रौतहट – उमेरको उत्तराद्र्धमा चन्द्रपुर–२ पैनीटोलका भक्तबहादुर पाण्डेसँग सुनाउनुपर्ने विगतका यादभन्दा बल्झिरहने दुःखको घाउ मात्रै छ ।
उनको दुःखको कथा गौर हत्याकाण्डसँग जोडिएको छ । २०६३ चैत ७ गते अपराह्न गौर नगरपालिकास्थित राइस मिल मैदानमा भएको अकल्पनीय घटनाले पाण्डे परिवारलाई अझै सताइरहेको छ ।
भक्तबहादुरका २० वर्षीय छोरा दीपक पाण्डेको गौर हत्याकाण्डमा मृत्यु भयो तर पाण्डे दम्पतीले शव समेत हेर्न पाएनन् । अहिले उनीहरू बेसहारा छन् । १४ वर्ष बितिसक्दा पनि दोषीलाई कारबाही भएको छैन ।
कुनै युद्धभूमिमा लडाइँ हुँदै गरेको फिल्मको झल्को आउने त्यो क्रूर घटनामा तत्कालीन मधेशी जनअधिकार फोरमका नेता उपेन्द्र यादव, पूर्व सभासद् बबन सिंह, प्रदेशसभा सांसद बाबुलाल साहलगायत ११३ जनाको नाम जोडिएको छ ।
पाण्डे परिवारका कान्छो छोरा दीपक मारिँदा उनी माओवादीको वाईसीएलमा भर्ना भएको ९ महिना पुगेको थियो ।
राइस मिलमा एकै स्थानमा तत्कालीन माओवादी र तत्कालीन फोरमले सभा गर्न लाग्दा झडप भएको थियो । झडपमा २७ वाईसीएल कार्यकर्ताको मृत्यु भयो भने ५३ जना गम्भीर घाइते भए । त्यसदिन राइस मिलमा माओवादी र फोरमले एकै ठाउँमा सभा गर्न लागेको भन्दै नगरपालिका क्षेत्रभरि एकखाले त्रास पैदा भइसकेको थियो । यसको यथार्थ जानकारी हुँदा पनि स्थानीय प्रशासनले रोक्ने प्रयास गरेन ।
फोरमले मैदानको दक्षिण र माओवादीले उत्तर कुनामा अघिल्लो दिन नै मञ्च बनाइसकेका थिए । त्यही राति मकवानपुर, सिन्धुली, दाङ, बाजुरा, बारा, पर्सा, सिरहा, चितवन, काभ्रे, रुकुम, सप्तरीलगायत जिल्लाबाट वाईसीएल कार्यकर्तालाई सभास्थलमा खटाइएको थियो ।
उनीहरु साना हतियारसहित आएका थिए । माओवादी कुनै हालतमा फोरमलाई सभा गर्न नदिने पक्षमा थियो भने फोरम गरेरै छाड्ने अडानमा थियो ।
फोरमले प्रमुख अतिथि नेता उपेन्द्र यादवलाई बोलायो, माओवादीले जिल्ला इन्चार्ज प्रभू साहलाई । सभाको अघिल्लो दिन चैत ६ गते दीपकलाई सभामा सहभागी हुन वाईसीएलका स्थानीय नेताले खबर पठाए । त्यसपछि उनलाई घरबाट हिँडाइहाले । १४ वर्षअघिको त्यो दिनको सम्झना भक्तबहादुरलाई अझै पनि झलझली छ ।
छोरा माओवादीमा लागेको थाहा पाएपछि निकैपटक सम्झाएको उनले सुनाए । उसैबेला गौरमा भएको माओवादीको भेटघाट कार्यक्रममै पुगेर सम्झाउन खोज्दा दीपकले बुवालाई उल्टै सम्झाएर पठाए ।
दीपकले भनेको कुरा सम्झँदै उनी भन्छन्, ‘बुवा, म मरें भने शहीद हुन्छु । मलाई मेरो जीवन रक्षा गर्न आउँछ, चिन्ता नलिनुस् ।’
भक्तबहादुरको चिन्ता त्यसपछिका परिदृश्यहरुले झन् गाढा बनाउँदै लग्यो । ‘त्यसदिन छोरा गौरको सभामा गएको भन्ने थाहा पाएपछि मेरो मन थिरमा थिएन,’ भक्तबहादुरले भने, ‘त्यतैबाट ऊ सदाका लागि बिदा भयो, अन्तिम पटक अनुहार हेर्न पनि पाइनँ ।’
चैत ७ गते झमक्क साँझ परिसकेको थियो । उनी छोराको बाटो हेरेर घरमै टहलिरहेका थिए । छोरा घर नआएपछि उनको छटपटी रातसँगै छिप्पिँदै गयो । भोलिपल्ट वरपरका छरछिमेकीलाई छोराको अवस्था पत्ता लगाइदिन उनले हारगुहार गरे तर कसैले केही भनेनन् । त्यतिबेलासम्म दीपकले गौरमा प्राण त्यागिसकेका थिए ।
घटनाको ३ दिनसम्म पाण्डे परिवारले के भएको हो, कसो भएको हो भनेर मेसो पाएन । एकैचोटी छोराको दाहसंस्कार भइसकेको थाहा पाए भक्तबहादुरले । झडपमा आफ्नै छोरा परेको खबर सुनेपछि आमा भगवती पनि बेहोस भइन् ।
‘छोरालाई कसले मार्यो थाहा छैन, मार्नेलाई कारबाही भयो/भएन पनि थाहा छैन,’ भगवतीले भनिन्, ‘हामीचाहिँ बेसहारा भयौं ।’ पाण्डे परिवारका दीपक कान्छो छोरा हुन् । जेठो अजयले उसै बेला आत्महत्या गरे । कारण अहिलेसम्म उनीहरूले थाहा पाउन सकेका छैनन् ।
माइलो राजकुमार नेपाल प्रहरीमा हुँदा बेवारिस बम टिप्न लाग्दा हातमै पड्केर घाइते भए । जागिर छाडेर उनी दुबई गएका छन्, भिन्दै बस्छन् । घरमा पाण्डे दम्पती मात्र छन् । ७० वर्षीय भक्तबहादुरलाई दम रोग छ । उनी हिँडडुल गर्न सक्दैनन् । छोरा मार्नेलाई कहिले कारबाही हुन्छ भनेर उनी जसलाई भेटे पनि सोध्न भुल्दैनन् ।
घटनाका प्रत्यक्षदर्शीमध्येका एक माओवादीका तत्कालीन नेता युवराज भट्टराई (समीर) हत्यारालाई हालसम्म कारबाही नहुनु दुःखद भएको सुनाउँछन् । उनी झडपका बेला गौर सभामै थिए तर दुबैतर्फबाट हानाहान हुन थालेपछि भागेर ज्यान जोगाए । भाग्न नसक्ने दीपकजस्ता धेरैले भने ज्यान त्यहीँ बिसाउनुपर्यो ।
तिनैमध्येकी हुन् – चन्द्रपुर–२ वनटोलकी १८ वर्षीया रेखा परियार । उनका बुबा रामबहादुर अहिले पनि छोरीको कुरा गर्दा भक्कानिन्छन् । ‘सानो सभा छ’ भनेर घरबाट हिँडेकी छोरीको मृत्युको खबरले परियार परिवार मानसिक रुपमा विक्षिप्त छ । रामबहादुरका २ छोरीमध्ये जेठी कल्पनाले आत्महत्या गरिन् । कान्छी रेखाको हत्या भयो ।
‘अब हामीसित छोरी नै छैन’ आमा दालचिनी परियार आँसु खसाल्छिन्, ‘माओवादीमा लागेर जनताको सेवा गर्छु भन्थी । कहिल्यै नआउने गरी बिदा भई ।’ रेखालाई खेतमा काम गर्दैगर्दा वाईसीएलका कार्यकर्ता आएर सभाको अघिल्लो दिन गौर लगेका थिए ।
घटनाका बेला जिल्ला प्रहरी रौतहटमा कार्यरत तत्कालीन प्रहरी प्रमुख एसपी रामकुमार खनाल माथिबाट सभा रोक्न कुनै स्पष्ट आदेश नभएकाले क्षति व्यहोर्नुपरेको सुनाउँछन् । ‘माथिबाट कुनै आदेश नआएकाले म एक्लैले कर्फ्यू आदेश गरेको थिएँ,’ उनी सम्झन्छन्, ‘त्यसबेला केन्द्रीयस्तरबाटै सभा रोकिनुपर्थ्यो तर त्यसो हुन सकेन ।’ दुबै पार्टीको दम्भका कारण गौर घटना भएको भनेर उसै बेला व्यापक आलोचना भएको थियो । झडपमा रौतहटका ९, मकवानपुरका ८, बाराका ४, बाजुरा, सिन्धुली, पर्सा र दाङका १/१ गरी २७ वाईसीएल कार्यकर्ताको मृत्यु भएको थियो । २ जनाको सनाखत हुनै सकेन । घटनामा ५३ जना घाइते भएका थिए । मृतकका परिवारले राज्यबाट ९ महिनापछि १० लाखका दरले क्षतिपूर्ति पाएका थिए तर न्याय भने कसैले पाएका छैनन् ।
घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग भएपछि सरकारले तत्कालै पुनरावेदन अदालत पाटनका तत्कालीन न्यायाधीश हरिप्रसाद घिमिरेको संयोजकत्वमा उच्चस्तरीय छानबिन टोली गठन गरेको थियो । सरकारी टोलीमा जिल्ला अदालत जुम्लाका तत्कालीन न्यायाधीश अनन्त डुम्रे, तत्कालीन न्यायाधिवक्ता टीकाबहादुर हमाल, तत्कालीन प्रहरी नायब महानिरीक्षक रमेश चन्द र राष्ट्रिय सतर्कता केन्द्रका तत्कालीन कायममुकायम प्रमुख राम सरबर दोबे थिए । घटनापछि माओवादीको तत्कालीन जनसरकारको नामबाट फोरम र कांग्रेसका १२७ जनाको नाममा कर्तव्य ज्यान मुद्दामा जाहेरी ल्याएको थियो । तर तत्कालीन एसपी रामकुमार खनालले हुँदै नभएका मानिसको नाम समावेश गरिएको भन्दै जाहेरी दर्ता गरेनन् । पछि जाहेरीमा अभियुक्तको सूची कटौती गरेर ११३ जनाको नाममा ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता भयो, जसमा उपेन्द्र यादवदेखि बबन सिंहसम्म थिए । ती सबैलाई प्रहरीले फरार अभियुक्त भनी मिसिलमा चढायो तर खोजखबर गरेन ।
उपेन्द्र यादव त्यसपछि चुनाव जितेर उपप्रधानमन्त्री समेत पनि भए । बबन सिंह पहिलो संविधानसभामा निर्वाचित भए । अरु पनि थुप्रै ‘फरार अभियुक्तहरु’ अहिले महत्त्वपूर्ण सार्वजनिक पदमा बसेका छन् । यो सब देख्दा भक्तबहादुरहरूको मुटु कटक्क खान्छ ।
‘जाहेरी उसै बेला दर्ता भएको हो, त्यसमा अहिलेसम्म कुनै प्रक्रिया अघि बढेको छैन,’ जिल्ला प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले भने, ‘राजनीतिक प्रकृतिको घटना भएकाले यसबारे म थप बोल्न चाहन्नँ ।’ २०६३ साउन ६ गतेयता एसपी खनालपछि हालसम्म जिल्ला प्रहरीको नेतृत्व सम्हाल्न १७ जना बढी एसपी आइसकेका छन् । कसैले पनि गौर हत्याकाण्डको मुद्दामा अनुसन्धान अघि बढाउन हिम्मत गरेका छैनन् ।
१४ वर्षअघि भएको नरसंहारले अहिले पनि गौरवासीको मनमा उस्तै भय पैदा गर्छ । त्यसदिन जनयुद्धबाट शान्ति वार्तामा आइसकेको तत्कालीन माओवादी र मधेशी जनअधिकार फोरमले राइस मिल मैदानमा सभा आयोजना गर्ने निर्णय गरेका थिए । अति सामान्य निहुँमा गौर नरसंहार हुन पुगेको थियो ।
टसका मस नगरी दुबैले सभा गर्ने मिति तय गरेपछि गौर बजार सुनसान भयो । दुबैबीच झडप हुने प्रायः निश्चित थियो । वाईसीएलका कार्यकर्ता अघिल्लै रात गौरस्थित रामजानकी धर्मशाला आएर बसेका थिए । अधिकांश बाहिरका भएकाले उनीहरुलाई गौरको भूगोल थाहा थिएन । सभा सुरू हुनु १ घण्टा अगाडि वाईसीएलले नगर परिक्रमा गर्यो । उनीहरुको समूह सयको हाराहारीमा मात्रै थियो । त्यहीबेला मैदानमा बनाइएको माओवादीको मञ्च तोडफोड र आगजनी भइसकेको थियो । फोरमले सभा सुरू गर्न आफ्ना नेता–कार्यकर्तालाई मञ्चमा बोलाइरहेको थियो ।
त्यत्तिकैमा वाईसीएल टोली मैदानमा प्रवेश गर्यो । आफूतिरको मञ्च भत्किएको देखेपछि उनीहरु आक्रामक शैलीमा प्रस्तुत भए । दुबै तर्फबाट गोली हानाहान भयो । सभामा जिल्ला प्रहरीबाट सईको कमाण्डमा १० जना मात्र प्रहरी तैनाथ थिए । दोहोरो गोली चल्न थालेपछि उनीहरु ज्यान जोगाउन भागे । मैदान एकैछिनमा रणभूमि बन्यो । वाईसीएल कार्यकर्ता भाग्ने गौंडा कुरेर बसेका फोरम कार्यकर्ताले बाँसको फराठा (लाठा) ले प्रहार गरेर ढाले । त्यसपछि नालीमा हालेर माथिबाट सिमेन्टको ढालले छोपिदिए । रेडक्रस र प्रहरीले धेरैजसोको शव नालीबाट बाहिर निकालेको थियो ।
चन्द्रनिगाहपुरका रेखा परियार, सरस्वती आचार्य र १ किशोरीलाई गौरदेखि पूर्वपट्टि बौधीमाई मन्दिर नजिक बाँसको फराठाले हानेर हत्या गरिएको थियो । उनीहरुको योनीमा बाँसले घोचिएको र आगो लगाइएको अवस्थामा शव फेला पारेको थियो । माओवादीले यसलाई बलात्कारपछि हत्या गरेको भन्दै आएको छ । झडपमा फोरमका केही कार्यकर्ता पनि घाइते भएका थिए । माओवादीतर्फ धेरै क्षति भएको थियो । घाइतेलाई तत्कालै गौर अस्पताल ल्याइएको थियो । त्यहाँ पनि फोरमका कार्यकर्ताले आक्रमण प्रयास गरेका थिए ।
साँझसम्म झडप कायमै रहेपछि जिल्ला प्रहरीले कर्फ्यू लगाएको थियो । मृतकको शव संकलन गरी गौर अस्पतालमा राखिएको थियो । झडपपछि हालसम्म मानवअधिकार आयोगले घटनाबारे फलोअप गरिरहेको भएपनि ठोस अनुसन्धान हुन सकेको छैन । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आयोगबाट गौर घटनाबारे अपडेट गरिरहेको सुनाएका छन् ।
‘अहिलेसम्म के–कति प्रगति भयो, के हुँदैछ भनेर लिखित मागिएको थियो,’ यादवले भने, ‘हामीले जे–जति प्रगति र मुद्दाको अवस्था छ, त्यो सबै आयोगलाई जानकारी गराइसकेका छौं ।’
गौर घटनाको छानविन भएपनि दोषीमाथि अझै कारवाही नभएको भन्दै मृतकका परिवारले गत शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । गौर हत्याकाण्ड संघर्ष समितिका तर्फबाट प्रधानमन्त्रीलाई भेटेर दोषीलाई कारवाही माग गरिएको संघर्ष समितिका सदस्य मनोज यादवले बताएका छन् ।
छानबिन समितिले गौर घटनालाई जघन्य अपराध भने पनि हालसम्म दोषीमाथि किन कारवाही भएन भनेर प्रधानमन्त्री ओलीले ज्ञापनपत्र बुझ्ने क्रममा चासो देखाएको सदस्य यादवले सुनाएका छन् ।
घटनाको मुख्य आरोप जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई लागेको छ । उनीविरुद्ध प्रहरीमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता छ । व्यक्तिगत रिसईबी र राजनीतिक झडपका रुपमा नभई सुनियोजित र षड्यन्त्रपूर्ण रुपले यो घटना गराइएको दाबी गरिँदै आएको छ । घटनाबारे २०६४ चैत २८ गते कर्तव्य ज्यानसम्बन्धी जाहेरी दर्ता भएपनि हालसम्म कसैलाई कारवाही नभएको ज्ञापन पत्रमा उल्लेख छ । आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।