बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

कोरोना रोकथाममा बेवास्ता देखिँदा कठोर निर्णय लिँदै सरकार

कोरोना रोकथाममा बेवास्ता देखिँदा कठोर निर्णय लिँदै सरकार

  • मिडिया डबली
  • शनिवार, चैत्र २८ २०७७

  • 5.7K
    SHARES

  • कोरोना रोकथाममा बेवास्ता देखिँदा कठोर निर्णय लिँदै सरकार

    काठमाडौं – छिमेकी देश भारतमा कोभिड–१९ लहर पुनः बढ्दो क्रममा देखिएको भन्दै तत्काल आवश्यक सतर्कता अपनाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

    संसदको शिक्षा तथा स्वास्थ्य समितिले सर्वसाधारणका लागि कोरोना खोप वितरण कार्यक्रम सरल र प्रभावकारी बनाएर यथाशक्य चाँडै उपलब्धता सुनिश्चित गराउन समेत निर्देशन दिएको छ ।

    सरुवा रोग र सामान्य रोगका बिरामीका लागि सेवा प्रदान गर्न छुट्टाछुट्टै एम्बुलेन्स समूह विभाजन गरी एकीकृत सेवा प्रदान गर्ने व्यवस्था मिलाउन पनि सरकारलाई सुझाव दिइएको छ । कोरोना संक्रमण रोकथाममा प्रभावकारी कदम चाल्न नसकेको संसदीय समितिले निष्कर्ष निकालेको छ । कोरोना परीक्षण अपेक्षित मात्रामा गर्न नसकेको र लक्षित वर्गसम्म पुग्न नसकेको समितिको निष्कर्ष रहेको छ ।

    संसदको शिक्षा तथा स्वास्थ्य समितिले आइसोलेसन र क्वारेन्टाइन व्यवस्थापनमा न्यूनतम मापदण्ड पूरा नगरिएको समेत जनाएको छ । स्वास्थ्य जोखिम भत्ता आंशिक रुपमा मात्रै प्रदान गरिएको पाइएको छ ।

    संघ, केन्द्र र प्रदेश सरकारबीच कोभिड नियन्त्रणमा अपेक्षित समन्वय नभएको समिति सदस्य सन्तकुमार थारुले बताए । सरुवा रोग विशेषज्ञ अस्पताल प्रत्येक प्रदेशमा स्थापना र व्यवस्थापन गर्नुपर्ने, प्रत्येक प्रदेश र केन्द्रको अस्पतालको क्षमता वृद्धिसहित सञ्चालन गर्न व्यवस्था गर्न सुझाव दिइएको छ ।

    केन्द्रीय अस्पतालको आईसीयू शय्या बढाएर व्यवस्थापन प्रभावकारी बनाउन आग्रह गरिएको छ । सरुवा रोगसम्बन्धी उपचारका लागि ५० शय्याभन्दा माथिका सबै अस्पतालमा छुट्टै भवन भएको आइसोलेसन वार्ड र प्रत्येक अस्पतालले प्रिआइसोलेसन शय्या व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरिएको छ ।

    शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीले प्रत्येक अस्पतालमा अक्सिजन प्लान्ट व्यवस्था मिलाउन र भएका सञ्चालन गर्न आग्रह गरिएको जानकारी दिइन् ।

    संसदीय समितिले खुला सीमा भएका ठाउँमा संक्रामक लगायत रोग चेकजाँच गर्न स्थायी स्वास्थ्य परीक्षण केन्द्र व्यवस्था गर्न सुझाएको छ । प्रादेशिक अस्पताल प्रदेशले नै सञ्चालन, व्यवस्थापन, अनुगमन तथा निरीक्षण प्रदेश सरकारमार्फत् गर्ने व्यवस्था मिलाउन समेत सुझाव दिइएको छ ।

    संघ, प्रदेश र स्थानीय तहअन्तर्गत सञ्चालित सबै अस्पताल र स्वास्थ्य केन्द्र सञ्चालनका लागि स्पष्ट नीति ल्याउन समेत सुझाव दिइएको छ । कारागारलाई मानवीय वातावरणसहित बस्ने स्थिति निर्माण गरी संक्रामक रोग तथा अन्य स्वास्थ्य समस्याका उपचार तथा व्यवस्थापनका लागि छुट्टै बजेट व्यवस्था गर्न सरकारलाई निर्देशन समेत दिइएको छ ।

    ‘सरकारी अस्पतालमा जाँदा ज्यान जाने, निजीमा जाँदा घरबारी जाने’ जनगुनासो व्यापक बढेपछि ‘समरुपता कायम गरी दररेट सम्बन्धी यथाशीघ्र लागू गर्न’ समितिले सुझाव दिएको छ ।

    सरकारी तथा निजी अस्पतालमा छुट्टै कोरोना उपचार युनिट व्यवस्थासहित समानान्तर बनाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । जनस्तरमा महामारी र विपदमा स्थानीय तहको भूमिका सबैभन्दा बढी हुने भएकाले क्षमता अभिवृद्धि गर्न समेत समितिले आग्रह गरेको छ ।

    स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार विद्यालय जाने उमेर समूह १८ वर्षमुनिका व्यक्तिमा संक्रमण दर बढेको देखिएको छ । पछिल्लो अवस्था नियाल्दा औसत ७ प्रतिशत संक्रमण १८ वर्षमुनिका व्यक्तिमा पाइएको छ ।

    जनस्वास्थ्य मापदण्ड पालना नगरे विद्यालय बन्द गर्नेसम्म तयारीमा सरकार जुटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्य मापदण्ड पालना गरेर मात्रै विद्यालय सञ्चालन गर्न आग्रह गरेको छ ।

    स्वास्थ्य मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विद्यालय सञ्चालनक्रममा मापदण्ड पालना गर्नुपर्नेछ । ‘कतै पनि २५ जनाभन्दा बढी भेला हुनु हुँदैन,’ गौतमले भने, ‘विद्यालयले कम्तीमा मापदण्ड पालना गर्नुपर्छ । नत्र बन्द गर्नुपर्ने अवस्था आउँछ ।’

    २५ जनाभन्दा बढी भेला हुन नदिने व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) समक्ष प्रस्ताव लगेको छ । प्रवक्ता गौतमले भीडभाड, भेला र २५ जनाभन्दा बढी जमघट नगर्न आग्रह गरेको छ ।

    देशभर कोरोना संक्रमित संख्या उकालो लाग्दोक्रममा रहेको छ । शुक्रवार देशभर २८८ जनामा संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ७१ जनाको पीसीआर परीक्षण गरिएको छ ।

    नेपालमा कूल संक्रमितको संख्या २ लाख ७९ हजार ३८८ पुगेको छ । मन्त्रालयका अनुसार हाल ८४ जना क्वारेन्टाइनमा रहेका छन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७१०:०९:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend