काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई विलासी जीवनशैली बिताएको आरोप लगाउनेहरूप्रति गुनासो गरेका छन् ।
शुक्रबार प्राइम टाइम टेलिभिजनमा पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा अध्यक्ष प्रचण्डले आन्दोलनकै क्रममा आफूले छोराछोरी गुमाउनुपरेको बताए ।
अन्तर्वार्ताका क्रममा पत्रकार धमलाले प्रचण्डलाई सोधे, ‘तपाईंले माओवादी आन्दोलनमा योगदान दिएकाहरुलाई हेर्नुभएन, विलासी जीवन बिताउनुभयो रे नि !’
जवाफमा प्रचण्डले आफूले यस्तो आरोप बिल्कुल स्वीकार नगर्ने बताए । ‘कतिसम्म भन्न सकेका मान्छेहरूले । म रातदिन खटेको, संविधान बनाउने बेलामा होस्, शान्ति सम्झौता गर्ने बेलामा होस्, सेना समायोजन र हतियार व्यवस्थापन गर्ने बेलामा होस्, म रातदिन दौडेर देशलाई निकास दिनको लागि परेको नदेख्ने । मैले सुट लगाएको चाहिँ देख्ने ?’ प्रचण्डले उल्टै प्रश्न गरे, ‘के भनेको विलासी ? मुरो छोरो मर्यो यही आन्दोलनमा दौडिँदा दौडिँदै । छोरी मरी । म विलासी जीवन बाँचेको छु ? मेरो श्रीमतीको हालत कुन अवस्थामा छ ? दुनियालाई थाहा छ नि ! के म विलासी जीवन बाँच्न सक्छु ?’
अध्यक्ष प्रचण्डले आफ्नो जीवन विकास र समृद्धिमा समर्पित भएको दाबी गरे । ‘मैले भनेको छु, मेरो जीवन विकास र समृद्धिको लागि खर्चिने छु । मलाई यतिसम्म अत्याचारपूर्ण आरोप लगाउने मान्छेहरूको नियत के हो ?’ प्रचण्डले प्रश्न गरे ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।