काठमाडौं – नेपालमा कोरोना भाइरस संक्रमणको दोस्रो लहरको जोखिम बढेको छ ।
विद्यार्थीमा नयाँ कोरोना अर्थात् एस जिन नेगेटिभ देखिन थालेको छ । यो भाइरस यूके भेरियन्टसँग मिल्दोजुल्दो रहेको विज्ञहरू बताउँछन् ।
स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले नेपालमा संक्रमितहरुलाई एस जिन नेगेटिभ पुष्टि हुने क्रम बढेको बताएका छन् ।
‘एस जिन नेगेटिभ भेरियन्ट बढ्दो मात्रामा देखिएको छ । कम उमेरका व्यक्तिमा बढी देखिएकाले एकदमै सतर्क हुनुपर्ने भएको छ,’ निर्देशक डा. पौडेलले भने ।
कम उमेरका व्यक्तिमा एस जिन नेगेटिभ पुष्टि हुँदा यूके भेरियन्टको आशंका गरिएको छ । पछिल्लो २४ घण्टामा बिहीवार ३३२ संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधवार २९८ जनामा कोभिड पुष्टि भएको थियो ।
संक्रमितको संख्या बढ्नुमा चाँडै सर्ने यूके भेरियन्ट भनिने सार्स–कोभ–२ को नयाँ प्रकार भएको आशंका गरिएको छ ।
कोरोना भाइरसको प्रकार पत्ता लगाउन जिन सिक्वेन्सिङ गर्ने कार्य द्रूत ढंगले भइरहेको छ । काठमाडौं, पोखरामा पुष्टि भएका कोरोना संक्रमितको नमूना परीक्षण गर्दा एस जिन नेगेटिभ पुष्टि हुने क्रम बढ्दो रहेको छ ।
‘जिन सिक्वेसिङ गर्दा प्रमाणित भएको भए यूके भेरियन्ट हो भनेर भन्न सकिन्थ्यो । त्यसैले सम्भावित यूके भेरियन्ट भन्न सकिन्छ,’ उनले भने ।
कतिपय जर्नलमा एस जिन नेगेटिभलाई यूके भेरियन्टका रूपमा लिने गरेको पाइन्छ । यो कलिलो उमेरका व्यक्तिमा बढी देखिन थालेको छ । ‘स्कूल जाने उमेरका १२–१६ वर्ष उमेर समूहका व्यक्तिलाई पनि देखियो,’ डा. पौडेलले भने, ‘स्कूले विद्यार्थीमा देखिएकाले जोखिम बढेको प्रष्ट हुन्छ । बेलैमा सावधानी र सतर्कता अपनाउनुपर्ने देखिएको छ ।’
सरकारले हालै विश्व स्वास्थ्य संगठनको हङकङस्थित प्रयोगशालामा जीन सिक्वेन्सिङको लागि १५ नमूना पठाएको छ । नेपालका विभिन्न प्रयोगशालामा पनि जिन सिक्वेन्सिङको परीक्षण गर्ने तयारी भइरहेको छ । नेपालबाट ५ जनाको नमूना हङकङ पठाएकोमा पुस अन्तिम हप्ता ३ जनाको एस जीन नेगेटिभ आएको थियो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।