कैलाली – कञ्चनपुरको पुनर्वास नगरपालिका–४ मोती बस्तीका एक व्यक्ति आइतवार भारतको बैंगलुरुबाट घर फर्किएका छन् । कैलाली र कञ्चनपुरसँग सीमा जोडिएको गौरीफन्टा नाकामा उनको एन्टिजेन परीक्षण हुँदा ‘पोजेटिभ’ देखियो । तर कोरोना भाइरस संक्रमणको लक्षण नदेखिएको भन्दै सार्वजनिक यातायातबाट घर जान दिइयो ।
भारतबाट सँगै आएका उनका भाइको पनि रिपोर्ट पोजेटिभ देखियो । उनी केहीबेर नाकास्थित हेल्थ डेस्कबाहिर बसेर बेपत्ता भए ।
प्रहरी र स्वास्थ्यकर्मीले खोजी गरे पनि उनी फेला परेनन् । ‘अहिले यहीँनेर थिए । सायद घर गए होलान्,’ उनका दाजुले भने ।
सुर्खेतको लेकबेसी—४ का एक व्यक्तिको पनि एन्टिजेन परीक्षण गर्दा पोजेटिभ देखियो । ज्वरो बढी नरहेको भन्दै उनलाई ५ वटा मास्क दिएर हेल्थ डेस्कका स्वास्थ्यकर्मीले घर पठाए ।
नाकाबाट अरु पनि यात्रु बसेको अटोमा चढेर उनी धनगढी बसपार्क आए । उनी सुर्खेतका लागि बसको टिकट बनाएर घरतिर लागेका छन् ।
अछामको मंगलसेन–१४ का एक व्यक्तिमा कोरोना पोजेटिभ देखियो । उनलाई ५ वटा मास्क दिएर घरमै आइसोलेसन बस्न भन्दै घर पठाइयो । उनी पनि नाकाबाट यात्रुले भरिएको अटो चढेर धनगढी बसपार्क पुगे । उनले अछामका लागि बसको टिकट बनाएका छन् ।
भारतमा कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको छ । त्यहाँका विभिन्न राज्यमा शनिवार मात्रै ४९ हजार जनामा संक्रमण देखिएको छ । तीमध्ये पनि ७०० भन्दा बढीमा कोरोनाको दोस्रो चरणको भाइरस भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
नेपालतर्फ सीमा नाकामा हेल्थ डेस्क राखिएका छन् । त्यहाँ स्वास्थ्यकर्मी खटिएका छन् । उनीहरुले भारतबाट आएकाहरुको एन्टिजेन परीक्षण गरिरहेका छन् ।
‘तर पोजेटिभ आएका व्यक्तिलाई सुरक्षित आइसोलेसनसम्म पुर्याउने कुनै साधन छैन । हामीलाई घरमा आइसोलेसन बस्ने र ५ वटा मास्क दिएर पठाइदिने भनिएको छ,’ गौरीफन्टा नाकाका हेल्थ डेस्क इन्चार्ज गणेश साउँदले भने, ‘हामीले परीक्षण गरिदिने हो । पोजेटिभ देखिएका व्यक्तिहरुलाई कसरी घरसम्म पुर्याउने ? एम्बुलेन्सको व्यवस्थापन गर्ने र अस्पतालसम्म वा आइसुलेसनसम्म पुर्याउने कार्य स्थानीय सरकार, प्रदेश सरकार वा संघीय सरकारको हो । उनीहरुलाई पठाउने साधन छैन ।’
कैलालीको गौरीफन्टा नाकामा चैत ३ गते हेल्थ डेस्क राखिएको हो । त्यसको १० दिनमा मात्रै ३७ जनामा एन्टिजेन पोेजेटिभ देखिएको छ । ‘५–६ जना बिरामी, जसलाई लक्षण नै देखिएको थियो, उनीहरुलाई त हामीले आफैं अटोको भाडा तिरेर सेती प्रादेशिक अस्पतालको आइसोलेसनसम्म पठायौं,’ इन्चार्ज साउँदले भने, ‘तर अरु पोजेटिभ देखिएका र लक्षण नभएकाहरुलाई भने सिधै घर पठाउनुको विकल्प छैन ।’
स्वास्थ्यकर्मीका अनुसार एन्टिजेन पोजेटिभ देखिएका व्यक्तिमा ९९ प्रतिशत पीसीआर पोजेटिभ देखिन्छ । यसमा व्यक्तिको स्वाब संकलन गरी १५ मिनेटमा परीक्षण गर्न सकिन्छ । ‘यसको विश्वसनीयता पीसीआरजत्ति नै हुन्छ । त्यसैले एन्टिजेन पोजेटिभ देखिएका व्यक्ति कोरोनाका संक्रमित हुन् भन्ने पक्कापक्की हुन्छ,’ साउँदले भने, ‘तर सार्वजनिक यातायातमा घर पठाउनुको विकल्प पनि त छैन ।’
सुरक्षाकर्मीले संकलन गरेको तथ्यांकअनुसार गौरीफन्टा भएर दैनिक हजारभन्दा बढी नेपाली स्वेदश फर्किरहेका छन् । दैनिक ४–५ जना पोजिटिभ देखिरहेका छन् । तर उनीहरुलाई सिधै घर जान दिइएपछि कोरोना समुदायमा फैलिने खतरा बढेको छ ।
सुदूरपश्चिमका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले एन्टिजेन पोजेटिभ देखिएका व्यक्तिलाई सुरक्षित रुपमा घरसम्म पुर्याउन चुनौती रहेको स्वीकार गरे । ‘यसको व्यवस्थापनको जिम्मा प्रदेश र संघ सरकारले दिनुपर्ने हो,’ निर्देशक डा. अवस्थीले भने, ‘निर्देशनालयले प्रदेश सरकार र संघीय सरकारलाई पनि यो समस्याबारे पटक–पटक जानकारी गराइसकेको छ ।’
डा. अवस्थीले पोजेटिभ देखिएकालाई घर पठाउने हो भने नाकामा परीक्षण गर्नुको औचित्य नरहेको बताएका छन् । ‘आइसोलेसनमा राख्न सकियो, १० दिनजति सीमा क्षेत्रमै होल्डिङ सेन्टर बनाएर राख्न सकियो भने पो एन्टिजेन परीक्षण गरेको पनि उपलब्धि भयो,’ अवस्थीले भने, ‘होइन भने परीक्षण गरेर मात्रै समस्या समाधान हुँदैन ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।