काठमाडौं – भारत सरकारले अनुदानमा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराएपछि गत माघ १४ गतेदेखि नेपालमा राष्ट्रिय खोप कार्यक्रम सञ्चालन गयो ।
कोरोनाविरुद्ध अग्रपंक्तिमा खटिएर काम गरेका व्यक्तिलाई पहिलो चरणमा माघ १४ गतेदेखि २४ गतेसम्म देशभरका १८६ वटा खोप केन्द्रमार्फत् खोप दिइयो । स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा कार्यरत सहयोगी कर्मचारीलाई खोप दिइएको थियो ।
गत माघ २६–३० गतेसम्म काठमाडौंका ३ वटा खोप केन्द्रमार्फत् कूटनीतिज्ञहरू, राजदूतावासका कर्मचारीहरू, पत्रकार र अग्रपंक्तिमा खटिएका संयुक्त राष्ट्रसंघका कर्मचारीलाई खोप दिइएको थियो ।
स्वास्थ्य मन्त्रालयले फागुन २–२० गतेसम्म २२२ वटा खोप केन्द्रमार्फत् कर्मचारी, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई खोप लगाउँदैछ ।
खोप अभियानमा सरकारले करीब ९ लाख ११ हजार ३४२ जना अर्थात् नेपालको कूल जनसंख्याको ३ प्रतिशतलाई खोप लगाउने लक्ष्य लिए पनि भारत सरकारले पहिलो चरणमा १० लाख डोज खोप मात्र अनुदानमा उपलब्ध गराएपछि सरकारले पहिलो चरणमा ५ लाख ७ हजार ६०६ जनालाई मात्रै खोप लगाउने योजना बनाएको हो । पहिलो प्राथमिकताको अभियानमा ८४ दशमलब ६५ प्रतिशतले खोपको पहिलो डोज लगाइसकेका छन् । माघ १४ गतेदेखि फागुन १० गतेसम्ममा ४ लाख २९ हजार ७०५ जनाले कोरोना भाइरस विरुद्धको कोभिसिल्ड खोपको पहिलो डोज लगाएका छन् ।
फागुन २३ गतेदेखि सुरू हुने दोस्रो प्राथमिकताको खोप अभियानमा कूल जनसंख्याको १७ प्रतिशत अर्थात् ५१ लाख ६४ हजार २६९ जनालाई खोपको पहिलो मात्र लगाउने सरकारको तयारी छ ।
कोरोना विरुद्धको खोप विज्ञ सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेतीले १ पटकमा ० दशमलव ५ एमएल लगाइने खोपको दोस्रो डोज ८ हप्ताको फरकमा २ डोज लगाउनुपर्ने बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोपको पहिलो डोज लगाइसकेका व्यक्तिका लागि दोस्रो डोज लगाउने मिति समेत तय गरिसकेको डा. उप्रेतीले बताएका छन् ।
पहिलो प्राथमिकतामा माघ १४ गतेदेखि फागुन १० गतेसम्ममा पहिलो डोजको खोप लगाइसकेका व्यक्तिहरूले आगामी बैशाख ७–१५ गतेसम्ममा खोपको दोस्रो डोज लगाउन पाउने भएका छन् ।
आगामी फागुन २३ गतेदेखि सुरू हुने दोस्रो प्राथमिकताका व्यक्तिले पहिलो डोजको खोप लगाइसकेपछि आगामी जेठ १७ गतेदेखि असार ५ गते भित्रमा दोस्रो डोज लगाउन पाउने डा. उप्रेतीले बताएका छन् ।
आगामी फागुन २३ गतेदेखि ५५ वर्ष माथिका नागरिक तथा दीर्घरोगका बिरामीलाई खोप लगाउन लागिएकाले खोपबाट हुनसक्ने अवाञ्छित घटना व्यवस्थापनको लागि स्वास्थ्य मन्त्रालयले सम्पूर्ण तयारी गरिसकेको जानकारी दिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।