बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

प्रचण्डले उचालेर कतिलाई मराए, कतिलाई विधुवा बनाए : केपी ओली

प्रचण्डले उचालेर कतिलाई मराए, कतिलाई विधुवा बनाए : केपी ओली

  • मिडिया डबली
  • शनिवार, फाल्गुण १ २०७७

  • 6.2K
    SHARES

  • प्रचण्डले उचालेर कतिलाई मराए, कतिलाई विधुवा बनाए : केपी ओली

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डले कति व्यक्तिलाई झूटा सपना देखाउँदै उचालेर मराएको स्मरण गराएका छन् ।

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षको लुम्बिनी प्रदेश कमिटीले बुटबलमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवालाई उचालेर सत्तामा जाने भर्‍याङ बनाएको आरोप लगाए ।

    ‘हिजो युवाहरुलाई उहाँहरुले उचाल्नुभयो, जनवाद आउँछ, क्रान्ति आउँछ, सुखका दिन आउँछ । जीवन केही होइन, मर्न तयार हुनुस्, टाउकोमा कफन बाँधेर हिँड्नुस् भनेर सिकाउनुभयो । आफू सत्तामा पुग्ने भर्‍याङ बनाउनुभयो,’ ओलीले भने, ‘हिजोका लडाकूको अवस्था के छ ? बाँचेकाहरू, शहादत प्राप्त व्यक्तिका परिवार कस्तो अवस्थामा छन् ? सबै पीडितको हालत के छ ? उनीहरुको समस्या हेर्नुपर्छ कि पर्दैन ?’ 

    ओली अगाडि थपे, ‘हिजो प्रचण्डले उचालेर, झूटा सपना बाँडेर कतिलाई मराए, कतिलाई अंगभंग बनाए, कतिलाई विधवा बनाए, कतिलाई टुहुरा बनाए, ती सबैको व्यवस्था अहिलेको सरकारले गर्छ । सम्मानपूर्ण ढंगले परिचयपत्र वितरण गर्छाैं, घाइतेलाई उपचार गर्छाैं । परिवारका १ जना सदस्यलाई रोजगारीमा प्राथमिकता दिन्छौं ।’

    ओलीले सरकार विरोधीहरू यत्तिकै आत्तिएका नभएकाले पर्सि ११ बजे सिंहदरबारबाट जानकारी दिने बताए । ‘पर्सि ११ बजे सिंहदरबारबाट ३ वर्षका कामको समीक्षा गर्दैछौं । पर्सी फागुन ३ गते मैले प्रधानमन्त्रीको पद ग्रहण गरेको तेस्रो वर्ष पूरा हुँदैछ,’ ओलीले भने, ‘पर्सि प्रेस कन्फिरेन्स गर्दैछु । पर्सि बोल्नेछु ।’

    सरकारले धेरै विकास गरेका कारण विरोधीहरू आत्तिएका ओलीले बताए । ‘अरु डेढ–दुई वर्ष सरकार चल्यो भने चुनावमा जाँदा अरुका बाकस रित्तै हुन्छन्, खाली नेकपा बाकस मात्रै भरिन्छ भन्ने डर छ । देशी, विदेशी, प्रतिक्रियावादी शक्ति यसरी आए कामसँग डराएर ।’

    सरकारले देशभर नै विकासको लहर ल्याएका प्रधानमन्त्री ओलीले बताए । ‘राष्ट्रिय स्तरमै यतिधेरै बाटा बनेका छन्, कालोपत्रे, चौडा सडक यतिधेरै बनेका छन् । यस देशमा पहिला १० किलोमिटर वर्षको हिसाबले बाटो बन्ने गर्थ्यो । अहिले प्रत्येक दिन ७ किलोमिटर बाटो कालोपत्रे भइरहेको छ । अहिलेसम्म ५–६ हजार किलोमिटर कालोपत्रे गरिसकेका छौं, सिंगल लेन होइन, डबल लेन,’ ओलीले भने ।

    देश सुरुङ युगमा प्रवेश गरेको बताउँदै ओलीले काठमाडौं–नौबिसे सुरुङ बनिरहेको र सिद्धबाबा सुरुङ निर्माण छिट्टै अगाडि बढ्ने बताए । ‘सिद्धबाबा सुरुङका लागि गत वर्ष नै बजेट छुट्याएका छौं, योजनामा छ, अब काम हुन्छ,’ ओलीले भने, ‘हाम्रो उद्देश्य विकास हुनुपर्छ, भ्रष्टाचारी, अनैतिक र अपराधीलाई कारवाही हुनुपर्छ भन्ने पक्षमा छौं, त्यसका लागि काम गरिरहेका छौं ।’

    प्रतिनिधिसभा चल्नै नसक्ने अवस्था भएकाले विघटन गरिएको ओलीले बताए । ‘प्रतिनिधिसभा किन चल्न सकेन ? तपाईंले देख्नुभएको छ । ३ वर्षअघि नेकपा एमाले र माओवादीलाई मिलाएर सशक्त पार्टी निर्माणको अगुवाइ गरेको थिएँ,’ ओलीले भने, ‘केही मानिसले देश बनाउने होइन, आफू बन्ने उद्देश्य छाडेनन्, गुटबन्दी बलियो बनाउने उद्देश्य छोडेनन् । त्यस्ता गलत अभ्यासबाट अगाडि बढ्दै गएर पार्टी छोड्ने स्थितिमा पुगे । पार्टी छोडेर हिँडेका छन् ।’

    समृद्धिको सपनालाई अस्वीकार गर्ने तत्वहरू पार्टी छाडेर बाहिरिएका उनले बताएका छन् । ‘पार्टी फुटेको पनि छैन, जस्ताको त्यस्तै पनि छैन, केही मान्छे बाहिरिएका छन् । समृद्धिको सपनालाई अस्वीकार गर्ने तत्वहरू पार्टी छाडेर बाहिरिएका छन्, आत्तिएका छन्, संकीर्ण डम्फु बजाइरहेका छन् । संसद विघटन भनेको, चुनाव हुने भनेको प्रतिगमन हो रे ! त्यसो भए जनताका बीचमा जानै हुँदैन, चुनाव हुनै हुँदैन भने तपाईंहरूले कस्तो व्यवस्था खोजेको हो ?’ ओलीले भने ।

    समृद्धि, सुशासन र जनतालाई सुख कसरी दिन सकिन्छ भनेर अगाडि बढिरहेको सरकार ढाल्न विरोधीहरु लगातार लागेका ओलीले बताएका छन् । ‘गत वर्षको बैशाखदेखि नै त्यो प्रकट भयो । प्रधानमन्त्रीले राजीनामा गर्नुपर्छ भनेर एकैचोटी आवाज आयो । मैले सोधे – प्रधानमन्त्री राजीनामा गर्न तयार छ तर किन ? जवाफ आयो – मलाई चाहियो । किन चाहियो ? मलाई प्रधानमन्त्री हुन मन छ । अर्काे आवाज उठ्यो – अध्यक्षबाट राजीनामा दिनुपर्‍यो । किन ? मलाई अध्यक्ष हुन मन छ । मैले महाधिवेशनमा जानुस् भने । उधार हुँदैन, हातहातै चाहियो, नगद चाहियो भनियो । जतिबेला मैले देशको भूभाग समेटेर नक्सा प्रकाशित गरे, त्यतिबेला यी आवाज आए । नक्सा छापेका कुरा अनुमोदन गरेपछि उहाँहरू आत्तिनुभयो ।’

    प्रतिनिधिसभा विघटन संविधानसम्मत नै रहेको प्रधानमन्त्री ओलीले बताए । ‘संविधान विपरीत विघटन गर्‍यो प्रतिनिधिसभा भन्ने कुरा गर्दैछन्, मैले धेरै ठाउँमा भन्ने गरेको छु, संविधानसम्मत विघटन भएको छ,’ ओलीले भने, ‘म ६४ प्रतिशतको प्रतिनिधित्व गरेकोले विघटन गरेपछि अर्काे कुनै विकल्प छैन । फेरि किनबेच, मोलतोल, अनुचित प्रकारका समीकरण बन्ने भएपछि मैले संसद विघटन गरेको हो । काम गर्न नदिने, अस्थिरतातिर लैजाने भयो ।’

    संविधानको धारा ७६ उपधारा (१) अनुसारको प्रधानमन्त्रीले उपधारा ७ अनुसार र धारा ८५ अनुसार विघटन गरेको प्रधानमन्त्री ओलीले बताए । ‘संसद विघटन नभएको भए बाँकी डेढ वर्षमा लोकतन्त्रको हुर्मत लिने काम हुन्थ्यो । तसर्थ सोझै जनतामा जानुपर्छ,’ ओलीले भने, ‘कसैलाई लोकप्रिय छौं भन्ने लागेको छ भने जनमतमा आउनुस् । मान्छे हेर्ने मात्रै किन ? गनौंला नि बाकसबाट मतपत्र निकालेर । कसले कति प्रत्यक्षमा ल्याउँछ ? ५० लाख हामी समानुपातिक मत ल्याउँछौं, घटाएर देखाउनुस् । प्रत्यक्षतर्फ बहुमत सिट ल्याउँछौं, त्यो घटाएर देखाए भयो । किन आत्तिएको चुनावबाट ?’

    प्रधानमन्त्री ओलीले निर्मला पन्त र भागरथी भट्टका बलात्कारी हत्यारालाई अदालतको कठघरामा उभ्याइने बताएका छन् । ‘यस्ता हत्याकाण्डका अपराधीलाई पानीमुनि गए पनि छोडिने छैन, विश्वका कुनै भागमा गए पनि छाडिने छैन । खोजेर ल्याइने छ,’ उनले भने, ‘१ वर्ष उम्केला, १ वर्ष डरले थर्कमानको जिन्दगी बिताएर लुके पनि सजाय घट्ने छैन, पूराको पूरा सजाय गराइने छ । केही समयभित्रै भागरथीका हत्याराहरू र निर्मला हत्याकाण्डका अपराधीलाई अदालतका कठघरामा उभ्याएर सजाय दिनेछौं ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend