काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण निको भइसकेका व्यक्तिहरूलाई समेत कोभिड–१९ विरुद्धको खोप लगाउन आग्रह गरेको छ ।
नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना निको भइसकेका व्यक्तिहरूलाई खोप लगाउन आग्रह गरेका छन् ।
कोरोना निको भएपछि शरीरमा बन्ने एन्टिबडी कति समयसम्म रहन्छ भन्ने यकिन नभएकाले खोप लगाउनु आवश्यक भएको प्रवक्ता गौतमले बताएका छन् ।
सरकारले हाल प्राथमिकतामा रहेका क्षेत्रका व्यक्तिलाई खोप दिइरहेको छ । केही समयपछि निश्चित उमेरका सबैलाई खोप लगाउने सरकारको योजना छ ।
‘निको भइसकेका व्यक्तिमा पनि पुनः संक्रमणको जोखिम रहन्छ । त्यसैले कोरोना भाइरस संक्रमण भई निको भइसकेकाहरूले पनि खोप लगाउनुहोला,’ प्रवक्ता गौतमले भने ।
कोरोना भाइरस संक्रमण निको भएको ४–८ हप्तापछि खोप लगाउन मिल्ने प्रवक्ता गौतमले बताएका छन् ।
सरकारले निर्धारण गरेको प्राथमिकता अनुसार पहिलो प्राथमिकतामा परेका ८२ प्रतिशतले कोरोना खोप लिएको मन्त्रालयले जानकारी दिएको छ ।
हालसम्म खोप लगाएका कुनै पनि व्यक्तिमा गम्भीर खालको असर नदेखिएको मन्त्रालयको दाबी छ । खोप सुरक्षित भएकाले सबैले आफ्नो पालो अनुसार खोप लगाउन डा. गौतमले आग्रह गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।