काठमाडौं – सर्वाेच्च अदालतमा विचाराधीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम सम्बन्धी मुद्दाको अन्तिम फैसला भोलि बिहीवार नहुने भएको छ ।
सर्वोच्च अदालतका पूर्व प्रधान्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनको शोकमा भोलि बिहीवार देशभरका अदालतमा बिदा गर्ने अदालतको पूर्ण बैठकको निर्णयका कारण भोलि हुने भनिएको फैसला सरेको छ ।
यसअघि अदालतले फागुन २० गते बिहीवार फैसला सुनाउने गरी मिति तोेकेको थियो । गत फागुन १३ गते मुद्दाको सुनुवाइ सकिएको थियो ।
सर्वाेच्चका न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले फागुन २० गते बिहीवार फैसला सुनाउने निर्णय गरेका थिए ।
नेकपा आफ्नो नाममा दर्ता रहेको भन्दै निर्वाचन आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको पार्टीलाई आधिकारिकता दिएको विरोधमा कट्टेलले २०७५ मंसिरमा सर्वाेच्च अदालतमा रिट दर्ता गराएका थिए ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी नाम दिइएको थियो । मिल्दोजुल्दो नामको पार्टी त्यसअघि नै निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको दर्ता रहेकाले पछि कोस्टकमा नेकपा राखेर पार्टीलाई आधिकारिकता दिइएको थियो ।
ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपाको दर्ता खारेज गर्न माग गर्दै ऋषि कट्टेलले निर्वाचन आयोगमा उजुरी दिएकोमा आयोगले कट्टेलको दाबी खारेज गरेपछि कट्टेल अदालत पुगेका थिए । अदालतमा पटक–पटक सुनुवाइ स्थगित हुँदै आएकोमा २ वर्षपछि फैसला हुन लागेको हो । अदालतको फैसलालाई चासोका साथ हेरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।