काठमाडौं - कोरोना भाइरसको दोस्रो लहर बढेसँगै सरकारले शैक्षिक संस्था बन्द गर्ने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयले स्कुल बिदा गरेर अनलाइन कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयसँग आग्रह गरेको छ ।
यो प्रस्ताव शिक्षा मन्त्रालयमा पठाइसकिएको छ । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो समयमा फेला परेका संक्रमितमा विद्यार्थी पनि रहेकाले विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न आग्रह गरिएको छ ।
कोरोना संक्रमितमध्ये पछिल्लो समय १६ प्रतिशत बालबालिका रहेको तथ्यांक छ । ‘हामीले शिक्षा मन्त्रालयलाई अनुरोध गरेका हौं,’ उनले भने । स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले पनि अब स्कुलहरु पूर्णरुपमा अनलाइन माध्यममा जानुपर्ने बताएका छन् ।
‘स्कुलहरु अनलाइन माध्यममा पढाइ गर्नुपर्छ । कलेज आवतजावत नगर्ने । अनलाइन कक्षा सञ्चालन गर्ने अवस्था आइसक्यो, अब ढिला गर्नुहुँदैन,’ शुक्रबार प्राइम टाइम्स टेलिभिजनमा अन्तर्वार्ता दिँदै उनले भनेका छन् ।
उनले लकडाउनमा जाने अवस्था आउन नदिन यसो गर्नुपरेको बताए । उनले आग्रह नमाने कठोर निर्णय गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिए । तर शिक्षा मन्त्रालयले यसअघि नै कार्यढाँचा तयार पारिएकाले सम्बन्धित स्थानीय तहले नै विद्यालय खोल्ने कि नखोल्ने निर्णय गर्न सक्ने बताएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।