काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कटौती गरेपछि प्रचण्डको सुरक्षा मोर्चामा पूर्व जनमुक्ति सेना परिचालन गरिएको छ ।
प्रचण्डको सुरक्षामा परिचालन भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षामा कटौती गरिएको छ ।
प्रचण्डको सुरक्षामा सुरक्षाकर्मीको संख्या कटौती भएसँगै अब २ जना नेपाल प्रहरी र १६ जना सशस्त्र प्रहरीको टोली बाँकी रहेको छ ।
सरकारले सुरक्षाकर्मी कटौती गरेपछि सुरक्षा चुनौतीलाई ध्यान दिएर पूर्व जनमुक्ति सेनाको टोली खटाइएको प्रचण्ड–नेपाल पक्षको राष्ट्रिय युवा संघका अध्यक्ष रामप्रसाद सापकोटा ‘दिपशिखा’ले जानकारी दिएका छन् ।
‘हामीले सुरक्षाका लागि युवा संघका साथीहरु खटाएका छौं । उहाँहरु सबै पूर्व जनमुक्ति सेनाका सदस्यहरु हो । उहाँहरुले सुरक्षाका लागि सहजीकरण गर्ने मात्रै हो,’ सापकोटाले भने, ‘प्रधानमन्त्रीले मितव्ययिताका लागि भन्दा पनि ‘बदला’ लिने नियतले सुरक्षा टोली कटौती गर्नुभएको हो । अब कसरी अघि बढ्ने भनेर हामी थप छलफल गर्दैछौं ।’
सुरक्षाको मोर्चामा परिचालन भएका पूर्व जनमुक्ति सेनामध्ये १० जनाको टोलीको गाडी प्रचण्डको गाडीभन्दा अघि हिँड्ने गरेको सापकोटाले बताएका छन् । पूर्व जनमुक्ति सेनाको टोलीसँग हतियार भने छैन ।
पूर्व जनमुक्ति सेनाका बटालियन कमाण्डर प्रकाश पाण्डे ‘परलोक’को नेतृत्वमा सुरक्षा टोली खटाइएको छ । शान्ति प्रक्रियामा आएदेखि नै ‘परलोक’ प्रचण्डको सुरक्षा टोलीमा रहेका थिए ।
प्रचण्ड प्रधानमन्त्री भएपछि उनी शक्तिखोरस्थित तत्कालीन जनमुक्ति सेनाको तेस्रो डिभिजनमा रहेका थिए ।
सेना समायोजनमा स्वेच्छिक अवकाश रोजेका उनी वाइसीएलमा रहेका थिए । नेकपा गठन भएपछि उनी राष्ट्रिय युवा संघमा आवद्ध रहेका छन् ।
हालै गृह मन्त्रालयले कार्यान्वयनमा ल्याएको विशिष्ट व्यक्तिको सुरक्षा मापदण्ड–२०७७ अनुसार पूर्व प्रधानमन्त्रीलाई सशस्त्रबाट १६ र नेपाल प्रहरीबाट २ जना मात्र सुरक्षाकर्मी दिइने उल्लेख गरिएको छ ।
प्रचण्डको सुरक्षामा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षकसहित २७ जना सुरक्षाकर्मी खटिएका थिए । सशस्त्र प्रहरीबाट प्रचण्डको सुरक्षामा १६ र नेपाल प्रहरीबाट २ जनाबाहेक सबै सुरक्षाकर्मी फिर्ता भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।