काठमाडौं – नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री डा. प्रकाशशरण महतले कांग्रेस कम्युनिस्ट पार्टीको पिछलग्गु बनेर अहिल्यै सरकारमा नजाने बताउँदै ५ वर्ष नै सरकार चलाउने गरी ताजा चुनावमा जाने खुलासा गरेका छन् ।
शुक्रबार नुवाकोटमा आयोजित प्रथम छहरे ऐतिहासिक महोत्सव तथा व्यापार मेलालाई सम्बोधन गर्दै नेता डा. महतले ढिलोचाँडो चुनाव नै हुने भएकाले कांग्रेस चुनावमै जाने बताए ।
‘चुनावमा जाँदा नै हामीलाई फाइदा छ । जनताले कम्युनिस्टलाई चिनिसक्यो । यो पुनर्स्थापित संसद धेरै दिन चल्दैन, चल्ने छाँटकाँट मैले देखेको छैन,’ डा. महतले भने, ‘कांग्रेस कसैले पिछलग्गु बनेर सरकारमा जानेवाला छैन । ढिलोचाँडो निर्वाचन हुन्छ, निर्वाचन जितेर कांग्रेसले शासन चलाउँछ । ५ वर्षका लागि सत्तामा आउने बाटोका लागि कांग्रेस जनतामा जान्छ ।’
कम्युनिस्टहरूलाई कांग्रेसले विश्वास गर्ने अवस्था नरहेको उनले बताए । ‘उहाँहरू आज झगडा गर्नुहुन्छ, भोलि स्वार्थ मिल्यो भने आत्मालोचना गरेर फेरि मिल्नुहुन्छ,’ उनले भने, ‘हामी कुनै एउटा कम्युनिस्ट घटकको पछाडि लागेर शासन सत्तामा जाने निर्णय गर्दैनौं, जनताको बीचमा जाने हो । निर्वाचनको मार्फतबाट जनताको जनादेशबाट देशमा लोकतान्त्रिक सत्ता स्थापित गर्नुपर्छ ।’
नेपाली कांग्रेसको नेतृत्वमा जनताको सुखदुःख र समृद्धिलाई केन्द्रमा राखेर काम गर्ने उनले बताए । ‘कम्युनिस्ट नेता ठूला कुरा गर्छन्, आजै भइहाल्छ कि जस्तो कुरा गर्छन्, गरीब आजै धनी हुन्छ जस्तो गर्छन् । आजै रेल आइहाल्छ जस्तो कुरा गर्छन्, जे पनि बोल्छन्,’ उनले भने, ‘नेपाली कांग्रेस देशको बजेट यति छ, यति खर्च गर्न मिल्छ, यति समयमा काम गर्न सकिन्छ हिसाब गरेर बोल्छ । भोलि जनताले के भन्लान् भनेर हामीले हिसाब गर्छाैं । कम्युनिस्टलाई हिसाब गर्नु छैन, जनतालाई बेबकुफ र मूर्ख बनाउन सकिन्छ भन्ने कम्युनिस्टलाई लाग्छ । पहिला सत्तामा जाऊ, त्यसपछि जे होला होला भन्ने सोच्छन् । त्यसको परिणाम हामीले अहिले देखेका छौं । रेल र पानीजहाज ल्याउँछौं भन्नेहरू झगडा गरेर बसेका छन् ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनका बेला ठूल्ठूला कुरा गरेपनि केही गर्न नसकेको उनले बताए । ‘कम्युनिस्टहरू हामीले शासन गर्न पाएको भए के–के न गर्थ्यौं भन्ने पार्छन् तर ३ वर्ष उहाँहरूको शासन देखियो,’ डा. महतले भने, ‘काठमाडौंबाट रसुवामा रेल मार्गको कुरा भयो, २ वर्षमा रेलै आउँछ भन्नुभयो तर रेलको सर्भे पनि भएको छैन । प्रारम्भिक सर्भे नेपाली कांग्रेसकै पालामा भएको हो । उहाँहरूले पानीजहाजै कलकत्तासम्म चलाउँछौं भन्नुभयो तर पानीजहाज कार्यालय मात्रै ल्याउनुभयो ।’ कुरा र गफमा मात्रै प्रतिस्पर्धा गर्ने हो भने कांग्रेसले कम्युनिस्टजति नसक्ने डा. महतले बताए ।
‘कुरामा प्रतिस्पर्धा गर्ने हो भने, गफाडीमा प्रतिस्पर्धा गर्ने हो भने हामी हार्छाैं । उहाँहरू कम्युनिस्टका दुवै घटक हुने/नहुने कुरामा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ, मनोरञ्जन दिँदै हुनुहुन्छ । तर नेपाली कांग्रेसले मनोरञ्जन दिँदैन । मनोरञ्जन कलाकारले दिन्छन् । राजनीति गर्नेको काम मनोरञ्जन दिने होइन,’ उनले भने, ‘नेताको काम जनताको पीरमर्का बुझेर काम गर्ने हो । तर अहिले मनोरञ्जन दिने कलाकार र कम्युनिस्ट नेताबीच प्रतिस्पर्धा गर्ने हो भने ओली र प्रचण्डले जित्नुहुन्छ । गोल्डमेडल पाउनुहुन्छ ।’
कम्युनिस्टले हो कि जस्तो गरेर कुरा गर्ने भएका कारण जनता झुक्किने गरेको उनले बताए । ‘नेपाली जनता सोझा छन्, कम्युनिस्टले भाषण गर्दा हो जस्तै लाग्छ । तसर्थ सहजै विश्वास गर्छन् ।
हुने/नहुने सबै भन्दिनेको पछि लाग्छन् नेपाली जनता,’ उनले भने, ‘अब हामीले निर्णय गर्ने बेला भएको छ । अब कुराले देश चल्दैन ।’ कम्युनिस्टले जनतालाई भन्दा आफ्नो स्वार्थलाई मात्रै हेर्ने गरेको डा. महतले बताए । ‘कम्युनिस्टले देशलाई टाँट उल्टिने अवस्थामा पुर्याइसकेका छन् । अहिले संसद विघटनको राजनीति, पुनर्स्थापनाको राजनीतिको कारण के हो भने देशको साधनस्रोतमाथि कसले कब्जा गर्ने ? जनतालाई सुविधा कसरी दिने होइन । साधनस्रोत कुन नेताले कब्जा गर्ने भन्ने प्रतिस्पर्धा भयो । प्रचण्ड–माधवले कुनै पनि हालतमा सत्ताबाट हटाउँछन् भन्ने लागेपछि ओलीले संसद विघटन गराए,’ उनले भने ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका प्रभावशाली युवा नेता तथा पूर्व सांसद रामहरि खतिवडाले नेपाली कांग्रेसले कम्युनिस्टलाई काँधमा बोकेर मुलुक सही बाटोमा नजाने टिप्पणी गरे । उनले कांग्रेसले कम्युनिस्टसँग मिल्न नहुने बताए ।
सर्वाेच्च अदालतले संसद पुनर्स्थापना गरेपछि कम्युनिस्ट नेताले कांग्रेस नेताहरूको दैलो चहारेको प्रसङ्ग कोट्याउँदै नेता खतिवडाले कम्युनिस्ट एकै हुँदा देशका लागि केही गर्न नसकेकाले कांग्रेससँग मिलेर पनि केही नहुने बताए ।
‘आजसम्म नेकपा एकै छ, त्यसभित्र विभाजित भएका कुन कम्युनिस्टलाई सहयोग गर्ने भन्ने कुरै हुँदैन । त्रिशंकु संसदबाट बनाउने सरकारले केही गर्न सक्दैन,’ उनले भने, ‘अब यही संसदबाट निर्वाचनमा जानुपर्छ ।’ कांग्रेसले कम्युनिस्टको जस्तो झगडा मात्रै नगर्ने नेता खतिवडाले बताए ।
‘७० वर्षसम्म कसैले गर्न नसकेको संविधान सभाबाट संविधान बनाउने काम नेपाली कांग्रेसको नेतृत्वमा सम्पन्न भएको हो,’ उनले भने, ‘कम्युनिस्टहरू कुरा गर्दा समृद्धिका कुरा गर्ने, रेलका कुरा गर्ने, पानीजहाजका कुरा गर्ने । तर स्थानीय स्तरका सडक बनाउन समेत बजेट दिन नसक्ने ।’ जनताले कम्युनिस्टलाई बहुमत दिँदा समेत कांग्रेसले संसदमा कुनै अवरोध नगरेको नेता खतिवडाले सम्झिए ।
‘हामीले १ दिन पनि संसद बन्द गरेनौं, नेपाल बन्द गरेनौं, संसदभित्र कुर्सी तोडेनौं । तर पार्टीभित्र कुरा मिलाउन नसक्दा ५ वर्षको संसद ३ वर्षमा हत्या गर्न खोजियो तर सर्वाेच्चले बचाइदियो, संविधान बच्यो,’ उनले भने, ‘कम्युनिस्ट पार्टीका नेताहरू बहुमत हुँदा पनि केही गर्न नसकेर अहिले कांग्रेसका नेताका घरघरमा पुगेका छन् । तर हामीले विश्वास गर्दैनौं ।’
कम्युनिस्ट पार्टीले बहुमत पाएपनि एकअर्कालाई गाली गर्नेबाहेक केही काम गर्न नसकेको नेता खतिवडाले बताए । ‘एक समूहले अर्काेलाई गाली गर्नेबाहेक केही छैन । देशलाई समृद्ध बनाउने विषयमा केही छैन । कम्युनिस्टहरूले जनतामा वितृष्णा फैलाउने, देशको ढुकुटी लुट्ने, भ्रष्टाचार गर्नेबाहेक केही गर्न सकेनन्,’ उनले भने ।
महोत्सवको कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत, नेपाली कांग्रेसका युवा नेता बहादुरसिंह लामा, नेपाली कांग्रेसका नेता राजीवविक्रम शाह लगायतले सम्बोधन गरेका थिए ।









मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।