काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘साइबर सेना’ बनेर काम गर्ने निर्णय गरेको छ ।
शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघका अध्यक्ष बचनबहादुर सिंहले माघ २५ र २६ गते बसेको संघको केन्द्रीय कमिटी बैठकले साइबर सेना बन्ने निर्णय गरेको जानकारी दिए ।
सामाजिक सञ्जालमा सरकार र प्रधानमन्त्री ओलीविरुद्ध भइरहेको गलत प्रचारलाई नियन्त्रण गर्ने काम साइबर सेनाले गर्ने समेत सिंहले बताए । आफूलाई बुद्धिमान ठान्नेहरुले सरकार र कम्युनिस्ट पार्टीबारे जनतालाई दिग्भ्रमित पार्ने काम सामाजिक सञ्जालबाट गरिरहेकाले त्यसलाई नियन्त्रण गर्न साइबर सेनाले आफ्नो विवेक प्रयोग गरी परिचालन हुने अध्यक्ष सिंहले बताए ।
आगामी चैत मसान्तभित्रमा ७७ वटै जिल्लामा युवा संघको कमिटी निर्माण गर्ने, सबै संघीय निर्वाचन क्षेत्रमा समन्वय कमिटी, प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटी, स्थानीय तह र वडाहरुमा कमिटी गठन गरी सुदृढ कमिटी प्रणाली स्थापित गर्ने निर्णय गरेको समेत अध्यक्ष सिंहले बताए । वडावडामा विस्तार हुने कमिटीसँगै साइबर सेना देशैभर वडावडाबाट परिचालन हुने जनाइएको छ ।
प्रधानमन्त्री ओलीले लिएको समृद्ध नेपाल सुखी नेपालीको आकांक्षालाई पूरा गर्न र पार्टीलाई सहयोग गर्न बर्दी विनाको सेनाको रुपमा ५ लाख सदस्यता वितरण गर्ने समेत सिंहले बताए ।
नेकपा प्रचण्ड–नेपाल पक्षको सत्तामोहका कारण जनतामा निराशा छाइरहेको अवस्थामा प्रधानमन्त्री ओली नेतृत्वको पार्टीले जनतालाई निरुत्साहित हुन नदिने पनि अध्यक्ष सिंहले बताएका छन् । आगामी वैशाख १७ र २७ गते हुन गइरहेको मध्यावधि निर्वाचनमा युवा संघ नेपाल केन्द्रित हुने सिंह बताएका छन् ।
सरकारलाई गरिएको घेराबन्दीलाई चिरफार गर्दै राष्ट्रिय युवा संघ नेपालमा कुनै धार, गुट र समूह बन्न नदिने समेत अध्यक्ष सिंहले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।