काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले बुधवार संसदीय दलको बैठक राखे । बैठकमा पछिल्लो विकसित घटनाक्रम र आगामी रणनीतिबारे छलफल भयो ।
प्रचण्डले सांसदहरूलाई राजधानी काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएका छन् भने राजधानी बाहिर रहेका सबैलाई तत्काल काठमाडौं आउन भनेका छन् ।
तर नेकपा ओली पक्षले भने प्रचण्डले गरेको संसदीय दलको बैठक अवैध रहेको ठहर गरेको छ । ओली पक्षका प्रवक्ता प्रदीप ज्ञवालीले संसदीय दलका नेता केपी शर्मा ओली र उपनेता सुवासचन्द्र नेम्वाङले नबोलाएको बैठक वैधानिक नहुने दाबी गरे । बालुवाटारमा बसेको ओली पक्षीय स्थायी कमिटी सदस्यको बैठकका निर्णय सुनाउँदै प्रवक्ता ज्ञवालीले नेकपा संसदीय दलको आधिकारिक बैठक केही दिनमा बस्ने जानकारी दिए ।
नेकपा ओली पक्षको बैठकले सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला मान्ने निर्णय गरेको छ । बुधवार प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको बैठकले सर्वोच्च अदालतको निर्णय मानेर जाने निर्णय गरेको छ ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा संसद विघटन गर्ने सरकारको निर्णयलाई मंगलवार बदर गरेको थियो । प्रवक्ता ज्ञवालीले सर्वोच्च अदालतको आदेश अनुसार १३ दिनभित्रै संसद् बैठक बोलाइने जनाएका छन् ।
समग्र परिस्थितिको छलफल गर्न छिट्टै पार्टी केन्द्रीय कमिटी बैठक र संसदीय दलको बैठक बोलाउने समेत ज्ञवालीले बताएका छन् । प्रधानमन्त्रीको राजीनामाबारे ज्ञवालीले भने, ‘हामी दलहरूसँग छलफलमा छौं । उहाँहरूका कुरा पनि सुनेका छौं । मुलुकलाई अन्योलमा राख्न हुँदैन भन्ने हाम्रो भनाई हो । प्रधानमन्त्रीले जे गर्दा देशको लागि सबैभन्दा उपयुक्त हुन्छ, त्यो गर्नुहुन्छ, आवश्यक परामर्शपछि ।’
ओली पक्षको स्थायी कमिटी बैठक बिहीवार फेरि बस्ने भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।