काठमाडौं – देशभर कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दोस्रो लहर बढ्दै गएको सन्दर्भमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) कम्तिमा ३ हप्ता विद्यालय बन्द गर्न सिफारिस गरेपछि विरोध सुरू भएको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले प्रेस विज्ञप्ति जारी गर्दै विद्यालय बन्द गर्ने सिफारिसविरुद्ध आवाज उठाएको छ ।
प्याब्सनका अध्यक्ष टीकाराम पुरी र महासचिव कुमार घिमिरेले आईतवार जारी गरेको प्रेस विज्ञप्तिमा २०७६ चैत्र ११ गतेबाट गरिएको बन्दाबन्दीले विश्वका कतिपय मुलुक सँगसँगै नेपालको स्वास्थ्य क्षेत्र, शिक्षा क्षेत्र, आर्थिक क्षेत्र र रोजगारीको क्षेत्र लगायत जनजीविकाका विभिन्न पक्षमा पारेको प्रभावहरू आमनेपाली जनताले अनुभूत गरिसकेकाले बन्दाबन्दी मात्र रोकथामको उपाय नभएको प्रमाणित भइसकेको तर्क गरिएको छ ।
प्याब्सनले विज्ञप्तिमार्फत विद्यालय बन्द नगरी बरु संक्रमणबाट बच्न स्वास्थ्य सावधानी अपनाएर सञ्चालन गरिनुपर्नेमा जोड दिएको छ ।
विगतको बन्दाबन्दीपश्चात विद्यालय सञ्चालन गर्न नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवालासँग छलफल समेत गरी तयार गरेको कार्यढाँचा अनुसार शिक्षालयका गतिविधिहरू सञ्चालन गर्न सान्दर्भिक भएको जनाइएको छ ।
‘आवश्यकता अनुसार शिक्षालयहरुमा तातोपानी, स्वास्थ्यकर्मी, स्यानिटाइजर, आइसोलेसन कक्ष, भौतिक दूरीको व्यवस्थापन जस्ता कार्यहरू सरकारका सम्बन्धित निकायको सहयोग र समन्वयमा गर्दै जानु उपयुक्त हुन्छ । शिक्षालयहरुमा कार्यरत शिक्षक कर्मचारीलाई कोभिड–१९ विरुद्धको खोपको प्रबन्ध तुरुन्तै गर्न नेपाल सरकारसँग हाम्रो अनुरोध छ,’ विज्ञप्तिमा उल्लेख छ ।
शिक्षालयहरूमा अध्ययनरत विद्यार्थीलाई स्वास्थ्य सावधानीका उपायहरू अवलम्बन गर्न/गराउन विशेष भूमिका निर्वाह गर्न पनि प्याब्सनले सबै शिक्षक कर्मचारीलाई अनुरोध गरेको छ ।
आ–आफ्ना बालबालिकालाई संक्रमणबाट जोगिन मास्कको प्रयोग, स्यानिटाइजरको प्रयोग, भौतिक तथा सामाजिक दूरीको अवलम्बनका साथै स्वास्थ्यवर्द्धक खानपिन गराउने जस्ता कार्यहरूमा सहयोग पुर्याइदिनुहुन आम अभिभावकहरुलाई अनुरोध छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘मुलुकभर कोरोना संक्रमणको बृद्धिदर एकनासको नभएको यथार्थलाई समेत मध्यनजर गरी अत्यन्त आवश्यक भए सम्बधित विद्यालय अथवा सम्बन्धित पालिकामा मात्र केही निश्चित समयका लागि मात्र प्रतिबन्धात्मक व्यवस्था गरी अन्य ठाउँमा सहज रूपमा शैक्षिक संस्थाहरू स्वास्थ्य सावधानीका उपायहरू अवलम्बन गरी सहज तरिकाले सञ्चालन हुने वातावरण सिर्जना गरिदिनुहुन नेपाल सरकारसँग माग गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।
प्याब्सनले विद्यालय बन्द गराएर अनलाइन माध्यमबाट सबै ठाउँमा पठनपाठन सञ्चालन गर्न सम्भव नरहेको समेत स्पष्ट पारेको छ । ‘नेपालको भौगोलिक विकटता, अभिभावकहरूको आर्थिक तथा सामाजिक अवस्था, इन्टरनेटको उपलब्धताको अभाव, शिक्षकहरूको प्राविधिक दक्षता जस्ता कारणले नेपालको सामुदायिक तथा सार्वजनिक शिक्षालयमा मात्र नभएर निजी शिक्षालयमा अध्ययनरत विद्यार्थीहरूको पनि ५० प्रतिशत क्षेत्र अनलाइन शिक्षाले समेट्न नसक्ने कुरा विगतको बन्दाबन्दीमा गरिएको प्रयोगले प्रमाणित गरिसकेको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘अतः कोरोना संक्रमण र यसको प्रभाव न्यूनीकरणका लागि नेपाल सरकारले तयार गरेको स्वास्थ्य सावधानी सम्बन्धी उपायहरुलाई हरेक क्षेत्रमा कडी कडाउका साथ लागू गर्न/गराउन स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारका सम्बन्धित निकायहरुलाई जिम्मेवारीसहित सक्रिय बनाउनु अहिलेको प्राथमिकता हुनुपर्छ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।