काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले दुवै पार्टीबीच एकताको नयाँ आधार तय गरेका छन् ।
तत्कालीन पूर्व एमाले र पूर्व माओवादी पक्षबीच एकता हुँदा ६०/४० प्रतिशतको आधार तय गरिएकोमा प्रचण्ड–नेपाल पक्षले ५०/५० प्रतिशतको आधार तय गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि विभाजित भएर बनेको नेकपा प्रचण्ड–नेपाल पक्षले बराबरी शक्ति बाँफाँडको आधारमा पार्टी एकता गर्ने गरी मापदण्डमा सहमति गरेका हुन् ।
यसबाट स्थायी कमिटीदेखि जनसंगठन, जिल्ला र गाउँपालिकाका वडासम्म बन्ने कमिटीमा ५०/५० प्रतिशतका आधारमा दुबै समूहको प्रतिनिधित्व हुनेछ ।
पार्टी विभाजन भएपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको पुस २१ गते बसेको स्थायी कमिटी बैठकले पार्टी एकताको बाँकी काम पूरा गर्न कार्यदल बनाएको थियो । १२ सदस्यीय कार्यदलको नेतृत्व समूहका अध्यक्ष माधवकुमार नेपालले गरेका थिए ।
कार्यदलमा स्थायी कमिटी सदस्यहरु अष्टलक्ष्मी शाक्य, गिरिराजमणि पोखरेल, गोकर्ण बिष्ट, घनश्याम भुसाल, जनार्दन शर्मा, पम्फा भुसाल, वर्षमान पुन, बेदुराम भुसाल, भीम रावल, मात्रिका यादव, लीलामणि पोखरेल र सुरेन्द्र पाण्डे रहेका थिए ।
कार्यदलले प्रदेश कमिटी, जिल्ला कमिटी, जनवर्गीय संगठन र मोर्चा संगठनहरुका पदाधिकारी तथा पार्टी संगठनको एकीकरणका बाँकी काम पुरानै आधारमा सम्पन्न गरी एकता प्रक्रिया टुंग्याउने गरी सुझाव दिएको थियो । कार्यदलले पूर्व एमालले नेतृत्व गरेको संगठनमा पूर्व एमालेकै नेताहरुले नेतृत्व गर्ने र पूर्व माओवादीका नेताहरुले नेतृत्व गरेका संगठनमा पूर्व माओवादीकै नेतृत्व रहनेगरी मापदण्डसहितको सुझाव दिएको थियो ।
स्थायी कमिटी, केन्द्रीय कमिटी तथा प्रदेश कमिटीसम्म पुरानै आधारमा एकता प्रक्रिया टुंग्याउने र जनसंगठन र जिल्ला कमिटीमा भने ५०/५० प्रतिशतको आधारमा टुंग्याउने सुझाव थियो । अहिले २ अध्यक्ष दाहाल र नेपालबीच भएको सहमतिबाट सबै कमिटीमा बराबरी प्रतिनिधित्व हुने भएको छ ।
‘हिजोको एकता आधारलाई खण्डित गरिएको छ । यो पूर्व एमालेलाई पूर्व माओवादीहरुले पार्टीको मूल आधार नमानेको अवस्था हो,’ प्रचण्ड–नेपाल पक्षका एक सदस्यले भने ।
नयाँ एकता मापदण्डअनुसार प्रदेश र जिल्लाका इन्चार्ज, सहइन्चार्ज एवं पार्टी कमिटी तथा जनसंगठनका पदाधिकारीमा सामान्यतया साबिकको जुन पक्षबाट रिक्त भएको हो, त्यही पक्षबाट पूर्ति गरिने छ । त्यसो गर्दा सामान्यतया ५० प्रतिशत हुने गरी मिलाउने, पदाधिकारी राख्दा वरिष्ठता, सक्रियता र क्षमतालाई ध्यान दिने भनिएको छ ।
‘पार्टी कमिटी तथा जनवर्गीय संगठनका रिक्त स्थान पूर्ति गर्दा साबिक घटकको कमिटी र जनसंगठनमा वरियतामा अगाडि रहेकालाई प्राथमिकता दिने, वरियतामा ध्यान दिँदा साविकको सम्बन्धित कमिटी वा संगठन भित्रबाट व्यक्तिको चयन गर्ने र महिला सहभागिता तथा समावेशी सिद्धान्तको अनुशरण गर्ने, विशिष्ट स्थितिमा कमिटी वा संगठनमा नरहेको भए पनि विगतमा पार्टी कमिटी वा संगठनमा काम गरेको, वरियताको दृष्टिबाट योग्य व्यक्तिलाई जिम्मेवारी दिन सकिनेछ,’ मापदण्डमा उल्लेख गरिएको छ ।
केन्द्रीय कमिटीमा रिक्त रहेका ठाउँमा सदस्यहरुको चयन नहुँदासम्म केन्द्रीय निकायले गर्नुपर्ने जिम्मेवारीका लागि केन्द्रीय प्रतिनिधिका रुपमा उपयुक्त व्यक्ति मनोनयन गरी सम्बन्धित जिल्ला वा क्षेत्रको जिम्मेवारी दिने मापदण्ड तय भएको छ । पार्टीका केन्द्रीय कमिटी र केन्द्रीय निकाय तथा जनवर्गीय संगठनका प्रदेश कमिटीका सदस्यहरूको पूर्ति प्रदेश कमिटीको सिफारिसमा केन्द्रले गर्ने, जिल्ला कमिटीको पूर्ति जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले गर्ने र मातहतका अन्य कमिटीमा रिक्त रहेका सदस्यको स्थान पूर्ति सम्बधित जिल्ला कमिटीले गर्ने मापदण्ड बनाइएको छ ।
प्रचण्ड–नेपाल पक्षका स्थायी कमिटी सदस्य वेदुराम भुसालले एकताका लागि मापदण्ड तय भइसकेको बताएका छन् । उनले पदाधिकारीदेखि सबै तहमा बराबरी प्रतिनिधित्व रहेन गरी कमिटीहरु निर्माण हुने जानकारी दिए । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।