बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

वीरगञ्जमा फेरि बढ्यो कोरोना संक्रमण, के हो संकेत ?

वीरगञ्जमा फेरि बढ्यो कोरोना संक्रमण, के हो संकेत ?

  • मिडिया डबली
  • सोमवार, चैत्र ९ २०७७

  • 7.0K
    SHARES

  • वीरगञ्जमा फेरि बढ्यो कोरोना संक्रमण, के हो संकेत ?

    वीरगञ्ज – छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढेपछि सरकारले नेपालमा पनि स्वास्थ्य सुरक्षा सतर्कता बढाउन आग्रह गरेकै दिन वीरगञ्जमा १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    लामो समयपछि वीरगञ्जमा एकैदिन १० जनामा कारोना संक्रमण पुष्टि भएको हो ।

    वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा आईतबार ५० जनाको पीसीआर परीक्षण गर्दा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    नारायणी अस्पतालका कोरोना फोकल पर्सन डाक्टर सरोज रोशन दासका अनुसार पर्सा जिल्लाका विभिन्न स्थानबाट संकलन गरिएका ५० जनाको स्वाब परीक्षण गर्दा पर्साको वीरगञ्ज महानगरका ३, बाराका ६ र झापाका १ जना गरी १० जनामा संक्रमण भेटिएको छ ।

    पर्साको वीरगञ्ज महानगरपालिका–२ का २७ वर्षीया महिला, वडा नम्बर १० का २८ वर्षीय पुरुष र वडा नम्बर ३१ का २२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ की २७ वर्षीया महिला, वडा नम्बर ३ का ३८ वर्षीय पुरुष र २८ वर्षीया महिला, वडा नम्बर ५ का २० वर्षीय पुरुष, वडा नम्बर ८ का २४ वर्षीय पुरुष, वडा नम्बर ९ का ३१ वर्षीय पुरुष तथा झापाको मेची नगरपालिका १२ का २५ वर्षीय पुरुषमा समेत संक्रमण भेटिएको डाक्टर दासले बताएका छन् ।

    अस्पतालमा ५० जनाको परीक्षण गर्दा तीमध्ये १० जनामा संक्रमण भेटिनुले वीरगञ्जमा फेरि संक्रमण बढेको भन्न सकिने अवस्था भएको उनले बताएका छन् । ‘संक्रमण नियन्त्रणमा आएपछि विगत ३–४ महिनादेखि दिनहुँ फाट्टफुट्ट रूपमा २ वा ३ जनामा मात्र संक्रमण भेटिने गरेको थियो । तर आईतवार ५० जनामध्ये १० जनामै संक्रमण भेटिनु चिन्ताको विषय हो । यसले फेरि संक्रमण बढ्न थालेको संकेत भन्ने सकिने अवस्था छ,’ उनले भने ।

    आईतवार संक्रमण पुष्टि भएका पर्सा र अन्य जिल्लाका स्थायी घर भएर पर्सामा बस्दै आएका सबै १० जना होम आइसोलेसनमा बसेका डाक्टर दासले बताए । ‘सबैमा सामान्य ज्वरो र खोकीको लक्षण मात्र छ । गम्भीर अवस्थाको कोही पनि छैनन् । त्यसैले होम आइसोलेसनमा बस्न सुझाएका छौं,’ उनले भने ।
     
    स्वास्थ्य कार्यालय पर्साका अनुसार पर्सा जिल्लामा आईतवारसम्म संक्रमण पुष्टि हुनेको संख्या ३ हजार २३० पुगेको छ । जसमध्ये ५३ जनाको मृत्यु भएको छ ।

    हालसम्म पर्सामा कोरोना संक्रमणमुक्त हुनेको संख्या भने ३ हजार १२० रहेको स्वासथ्य कार्यालय पर्साका निरीक्षक जयमोद ठाकुरले बताएका छन् ।
     
    ठाकुरका अनुसार पर्सामा हाल ५७ जना संक्रमित होम आइसोलेनसमा रहेका छन् । वीरगञ्जमा फेरि संक्रमण बढ्न थाले पनि संक्रमितको उपचार गर्ने आइसोलेसन कक्ष वा कोभिड अस्पताल भने छैन । 

    कोरोनाको पहिलो लहर सुरू भएका बखत वीरगञ्जमा नारायणी अस्पताल तथा त्यस मातहतमा गण्डक हस्पिटल, वीरगञ्ज हेल्थ केयर हस्पिटल र नेसनल मेडिकल कलेजको बाबा होटलमा अस्थायी कोभिड अस्पताल सञ्चालन गरी संक्रमितको उपचार गरिएको थियो । तर अहिले ती सबै अस्थायी कोभिड अस्पताल ४ महिना पहिले नै बन्द भइसकेका छन् । 

    अब गम्भीर अवस्थाका संक्रमित भेटिए उनीहरूलाई राखेर उपचार गर्ने स्वास्थ्य संस्था अहिले वीरगञ्जमा छैन । वीरगन्जका चिकित्सकले २ दिनअघि मात्र खुला सीमा जोडिएको छिमेकी मुलुक भारतका विभिन्न प्रान्तमा केही दिनयतादेखि फेरि कोरोना संक्रमण तीब्र रूपमा फैलिरहेकाले वीरगञ्ज र यस आसपासका क्षेत्रमा सतर्कता अपनाउन आवश्यक भएको बताएका थिए ।

    भारतमा कोरोना माहामारी बढेपछि गत वर्षको चैत ११ गतेदेखि बन्द गरिएको वीरगञ्ज नाकामा अहिले भारतीय निजी र यात्रुवाहक सवारी साधनलाई मात्र नेपाल भित्रिन रोक लगाइएको छ । तर २ तथा ३ पाङग्रे सवारीसाधन र मानिसको सहज आवगमन भने सञ्चालन नै छ । 

    भारतमा केही दिनयता पुनः संक्रमण तीब्र रूपमा फैलिरहेको भए पनि नेपालकै प्रमुख स्थल नाका वीरगञ्जमा भने राज्यको तर्फबाट कुनै निगरानी र स्वास्थ्य सुरक्षा सतर्कता अपनाइएको छैन । कोरोनाको पहिलो लहर सुरू भएका बेला कोरोना महामारीको इपिसेन्टर नै बनेको वीरगञ्जमा पहिलो पटक गत चैत ३० गते ३ जना भारतीय नागरिकमा संक्रमण भेटिएको थियो । उनीहरू भारतबाटै आएर वीरगञ्जमा बसेको अवस्थामा शंका लागेर वीरगन्जको नारायणी अस्पतालमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । पर्साका प्रमुख जिल्ला अधिकारी असमान तामाङले भारतमा संक्रमण बढिरहेको र खुला सीमा जोडिएका कारण वीरगञ्ज उच्च जोखिममा रहेको बताएका छन् ।
     
    तराईबासीको ठूलो पर्व होली नजिकिइरहेका कारण पर्व मान्ने भारतबाट फर्किनेहरूको संख्या बढ्ने भएकाले त्यसलाई पनि मध्यनजर गरेर नाकाको व्यवस्थापन आवश्यक रहेको उनले बताएका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७१०:०९:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend