काठमाडौं – राजधानी काठमाडौं उपत्यकाका मुख्य अस्पतालहरुमा कोरोनाका बिरामी उपचारका लागि व्यवस्था गरिएका आईसीयू र शय्या भरिएका छन् ।
शय्या भरिएपछि अस्पतालहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा अन्यत्र रेफर गर्नुपरेको जनाएका छन् ।
कोरोना बिरामीको उपचारका लागि व्यवस्था गरिएका शय्या भरिभराउ भएपछि अन्यत्र रेफर गर्नुपरेको पाटन अस्पताल कोभिड–१९ उपचार संयोजक डा. विमल पाण्डेले बताएका छन् । पाटन अस्पतालमा कोभिडका बिरामीको उपचारका लागि १९० वटा सामान्य र २१ वटा आईसीयू शय्या छुट्याइएको छ । ‘३ दिनदेखि सबै शय्या प्याक छन्, आएका बिरामीलाई मन्त्रालयमा फोन गरेर अन्यत्र रेफर गरेका छौं,’ डा.पाण्डेले भने ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पनि कोभिडका बिरामी बढेपछि शय्या भरिभराउ भएको जनाएको छ ।
अस्पतालमा ३/४ दिनदेखि नै आईसीयू र अन्य शयया भरिभराउ भइसकेको अस्पतालका कोभिड उपचार संयोजक तथा प्रवक्ता डा. अनुप बाँस्तोलाले बताएका छन् । अक्सिजन चाहिने अवस्थाका बिरामीलाई प्राथमिकता दिएर उपचार गरेको र ज्वरो मात्र आएकालाई औषधि दिएर होम आइसोलेसनमा पठाउन थालेको बाँस्तोलाले बताए ।
अस्पतालमा २० वटा आईसीयूसहित ५४ वटा शय्या कोभिड उपचारका लागि छुट्याइएको छ । बिरामीको चाप बढेपछि सामान्य लक्षण भएकालाई आयुर्वेद उपचार केन्द्र आइसोलेसन सेन्टरमा रेफर गरिएको बाँस्तोलाले बताएका छन् ।
वीर अस्पतालले पनि कोभिडका बिरामीको उपचारका लागि छुट्याइएका शय्या भरिन थालेको जनाएको छ । वीर अस्पतालमा १० वटा आईसीयू र ६२ वटा शय्या कोभिडका बिरामीको उपचारका लागि छुट्याइएको छ । सबै शय्या भरिएपछि थप्ने तयारी भइरहेको अस्पतालका कोभिड–१९ उपचार सम्पर्क चिकित्सक अच्युत कार्कीले बताएका छन् ।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पनि ३/४ दिनदेखि कोभिड शय्या भरिभराउ छन् । बिरामी भरिभराउ भएपछि स्वास्थ्य मन्त्रालयसँगै समन्वय गरेर अन्यत्र पठाइरहेको अस्पतालका कोभिड उपचार सम्पर्क चिकित्सक सविन थपलियाले बताएका छन् । अस्पतालमा कोभिड उपचारका लागि ११ वटा आईसीयूसहित ६० शय्याको व्यवस्था गरिएको छ ।
बिरामी बढेपछि शय्या थप्ने तयारी भइरहेको जानकारी थपलियाले दिएका छन् । संक्रमण तीव्र भएकाले बिरामीले सामान्य शय्या समेत पाउन नसक्ने अवस्था आउन सक्ने चिकित्सकले बताएका छन् ।
दोस्रो लहरको कोरोना संक्रमणपछि पनि मानिसले जनस्वास्थ्यका मापदण्ड पालना नगरेको, भीडभाड हुने कार्यक्रम जारी राखेकाले संक्रमण तीव्र रुपमा फैलिरहेको चिकित्सकहरुले औंल्याएका छन् । सरकारले उपचारका लागि शय्या विस्तार गरे पनि जनशक्ति व्यवस्थापनमा चुनौती हुने स्थिति रहेको वीर अस्पतालका कोभिड उपचार चिकित्सक डा. कार्कीले बताएका छन् ।
‘शय्या मात्र भएर हुँदैन, उपचारका लागि जनशक्ति पनि तयारी हुनुपर्छ, त्यो सम्भव देखिँदैन,’ कार्कीले भने । सरकारले संक्रमणको चेन ब्रेक गर्न कम्तीमा २ हप्ताका लागि लकडाउन गर्नुपर्ने सुझाव चिकित्सकले दिएका छन् । ‘अब कम्तीमा २ हप्ताका लागि लकडाउन नगरेमा नियन्त्रण सम्भव देखिँदैन,’ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका कोभिड उपचार संयोजक डा. पाण्डेले भने ।
तीब्र संक्रमण नियन्त्रण गर्न अति आवश्यकबाहेक अन्य सेवा बन्द गर्नुपर्ने सुझाव त्रिवि शिक्षण अस्पतालका कोभिड उपचार सम्पर्क चिकित्सक थपलियाको रहेको छ । ‘नेपालमा भारतकै शैलीमा संक्रमण तीव्र भएकाले नियन्त्रण गर्न कडा कदम चाल्नुपर्ने देखिन्छ,’ पाण्डेले भने । तर लकडाउन गर्नुअघि सरकारले जनतालाई केही दिनअघि नै सूचना दिनुपर्ने उनले बताए ।
शुक्रराज ट्रपिकल अस्पतालका डा. बास्तोलाले संक्रमणबाट जोगिन अतिआवश्यक कामबाहेक घरबाहिर ननिस्कन सुझाए । ‘संक्रमित बढेमा शय्या पाए पनि मृत्यु हुने सम्भावना हुन्छ, बरु अस्पतालमै जानुनपर्ने गरी जनस्वास्थ्यका मापदण्ड कडाइपूर्वक पालना गरौं,’ बाँस्तोलाले आग्रह गरे ।
राजधानीका मुख्य–मुख्य कोभिड अस्पतालहरु भरिएपछि बिरामी व्यवस्थापन गर्न हम्मे परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारले जनस्वास्थ्यका मापदण्ड कडाइपूर्वक लागू गर्न, गराउन आदेश दिए पनि पूर्ण रुपमा पालना हुन नसकेकाले स्थिति गम्भीर बन्दै गएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताएका छन् ।
मापदण्ड पालना हुन नसकेपछि अर्को कदम चाल्नुपर्ने स्थिति आइसकेको उनले बताए । ‘स्थिति गम्भीर छ, जनस्वास्थ्य मापदण्ड पालना नभएमा गाह्रो छ,’ उनले भने । उपत्यकामा लकडाउन समेत गर्नुपर्ने अवस्था आइसकेकोतर्फ उनले संकेत गरे । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।