काठमाडौं – छिमेकी राष्ट्र भारतका सीमावर्ती भागहरुमा कोरोना संक्रमण तीव्र भएको छ । यसको असर नेपालमा पनि हप्ताभित्रै देखिनसक्छ ।
केही दिनयता मुलुकभित्र संक्रमितको संख्या पनि बढ्दो देखिएको छ । स्वास्थ्य मन्त्रालयले बुधवार आमजनतालाई सतर्क रहन आग्रह गरेको छ ।
मन्त्रालयले संक्रमण दर उच्च हुँदै गए लकडाउनसम्म हुनसक्ने संकेत गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले संक्रमण दर उच्च भएमा लकडाउन समेत हुनसक्ने भन्दै आमजनतालाई सतर्क हुन आग्रह गरेका छन् । ‘संक्रमण दर उच्च भए त्यसको चेन बे्रक गर्न लकडाउन पनि गर्नुपर्ने अवस्था आउन सक्छ । अन्य अवस्थामा जनस्वास्थ्य मापदण्ड अपनाएर नियमित काम जारी राख्नुपर्छ,’ उनले भने । अधिकारीले होली पर्व पनि सामाजिक दूरी कायम गरी मनाउन आग्रह गरेका छन् ।
भारतमा संक्रमण बढेका कारण नेपालले सतर्कता अपनाएको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. कृष्ण पौडेलले बताएका छन् । ‘भारतबाट आउने केहीमा पोजेटिभ पनि देखिएको छ, सीमानाकामै जाँच गरेर हामीले नियन्त्रणको प्रयास गरिरहेका छौं,’ अधिकारीले भने ।
भारतमा संक्रमण बढ्दा नेपालमा पनि बढेको अनुभव छ । ‘भारतमा कोरोना संक्रमित बढ्दा नेपालमा पनि बढेको विगतको अनुभव छ । त्यसैले अहिले पनि थप सचेत हुनुपर्छ । भारतमा संक्रमण र मृत्युदर दुबै बढ्दै गएको छ,’ सरुवा रोग विशेषज्ञ डा. अर्चना श्रेष्ठले भनिन् ।
नेपालको सीमावर्ती भारतका पश्चिम बंगाल, उत्तर प्रदेश र बिहार राज्यमा कोरोना संक्रमण दर बढेकाले समेत नेपाल उच्च जोखिममा रहेको श्रेष्ठले बताइन् ।
यसअघि कोरोना महामारीले विश्वभरि वृद्ध तथा दीर्घरोगीलाई विशेष असर गरेकाले यो समूहलाई सजग रहन मन्त्रालयले आग्रह गरेको छ । सबैले पूर्ण खोप नलिएसम्म कोरोना संक्रमणको जोखिम रहन्छ । मन्त्रालयले सभा, सम्मेलन, जमघटजस्ता कार्यक्रम नगर्न र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न सबैलाई अनुरोध गरेको छ ।
तथ्यांकअनुसार कोरोनाबाट मृत्यु हुनेमा ४० प्रतिशत उच्च रक्तचाप, ३६ प्रतिशत श्वासप्रश्वास र बाँकी अन्य रोगका बिरामी छन् । नसर्ने दीर्घरोग भएकामा यसको असर बढी मात्रामा परेको मन्त्रालयले जनाएको छ ।
मधुमेह नभएका व्यक्तिको तुलनामा भएकामा कोरोनाको असर २ गुणा बढी परेको तथ्यांकमा उल्लेख छ । यस्तै असर दम, मुटु, श्वास–प्रश्वास, उच्च रक्तचाप, क्यान्सर र अन्य रोगीमा समेत देखिन्छ ।
दोस्रो चरणको कोरोना महामारी फैलिने सम्भावना बढी भएकाले दीर्घरोगी र वृद्धवृद्धा बढी सतर्क हुनुपर्ने डा. श्रेष्ठले बताइन् ।
नेपालमा एक–डेढ महिनायता संक्रमण नियन्त्रण उन्मुख थियो । तर १ हप्तायता संक्रमण दर दैनिक डेढ सयदेखि २ सयको हाराहारीमा पुगेको छ । बुधवार काठमाडौं उपत्यकामा ६३ जनासहित १४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार यो संख्या १८० रहेको थियो ।
अहिले मुलुकमा १ हजार १८२ जना सक्रिय संक्रमित छन् । संक्रमित २१३ जना संस्थागत आइसोलेसनमा र ९६९ जना होम आइसोलेसनमा छन् । हालसम्म मुलुकमा २ लाख ७६ हजार २८९ जना संक्रमित भएकोमा ३ हजार २० जनाको मृत्यु भएको छ ।
यसैबीच, जिल्ला प्रशासन कार्यालय भक्तपुरले कोरोना जोखिमबाट बच्न मेला, जात्रा, सांस्कृतिक कार्य नगर्न/नगराउन सम्बन्धित सबैलाई अनुरोध गरेको छ तर चैत २८ देखि वैशाख ५ गतेसम्म चल्ने बिस्केट जात्रा भने नरोक्ने कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बुधवार आयोजित पत्रकार सम्मेलनमा यस्तो आग्रह गरेका हुन् । उनले कोभिड संक्रमणको जोखिमबाट बच्न नजिकिँदै गरेको होली पर्व पनि स्वास्थ्य मापदण्ड अपनाएर मात्र मनाउन अनुरोध गरेका छन् । भट्टराईले यो वर्षको बिस्केट जात्रा नरोकिने तर स्वास्थ्य मापदण्ड अपनाएर मात्र जात्रा चलाइने बताएका छन् ।
कोभिडका कारण गत वर्ष बिस्केट जात्रा रोकिएको थियो । गत वर्ष रोकिए पनि यो वर्ष नरोकिने प्रजिअ भट्टराईले बताएका छन् ।
उनले सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड उल्लंघन गर्नेलाई संक्रमण रोग २०२० बमोजिम कारबाही हुने जानकारी पनि गराएका छन् । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।