काठमाडौं – कोरोना भाइरस संक्रमण बढ्दै गइरहेकाले वार्षिक परीक्षा बैशाख महिनाभित्रै गरिसक्न पोखरा महानगर भित्रका विद्यालयलाई निर्देशन दिइएको छ ।
महानगरको शिक्षा समितिले आईतबार निर्णय गर्दै बैशाखभित्र वार्षिक परीक्षा सक्न निर्देशन दिएको हो ।
भौतिक अवस्था, स्वास्थ्य मापदण्डलाई ख्याल गर्दै विद्यालयले लिने वार्षिक परीक्षा बैशाखभित्रै लिनुपर्ने समितिले निर्णय गरेको छ ।
जेठ ३ देखि ११ गतेसम्म तोकिएको ८ कक्षाको नगर स्तरीय परीक्षाको मिति पनि हाललाई हेरफेर नगर्ने निर्णय गरिएको पोखरा महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले बताएका छन् । ‘त्यतिबेलासम्मको परिस्थितिलाई आकलन गरेपछि मात्रै सार्ने, नसार्ने निर्णय गर्छौं,’ आचार्यले भने ।
बैठकमा प्याब्सन, एनप्याब्सन, अभिभावक संघ, नगर स्तरीय परीक्षा समिति लगायतका प्रतिनिधिको सहभागिता रहेको थियो ।
पछिल्लोपल्ट पोखरामा १ दर्जन विद्यालयका ८९ जना विद्यार्थीमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अतिप्रभावित जिल्लामा कास्कीलाई वर्गीकरण गरेको र विद्यार्थीहरू उच्च जोखिममा रहेको बताएपनि स्थानीय तहले औपचारिक रूपमा विद्यालय बन्दको घोषणा नगरेका कारण पठनपाठन जारी छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।