काठमाडौं - रसुवामा आएको बाढी तथा विपद्बाट प्रभावित भई काठमाडौंका विभिन्न शेल्टरमा आश्रय लिइरहेका महिला तथा बालबालिकालाई नेपाल महिला संघले राहत सामग्री वितरण गरेको छ।
स्वयम्भूस्थित मुस्ताङ गुम्बा र गोशोक गुम्बामा रहेका करिब दुई सय महिला तथा बालबालिकालाई संघले दैनिक जीवनमा आवश्यक पर्ने थर्मल, विन्डचिटर, कपडा, सेनेटरी प्याड, टूथपेस्ट, मञ्जन, ब्रस, ट्वाइलेट पेपरलगायतका सामग्री हस्तान्तरण गरेको हो।
राहत वितरण कार्यक्रममा नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष मिना कुमारी खरेल, राहत संकलन तथा वितरण संयोजक सोना परियारलगायत केन्द्रीय सदस्यहरूको सहभागिता थियो। कार्यक्रममा रसुवाका सांसद मोहन आचार्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू प्रतिमा गौतम, कुसुम थापासहित पूर्व सांसद सपनाराज भण्डारीको पनि उपस्थिति थियो।
अध्यक्ष खरेलले विपद्को समयमा पीडित नागरिकलाई राहत दिनु सहयोग मात्र नभई मानवीय जिम्मेवारी र सामाजिक उत्तरदायित्व भएको बताइन्। संकटमा परेका महिला तथा बालबालिकाको साथमा उभिनु नेपाल महिला संघको मूल भावना र उद्देश्य रहेको उनको भनाइ थियो।
संघकी केन्द्रीय सदस्य शोभादेवी भण्डारीका अनुसार केही दिनअघि पनि नेपाल महिला संघले नुवाकोट र धादिङमा सभापतिसहित केन्द्रीय सदस्यहरूको उपस्थितिमा आवश्यक राहत सामग्री वितरण गरेको थियो। संघले महिला अधिकार तथा सशक्तीकरणसँगै मानवीय सेवाका कार्यलाई पनि निरन्तरता दिने जनाएको छ।



मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।