बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

नेकपा स्थानीय तहसम्मै छिन्नभिन्न, ओली र प्रचण्डमध्ये को बलियो ? सबै लेखाजोखा !

नेकपा स्थानीय तहसम्मै छिन्नभिन्न, ओली र प्रचण्डमध्ये को बलियो ? सबै लेखाजोखा !

  • मिडिया डबली
  • शनिवार, फाल्गुण १ २०७७

  • 9.2K
    SHARES

  • नेकपा स्थानीय तहसम्मै छिन्नभिन्न, ओली र प्रचण्डमध्ये को बलियो ? सबै लेखाजोखा !

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको असर देशभरिका स्थानीय तहमा प्रत्यक्ष रुपमा देखिएको छ ।

    पार्टी विभाजनपछि नेकपाका स्थानीय तह प्रमुख र उपप्रमुखहरु दुवैतिर बाँडिएका छन् । नेकपा साविक एमाले र माओवादी केन्द्रबाट निर्वाचित ३८८ पालिका प्रमुख र ४३८ उपप्रमुखको पक्षधरतालाई विश्लेषण गरिएको छ ।

    समग्रमा स्थानीय तहमा पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल पक्षभन्दा केपी शर्मा ओली पक्षका पक्षमा उभिने प्रमुख र उपप्रमुख बढी देखाएको छ । तर कतै खुलिनसकेका २४ प्रमुख र २७ उपप्रमुख जुन पक्षतिर लाग्छन्, त्यो समूह बलियो हुने सम्भावना देखिएको छ ।

    प्रदेशगत रुपमा हेर्ने हो भने प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पालिका प्रमुखमा ओली पक्ष बलियो देखिन्छ । प्रदेश २, बाग्मती र कर्णालीमा प्रचण्ड–नेपाल पक्षका पालिका प्रमुख बढी छन् । ४३८ स्थानीय तहमा नेकपाका उपप्रमुख रहेकामा ओली पक्ष प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशमा मात्रै बलियो छ, प्रदेश २, बाग्मती, लुम्बिनी र कर्णाली प्रदेशमा धेरै उपप्रमुख प्रचण्ड–नेपालतिर लागेका छन् ।

    नेकपाका ३८८ पालिका प्रमुखमध्ये १८९ जना ओली पक्षमा र १७४ जना प्रचण्ड–नेपाल पक्षमा देखिएका छन् । २४ जना पालिका प्रमुख कतै खुलेका छैनन् । १ जना पालिका प्रमुख पार्टी एकताका पक्षमा अभियान सुरू गरेका नेता वामदेव गौतमको समूहमा छन् ।

    ४३८ स्थानीय तहमा रहेका नेकपाका उपप्रमुखमध्ये २२० जना ओली पक्षमा र १९० जना प्रचण्ड–नेपाल पक्षमा देखिएका छन् । २७ जना उपप्रमुख कतै खुलेका छैनन् भने १ जना उपप्रमुख गौतमका पक्षमा उभिएका छन् ।

    तथ्यांक विश्लेषण गर्दा तत्कालीन एमालेबाट निर्वाचित पालिका प्रमुख र उपप्रमुखमध्ये अधिकांश नेकपा विभाजनपछि ओली र प्रचण्ड–नेपाल पक्षमा बाँडिएका छन्, ३० जना पालिका प्रमुख भने ‘पर्ख र हेर’को अवस्थामा छन् । तर तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित पालिका प्रमुखमध्ये २ नम्बर प्रदेशका ४ र लुम्बिनी प्रदेशका १ जनाबाहेक सबैजसो प्रचण्ड–नेपाल पक्षमै देखिएका छन् ।

    स्थानीय निर्वाचनका बेला तत्कालीन एमालेमा अध्यक्ष ओली टिकट वितरणमा प्रभावी देखिएका थिए । त्यसैले निर्वाचित पालिका प्रमुख र उपप्रमुखमा ओलीको पल्ला भारी भएको हुनसक्छ ।

    पालिका प्रमुख र उपप्रमुख दुबै नेकपाका भएका केही स्थानीय तहमा प्रमुख एउटा र उपप्रमुख अर्को पक्षमा विभाजित भएका छन् । जस्तो कि पाँचथरको याङवरक गाउँपालिकाका प्रमुख र उपप्रमुख दुबै नेकपाका थिए । विभाजनपछि प्रमुख प्रचण्ड–नेपाल पक्षमा उभिए भने उपप्रमुख ओली पक्षमा रहेका छन् ।

    पार्टी विभाजनको असर स्थानीय तहमा देखिएको अर्को प्रतिनिधि उदाहरण नुवाकोट हो । जिल्लाको तारकेश्वर गाउँपालिकाका प्रमुख र उपप्रमुख दुबैमा तत्कालीन एमालेले जितेको थियो तर अहिले प्रमुख ओली र उपप्रमुख प्रचण्ड–नेपाल पक्षमा विभाजित भए । अर्को उदाहरण हो बझाङको जयपृथ्वी नगरपालिका । त्यहाँ तत्कालीन एमालेबाट निर्वाचित प्रमुख वीरेन्द्रबहादुर श्रेष्ठ प्रचण्ड–नेपाल पक्षमा लागे भने उपप्रमुख जुनाकुमारी जाग्री ओली पक्षमा छिन् ।

    यस्तो उदाहरणले विभाजित राजनीतिको अनेकन प्रभाव स्थानीय तहको निर्णय प्रक्रियामा प्रत्यक्ष पर्ने देखाएको छ ।

    १ नम्बर प्रदेशका स्थानीय तहमा नेकपाका ७५ जना निर्वाचित प्रमुख छन् । तीमध्ये ६६ जना तत्कालीन एमालेबाट र ९ जना तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित हुन् । पार्टी विभाजन सुरू भएपछि उनीहरुमध्ये ४१ जना ओली पक्षमा र ३१ जना प्रचण्ड–नेपाल पक्षमा देखिएका छन् ।

    तत्कालीन एमालेबाट निर्वाचित ३ जना प्रमुखले कित्ता प्रष्ट पारेका छैनन् । यो प्रदेशका स्थानीय तहमा नेकपाका ९२ जना उपप्रमुख छन् । तीमध्ये ५९ जना ओली पक्षमा उभिएका छन् भने २६ जना प्रचण्ड–नेपाल पक्षमा देखिन्छन् । ७ जना भने तटस्थ रहेका छन् ।

    २ नम्बर प्रदेशको स्थानीय तहमा नेकपाका निर्वाचित ४० जना प्रमुख छन् । यसमध्ये १६ जना ओली पक्षमा लागेका छन् भने १९ जना प्रचण्ड–नेपाल पक्षमा । ५ जना स्थानीय तह प्रमुख भने कतै खुलेका छैनन् । तीमध्ये तत्कालीन एमालेबाट निर्वाचित ४ जना र तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित १ जना रहेका छन् ।

    नेकपाका निर्वाचित ४४ उपप्रमुखमध्ये १८ जना ओली र २२ जना प्रचण्ड–नेपाल पक्षमा लागेका छन् । ४ जना उपप्रमुख कतै खुलेका छैनन् ।

    स्थानीय तहका निर्वाचनमा तत्कालीन एमाले र माओवादी केन्द्रबाट निर्वाचित भएकाहरु पछिल्लो विभाजनपछि एकअर्को समूहमा मिसिएका देखिन्छन् । तत्कालीन एमालेबाट निर्वाचित ३ पालिका प्रमुख अहिले प्रचण्ड–नेपाल पक्षमा उभिएका छन् भने माओवादी केन्द्रबाट निर्वाचित ४ जना पालिका प्रमुख ओली पक्षमा छन् ।

    तत्कालीन एमालेबाट निर्वाचित २० पालिका उपप्रमुखमध्ये ३ जना तटस्थ छन् भने १० जना ओली पक्षमा लागेका छन् । ७ पालिका उपप्रमुख प्रचण्ड–नेपाल पक्षमा छन् । तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित ८ पालिका उपप्रमुख भने प्रचण्डलाई छाडेर ओली पक्षमा उभिन पुगेका छन् । यसरी उभिने उपप्रमुखमध्ये रौतहटका मात्रै ५ जना रहेका छन् ।

    बाग्मती प्रदेशमा नेकपाबाट निर्वाचित ८१ पालिका प्रमुखमध्ये ३६ जना ओली पक्षमा, ३७ जना प्रचण्ड–नेपाल पक्षमा र १ जना गौतमको एकता अभियानका पक्षमा उभिएका छन् । तटस्थ बताउने ७ जना पालिका प्रमुख जुन समूहमा खुलेर लाग्छन्, बाग्मती प्रदेशमा उही समूह स्थानीय तहमा प्रभावी हुने देखिएको छ ।

    प्रदेशमा नेकपाका ८५ जना पालिका उपप्रमुख छन्, जसमध्ये ३८ जना ओली पक्षमा र ४४ जना प्रचण्ड–नेपाल पक्षमा र ३ जना नखुलेका देखिन्छन् ।

    नेकपा एकताअघिको तत्कालीन एमाले र माओवादी केन्द्रबाट निर्वाचित स्थानीय तह प्रमुख र उपप्रमुखलाई छुट्याएर हेर्दा विभाजन कसरी तल्लो तहमा परेको छ भन्ने प्रष्ट बुझिएको छ । प्रदेशमा तत्कालीन एमालेबाट निर्वाचित ६४ पालिका प्रमुखमध्ये ३६ जना ओली पक्षमा खुलेका छन् । ८ जना तटस्थ र अन्य २० जना प्रचण्ड–नेपाल पक्षमा खुलेका छन् ।

    एमालेबाट निर्वाचित ६९ उपप्रमुखमध्ये ३८ जना ओली पक्षमा र २७ प्रचण्ड–नेपाल पक्षमा छन् । ३ जना तटस्थ छन् भने १ पद रिक्त छ । तत्कालीन एमालेबाट निर्वाचित जनप्रतिनिधि विभाजित भए पनि तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित पालिका प्रमुख र उपप्रमुख एक ढिक्का देखिन्छन् । तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित १७ पालिका प्रमुख र १७ उपप्रमुख सबै प्रचण्ड–नेपाल पक्षमा खुलेका छन् ।

    गण्डकीमा ओली पक्ष बलियो देखिन्छ । प्रदेशमा नेकपाका ३९ पालिका प्रमुखमध्ये ओली पक्षमा २८ र प्रचण्ड–नेपाल पक्षमा ८ जना खुलेका छन् । ३ पालिका प्रमुख भने कतै लागेका छैनन् ।

    नेकपाका ४३ पालिका उपप्रमुखमध्ये ३२ जना ओली र ९ जना प्रचण्ड–नेपाल पक्षमा खुलेर लागेका छन् । ३ जना उपप्रमुख खुलेका छैनन् भने १ जना गौतमका साथमा लागेका छन् ।

    प्रदेशमा तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित ५ पालिका प्रमुख र ७ उपप्रमुख सबै प्रचण्ड–नेपाल पक्षमा लागेका छन् तर तत्कालीन एमालेबाट निर्वाचित ३४ पालिका प्रमुखमध्ये २८ जना ओली पक्षमा, ३ जना प्रचण्ड–नेपाल पक्षमा र ३ जना तटस्थ छन् ।

    तत्कालीन एमालेबाट निर्वाचित ३६ उपप्रमुखमध्ये ३० जना ओली पक्षसँग र २ जना प्रचण्ड–नेपाल पक्षमा छन् ।

    लुम्बिनी प्रदेशमा नेकपाका ६२ जना पालिका प्रमुख छन् । विभाजनपछि ३५ जना ओली पक्षमा र २५ जना प्रचण्ड–नेपाल पक्षमा विभाजित भएका छन् । २ प्रमुख तटस्थ देखिन्छन् । नेकपाका ६५ उपप्रमुखमध्ये ३० जना ओली पक्षमा, ३१ जना प्रचण्ड–नेपाल पक्षमा र ४ जना तटस्थ देखिन्छन् । लुम्बिनी प्रदेशमा पनि तत्कालीन एमालेबाट निर्वाचित ४३ जना पालिका प्रमुखमध्ये ३४ जना ओली पक्षमा, ७ जना प्रचण्ड–नेपाल पक्षमा र २ जना तटस्थ देखिएका छन् । तत्कालीन माओवादी केन्द्रबाट १९ जना पालिका प्रमुख निर्वाचित भएका थिए । तीमध्ये १ जना ओली पक्षमा गएका छन् भने १८ जना प्रचण्ड–नेपाल पक्षमै देखिएका छन् ।

    तत्कालीन एमालेबाट निर्वाचित ४३ उपप्रमुखमध्ये ३० जना ओली पक्षमा, १० जना प्रचण्ड–नेपाल पक्षमा लागेका छन् भने ३ जना खुलिसकेका छैनन् । तत्कालीन माओवादी केन्द्रबाट २२ जना उपप्रमुखमा निर्वाचित भएका थिए । तीमध्ये २१ जना प्रचण्ड–नेपाल पक्षमा र १ जना तटस्थ रहेका छन् ।

    कर्णाली प्रदेशमा नेकपाका ५२ पालिका प्रमुख रहेका छन् । तीमध्ये १४ जना मात्रै ओली पक्षमा देखिएका छन् । ३६ जना प्रचण्ड–नेपाल पक्षमा र २ जना तटस्थ देखिएका छन् ।

    नेकपाका ५८ उपप्रमुखमध्ये १७ जना ओली पक्षमा, ३८ जना प्रचण्ड–नेपाल पक्षमा र २ जना तटस्थ छन् । १ उपप्रमुख नेपालबाहिर रहेकी छन् ।

    तत्कालीन एमालेबाट २८ जना पालिका प्रमुखमा निर्वाचित भएका हुन् । पार्टी विभाजनपछि १४ जना ओली पक्षमा, १२ जना प्रचण्ड–नेपाल पक्षमा र २ जना तटस्थ देखिएका छन् । तत्कालीन एमालेबाट निर्वाचित ३१ उपप्रमुखमध्ये १७ जना ओली पक्षमा छन् भने १२ जना प्रचण्ड–नेपाल पक्षमा र २ जना तटस्थ छन् ।

    तत्कालीन माओवादी केन्द्रबाट २४ जना पालिका प्रमुख निर्वाचित भएका थिए, जसमध्ये २३ जना प्रचण्ड–नेपाल पक्षमै छन् भने १ जना तटस्थ देखिन्छन् । तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित २७ उपप्रमुखमध्ये २६ जना प्रचण्ड–नेपाल पक्षमै छन् भने १ जना नेपालबाहिर रहेकी छन् ।

    सुदूरपश्चिम प्रदेशमा नेकपाका ३९ जना पालिका प्रमुखमध्ये १९ जना ओली पक्षमा, १८ जना प्रचण्ड–नेपाल पक्षमा र २ जना तटस्थ देखिएका छन् । ५१ जना उपप्रमुखमध्ये २६ जना ओली पक्षमा, २० जना प्रचण्ड–नेपाल पक्षमा र ५ जना तटस्थ छन् ।

    प्रदेशमा तत्कालीन एमालेबाट ३९ जना पालिका प्रमुख निर्वाचित भएका हुन्, जसमध्ये १९ ओली र १८ जना प्रचण्ड–नेपाल पक्षमा लागेका छन् भने २ जना तटस्थ छन् । तत्कालीन एमालेबाट निर्वाचित ४२ उपप्रमुखमध्ये २४ जना ओली पक्षमा र १३ जना प्रचण्ड–नेपाल पक्षमा लागेका छन् । तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित १० पालिका प्रमुख सबै प्रचण्ड–नेपाल पक्षमा उभिएका छन् भने ९ उपप्रमुखमध्ये २ जना ओली पक्षमा र अरु प्रचण्ड–नेपाल पक्षमै रहेका छन् । आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend