काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले संसद् विघटनमार्फत् संविधानको हत्या गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई खतरामा पारेको आरोप लगाएको छ ।
बुधवार राजधानीमा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्ड–नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले संविधान मिच्ने, लोकतन्त्रको हत्या गर्ने र जनअधिकार कुल्चनेलाई जनताले ललकार्ने बताउँदै ओली लोकतन्त्रको हत्या गर्ने अपराधी चरित्रको भएको आरोप लगाएका हुन् ।
वक्ताहरुले विरोध सभामार्फत लोकतन्त्र, संविधान र स्वतन्त्रताको रक्षाका लागि आफूहरु सडकमा आएको जनाउ दिएका छन् । ‘यो कुनै पदको लडाइँ होइन, कसैलाई प्रधानमन्त्री बनाउने वा कुर्सीको लडाइँ होइन । यो केपी प्रवृत्ति विरुद्धको लडाइँ हो, लोकतन्त्र, संविधान र स्वतन्त्रता रक्षाको लडाइँ हो,’ दुबै अध्यक्षले भनेका छन् ।
प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर संविधानको हत्या गरेको तथा प्रतिगमनमार्फत निरंकुश शासन गर्न खोजेको आरोप लगाउँदै दुबै अध्यक्षले ओली प्रवृत्ति कहाँबाट जन्म्यो, हुक्र्यो, त्यसबारे आत्मसमीक्षा गर्ने उद्घोष गरे । दुबै अध्यक्षले संसद् पुनःस्थापनाको विकल्प नभएको र संसद् पुनस्र्थापना नभए नेपाली जनताले ठूलो आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
आमसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको लोकतन्त्रको हत्या गर्ने अपराधी चरित्र नेपाली जनताले बुझिसकेको बताएका छन् । प्रचण्डले निर्णय जनताको पक्षमा नआए आँधीहुरी आउने दाबी गरेका छन् ।
‘आँधीहुरी आउँछ कसैले थाम्न सक्दैन । हामी सानो समूहले विद्रोह गर्दा पहिला के भयो ? अहिले लाखौं जनता सडकमा उत्रे के हुन्छ,’ प्रचण्डले प्रश्न गरे ।
ओलीको चरित्रमा सुधार नआए सिंहदरबार र बालुवाटार घेरिने प्रचण्डको भनाइ थियो । ‘आज हामीले आयोजना गरेको समाभा ५ लाख मानिस उपस्थित भएको अनुमान छ । केपी ओलीले केही दिनअघि सभा कस्तो हुन्छ हामी देखाउँछौं भनेर भन्नुभएको थियो । केपीजी देख्नुभयो सभा कस्तो हुन्छ ? देख्नुभयो विरोध र प्रदर्शन कस्तो हुन्छ ? अझै पनि लाखौं जनताको यो उपस्थिति देख्नुभएन भने म तपाईंलाई चुनौती दिन चाहन्छु, हेर्नुहोला, केही दिनपछि सिंहदरबार र बालुवाटार घेर्न लाखौंलाख जनता आउनेछन्,’ अध्यक्ष प्रचण्डले भने ।
प्रचण्डले ओलीलाई ठग भएको आरोपसमेत लगाएका छन् । ओलीले चितवनलाई रामको जन्मभूमि भनेको सन्दर्भ जोड्दै प्रचण्डले भने, ‘ओली, त्यो नाटक हो । मैले ३ वर्षमा ओलीलाई चिनिसकें । वैज्ञानिक अनुसन्धान गरौं, म चुनौती दिन्छु ।’
प्रचण्डले प्रतिगमन, निरंकुशता र लोकतन्त्रको हत्या गर्ने केपी ओली चरित्र जनताले बुझिसकेकोले जरुरी पर्यो भने बालुवाटार र सिंहदरबार घेर्ने ठूलो आमसभा हुने चेतावनी दिए । ‘अझै पनि लाखौं जनताको उपस्थिति र यो विरोध, आक्रोश, आवेग, पीडालाई बुझ्नुभएन भने म तपाईलाई चुनौती दिन्छु, सिंहदरबार घेर्न र बालुवाटार घेर्न आउने छन्, प्रतिगमन, निरंकुशताको पक्षधर, लोकतन्त्रको हत्या गर्ने तपाईंको चरित्र जनताले बुझिसकेको छ,’ प्रचण्डले भने ।
अध्यक्ष प्रचण्डले निर्वाचन आयोगको लक्षण गतिलो नदेखिएको बताएका छन् । प्रधानमन्त्री ओलीले थर्काएपछि निर्वाचन आयोगले गतिलो लक्षण नदेखाएको बताउँदै प्रचण्डले थपे, ‘निर्वाचन आयोगले राम्रो लक्षण देखाइरहेको छैन । ७० प्रतिशतको बहुमत देखाउँदा हिसाब नगर्ने तर केपीले गएर धम्क्याउने बित्तिकै लत्रिने ? कसैले सामान्य नठाने हुन्छ, खेलाँची कसैले नठाने हुन्छ ।’ ७० प्रतिशत केन्द्रीय सदस्यको हिसाब नगरी केपीले धम्क्याउन बित्तिकै त्यसैको लहैलहैमा आयोगले लक्षण राम्रो नदेखाएको प्रचण्डको भनाइ थियो ।
आमसभालाई सम्बोधन गर्दै अर्का अध्यक्ष नेपालले मदन भण्डारीको नाम बिर्सिएर ओलीले पशुपतिनाथको मन्त्र जप्दै हिँडेको बताए । पशुपतिनाथले अपराधीलाई माया नगर्ने भएकाले पशुपतिनाथको शरणमा जानु बेकार भएको समेत उनले बताए ।
‘केपीजी, तपाईले मदन भण्डारीको नाम जप्ने गर्नुहुन्छ । अब मदन भण्डारीको नाम बिर्सेर पशुपतिनाथको मन्त्र जप्न सुरु गर्नुभएको छ । पशुपतिनाथले देशमा असल काम गर्छ, जसले धर्म गर्छ उसलाई मात्रै राम्रो गर्छन् । जसले पाप गर्छ उसलाई पशुपतिले पनि राम्रो गर्दैनन् । केपी ओलीलाई यो कुरा चेतना भया, संविधान मिच्ने मिचाहा, लोकतन्त्रको हत्या गर्ने हत्यारा र जनअधिकार कुल्चनेलाई हेर्दैनन्,’ उनले भने ।
नेपालले नेपाल कम्युनिस्ट पार्टीको पहिलो अध्यक्ष केपी ओली नभएको जिकिर गर्दै विधान र दस्तावेजमा कहीँ पनि पहिलो र दोस्रो अध्यक्षको व्यवस्था नभएको दाबी गरे । ‘कुनै विधानमा पहिलो र दोस्रो अध्यक्षको व्यवस्था छैन । केन्द्रीय कमिटीको बैठकबाट ओलीलाई हटाइसकिएको छ,’ उनले भने ।
ओलीले मंगलवार निर्वाचन आयोगमा गएर चुनावी प्रक्रिया सुरू भइसकेको हुँदा आयोगले अब कुनै पार्टीको पनि विवादमा प्रवेश गर्न नहुने भनी दिएको अभिव्यक्तिको समेत नेपालले आलोचना गरेका छन् । ‘अस्ति निर्वाचन आयोगलाई धम्क्याएर के भने भने म पहिलो अध्यक्ष हुँ, पहिलो अध्यक्ष नेकपाको होइन, ओली गुटको होला, बालकोटको होला, नेकपाको पहिलो अध्यक्ष केपी ओली होइनन्, उनलाई पुस ७ गते बसेको केन्द्रीय कमिटी बैठकले हटाइसकेको छ,’ उनले भने । नेपालले आफू पहिलो अध्यक्ष भन्ने ओलीको दाबीको कुनै अर्थ नभएको बताएका छन् ।
पार्टीको विधान, सर्कुलर र निर्णयलगायत कुनै पनि दस्तावेजमा ओलीलाई पहिलो अध्यक्ष भनेर नलेखिएको नेपालको भनाइ छ ।
‘ओलीले आफैं म पहिलो अध्यक्ष भनेर हुँदैन, कुनै पनि दस्तावेजमा उनलाई पहिलो अध्यक्ष भनेर लेखिएको छैन,’ उनले भने । अध्यक्ष नेपालले जारी पार्टीको आधिकारिकता विवाद पार्टी केन्द्रीय कमिटीको बहुमतका आधारमा टुंग्याउनुपर्ने बताएका छन् ।
‘हाम्रो पार्टीका ४४० जना केन्द्रीय सदस्यलाई मार्चपास गराऊँ, ओलीको पक्षमा १०० जना हुनेछन् भने हाम्रो पक्षमा ३०० जना,’ उनले भने । निर्वाचन कानुनले नै एउटै पार्टीभित्र नाम, चिह्न वा छाप आदिबारे विवाद भयो भने बहुमतको आधारमा निर्णय हुने लेखेको बताउँदै उनले आयोगले सोहीअनुसार काम गर्नुपर्नेमा जोड दिए ।
ओली प्रतिगमनका प्रतीक भएको र ज्ञानेन्द्र पथमा अगाडि बढिरहेको आरोप लगाउँदै उनले ओलीलाई गणतन्त्र र संघीयताको माया नभएको दाबी गरेका छन् ।
उनले देशमा बलात्कारका घटना बढेको भन्दै बलात्कृत भएका चेलीहरूलाई ओलीले न्याय दिन नसकेको र ओलीलाई धिक्कारेको आरोप समेत लगाएका छन् । ‘केपी ओलीको शासनकालमा ७ हजार १७० नेपाली चेली बलात्कृत भएका छन् । ती चेलीहरुको आत्माले भनिरहेको छ, ओली तिमीले बलात्कारीमध्ये कति जनालाई सजाय दिएका छौ ? तिमीजस्ता मान्छेलाई पार्टीले त्यो पदमा पुर्यायो तर तिमीले लोकतन्त्र समाप्त पार्न लागेका छौ । तिमीलाई धिक्कार छ । आमनेपाली जनताले भनेका छन्, केपी ओलीलाई धिक्कार छ । पशुपतिनाथले पनि भन्लान् केपी ओलीलाई धिक्कार छ,’ उनले भने ।
अध्यक्ष नेपालले आफूहरुले कसैलाई प्रधानमन्त्री बनाउन वा कुर्सीका लागि यो आन्दोलन नगरेको, कोही व्यक्तिप्रति लक्षित नगरेको र ओली प्रवृत्तिविरुद्ध भएको स्पष्ट पारेका छन् ।
कार्यक्रममा वरिष्ठ नेता झलनाथ खनालले देशभरबाट केपी ओली समूहको पराजय सुरू भएको दाबी गरेका छन् । खनालले प्रतिनिधि सभा पुनःस्थापना हुने र त्यसपछि गरिने आमनिर्वाचनबाट ओली समूह पराजित हुने दाबी समेत गरेका छन् । खनालले प्रधानमन्त्री ओलीको प्रतिगमनविरुद्ध सिंगो देश आन्दोलित भइरहेको बताएका छन् ।
ओलीले प्रतिगमन नसच्याए २०६२/६३ भन्दा ठूलो अन्दोलनको आगो दन्किने खनालले बताए । ‘पत्रकारहरु आन्दोलित भएका छन्, नागरिक समाज आन्दोलित भएको छ । यो अन्दोलन सुनिएन भने २०६२/६३ को जनआन्दोलनभन्दा ठूलो आगो दन्किनेवाला छ । त्यो अन्दोलनको आगोले केपी ओलीको तानाशाहीलाई समाप्त पार्नेछ,’ उनले भनेका छन् ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले ओली फासीवादी भएको आरोप लगाएका छन् । ‘केपी ओली फासिस्ट हुन् । केपी ओलीले नेपालमा फासिवादको अभ्यास गर्दैछन् । हामी नेपालमा कुनै पनि हालतमा फासीवाद सहने छैनौं,’ श्रेष्ठले भने ।
संविधानविरोधी चुनाव नचाइएको उनले बताएका छन् । ‘संविधानविरोधी चुनाव हामीलाई चाहिएको होइन । यो चुनाव केपी ओलीले वास्तवमा गर्नका लागि घोषणा गरेका होइनन् । संविधान र लोकतन्त्रविरोधी चुनावको हामी धज्जी उडाउँछौं,’ श्रेष्ठले भने । नेता श्रेष्ठले संयुक्त आन्दोलनका लागि जनता समाजवादी पार्टी, नेपाली कांग्रेस लगायतका राजनीतिक दलसँग छलफल गरिरहेको समेत बताए ।
कार्यक्रममा स्थायी कमिटी सदस्य रघुजी पन्तले प्रधानमन्त्री केपी ओली जिउँदा जनता बिर्सेर पशुपतिनाथलाई खुशी पार्न लागेको बताए । ‘हरेक भाषण र मन्तव्यको अन्त्यमा पशुपतिनाथ गुहार्ने राजा वीरेन्द्रको वंशनाश भयो, पशुपतिले बचाएनन्, त्यसैगरी हरेक सम्बोधनको अन्त्यमा पशुपतिनाथले हामी सबैको कल्याण गरुन् भन्ने ज्ञानेन्द्र नारायणहिटीबाट नागार्जुन पुग्नुपर्यो,’ उनले भने । ओलीले पनि पशुपतिनाथको मन्दिरमा सुनको जलारी बनाएर पशुपतिनाथलाई खुशी पार्नुभन्दा बोल्ने जनताको पीडा बुझ्नुपर्ने उनको भनाइ थियो तराईका गरीब जनता शीतलहरमा कठ्यांग्रिरहेका र पहाडमा गरीबीका कारण बालबच्चासहित महिलाले नदीमा हाम फालेका बताउँदै उनले ओलीले भने देशमा कसैले खान नपाएर मर्नु नपरेको बताएर प्रहसन गरिरहेको टिप्पणी गरेका छन् ।
ओलीले धेरै विकास गरेको भाषण गर्ने गरेको र भाषणकै क्रममा प्रचण्ड–नेपालले काम नै गर्न नदिएको बताएर थप प्रहसन गरेको पन्तले बताए ।
कार्यक्रममा स्थायी कमिटी सदस्य जनार्दन शर्माले शान्तिपूर्ण आवाज नसुनिए जनता कुनै पनि बेला विद्रोहमा उत्रन सक्ने बताएका छन् । ‘जनताको आवाज सुनिँदैन भने आज यहाँ भइरहेको शान्तिपूर्ण आन्दोलन कुन दिन विद्रोहमा उत्रनेछ म भन्न सक्दिनँ,’ शर्माले भने ।
विरोध सभामा मुखमा टेप लगाएर उपस्थित भएकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले लोकतन्त्रमा बोल्न कोही कसैले नरोक्ने बताएकी छन् ।
राष्ट्रपतिजस्तो संस्थाको साख गिराउने काम भएकाले आफूले राष्ट्रपति पदमा रहेकी विद्यादेवी भण्डारीविरुद्ध बोलेको झाँक्रीले बताइन् । निर्वाचन प्रक्रियाबाट राष्ट्रपतिजस्तो पदमा पुगेर निरंकुशताको साक्षी बस्न थालेपछि आफूले त्यसविरुद्ध बोलेको झाँक्रीले बताइन् ।
‘राष्ट्रपतिजस्तो संस्थामा कुनै व्यक्तिले निर्वाचनको प्रक्रियाबाट गएर निरंकुशताको साक्षी बस्छ भने त्यस्ता पात्रको विरुद्धमा बोल्न पाइन्छ । कसले भन्छ बोल्न पाइँदैन भनेर,’ झाँक्रीले भनिन् । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।