लगाउन कानून निर्माणको तयारी थाल्ने भएको छ ।
आईतबार कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) को आईतबार सिंहदरबारमा बसेको विशेष बैठकका निर्णयबारे जानकारी गराउँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैठकमा संकटकाल लगाउनेबारे छलफल भएको जानकारी दिए ।
‘कोभिड–१९ संक्रमणको महामारीसँग प्रभावकारी ढंगले लड्नका लागि स्वास्थ्य संकटकाल लगाउनेबारे पनि छलफल भएको छ,’ उनले भने । स्वास्थ्य संकटकाल लगाउनका लागि विद्यमान संक्रामक ऐन २०२० स्वास्थ्य प्रणालीको संरचना तथा सार्वजनिक खरिद ऐनमा भएका प्रक्रियाले समस्या पारेकाले अनुकूल कानून बनाउने विषयमा सरोकारवाला मन्त्रालयसँग समेत छलफल गरिएको मन्त्री ज्ञवालीले बताए ।
बैठकमा सहभागी प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीवन रक्षाका लागि हरसम्भव प्रयास गर्न मातहतका निकायलाई निर्देशन दिए । ओलीले प्रक्रियामा अल्झिएर र आर्थिक स्रोतको अभावमा कुनै पनि नागरिकको ज्यान जाने अवस्था सिर्जना हुन नदिन निर्देशन दिए ।
ओलीले झन्झटिला प्रक्रिया छोट्याएर, कानून मिलाएर, प्रक्रिया मिलाएर भए पनि हरहालतमा नागरिकको जीवन रक्षामा जुट्न निर्देशन दिएका मन्त्री ज्ञवालीले बताए ।
प्रधानमन्त्रीले दिएको निर्देशनबारे बताउँदै उनले भने, ‘प्रधानमन्त्रीले प्रक्रियामा अल्झिएर या आर्थिक स्रोतको अभावले कुनै पनि नागरिकको ज्यान जान हुँदैन भन्नुभएको छ । प्रक्रिया झन्झटिला छन् भने छोट्याएर, हप्तामा हुने कामलाई दिनमा, दिनमा हुने कामलाई घण्टामा गरेर भए पनि तत्काल नागरिकको जीवन रक्षाका लागि जे–जे गर्नुपर्छ त्यो गर्नुहोस् र त्यसका लागि आवश्यक कानून मिलाउनुपर्ने भए कानून मिलाउनुहोस्, प्रक्रिया मिलाउनुपर्ने भए प्रक्रिया मिलाउनुहोस्, र्यापिड रेस्पोन्स टीम बनाउनुहोस् तर हरहालतमा नागरिकको जीवन रक्षा हुनुपर्यो, उहाँले भन्नुभएको छ ।’
तत्काल देखिएको अक्सिजन आपूर्तिको समस्या समाधानका लागि उद्योगीलाई डिमान्ड चार्ज लगायतका छुट दिएर उत्पादन बृद्धि गर्ने विषयमा पनि बैठकमा छलफल भएको मन्त्री ज्ञवालीले बताए । उनले लिक्विड अक्सिजन ल्याउन भारतसँग आग्रह गर्ने र ल्याउनका लागि आवश्यक ट्यांकरको प्रबन्ध गरिने बताएका छन् ।
उद्योगीले सबै सिलिण्डर स्वास्थ्य निकायलाई बुझाएकाले बिस्तारै सिलिण्डर अभावको समस्यामा कमी आउँदै गएको तथा चीन र ओमानबाट आउँदै गरेका र निजी क्षेत्रले मगाएको सिलिण्डर भित्रिएपछि सिलिण्डर अभावको समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।