काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली हालै पशुपतिनाथको मन्दिर गएकोमा आपत्ति जनाएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आवद्ध पत्रकारसँग मंगलवार अन्तर्क्रिया गर्दै प्रचण्डले सोधे, ‘ओलीजी हिन्दू महासंघको अध्यक्ष हुन् कि कम्युनिस्ट पार्टीको अध्यक्ष ?’
‘विगतदेखि नै उहाँको सम्बन्ध, हिमचिम देखिएको छ । उहाँले पशुपतिमा गएर दीप प्रज्वलन गर्ने, ३० करोड हाताहाती जस्तो दिएर जलप लगाउने कुराले के गर्न खोज्नु भएको भन्ने उहाँले नै प्रश्न उठाउनुभएको छ । मेरो निर्वाचन क्षेत्र चितवनमा राम मन्दिर र अयोध्याको कुरा गर्नुभएको छ,’ प्रचण्डले भने, ‘मेरो क्षेत्रमा गएर राम मन्दिर र अयोध्याबारे प्रचण्डले बोलेन भनेर आरोप लगाउनुभएको छ । यो सबैले मान्छेको मनमा प्रश्न उठेकै छन् नि ! नेपाली जनताले प्रश्न उठाएका छन् । केपीजी भनेको के हो ? उहाँ कम्युनिस्ट पार्टीको अध्यक्ष हो कि हिन्दू महासंघको अध्यक्ष हो ?’
प्रधानमन्त्री ओलीले राज्यको तर्फबाट पुरातात्विक अन्वेषण गर्न पहल नगरेर स्टन्ड दिने कोसिस मात्रै गरेको प्रचण्डको आरोप छ । ‘मेरो चुनौती केपीजीलाई के छ भने उहाँ पुरातात्विक अन्वेषण गर्ने, प्रमाणित गर्ने र त्यसको निम्ति राज्यको तर्फबाट पहल गर्नेमा उहाँले सिन्को भाँच्नुभएको छैन,’ प्रचण्डले भने, ‘स्टन्ट दिने कोसिस गरेको मात्रै हाम्रो आपत्ति हो ।’
अदालत र निर्वाचन आयोगमा सेटिङ छ भनेर ओलीका मान्छेले भ्रम फिजाए पनि आफूहरूले सेटिङमा विश्वास नगर्ने प्रचण्डको दाबी छ । संवैधानिक अंगले संविधान र कानून बमोजिम नै फैसला गर्ने विश्वास रहेको प्रचण्डले बताएका छन् ।
‘जसरी बजारमा आम रूपमा चर्चा चल्ने गरेको छ सेटिङ भन्ने । यो कुरा प्रधानमन्त्रीसँग सम्बन्धित मान्छेहरूले तलतलसम्म पुर्याएका छन् कि यो सेटिङमा गरिएको त्यसकारण हाम्रै अनुसार फैसला हुन्छ । सर्वोच्च र निर्वाचन आयोगले पनि हाम्रै अनुसार गर्छ भनेर व्यापक रूपमा प्रचार भएको छ । त्यस्तो हुन सक्दैन । सर्वोच्च अदालत र आयोग स्वतन्त्र ढंगले काम गर्न सक्छन् । हामीलाई सर्वोच्च अदालत र निर्वाचन आयोगप्रति विश्वास छ । सेटिङमा विश्वास छैन,’ प्रचण्डले भनेका छन् ।
प्रधानमन्त्री ओलीको प्रतिगामी कदमविरुद्ध अन्तर्राष्ट्रिय समर्थन जुटाउने कोसिस भइरहेको प्रचण्डले बताएका छन् ।
‘अन्तर्राष्ट्रिय समर्थन जुटाउन हाम्रो अलग–अलग कुरा भइराखेको छ । भारत, चीन, अमेरिका, युरोपियनसँग पनि कुरा भइराखेको छ,’ उनले भने, ‘हामीले सार्वजनिक अपिल पनि गरेका छौं । नेपालमा लोकतन्त्रको हत्या भइरहेको छ । लोकतन्त्रका पक्षमा नेपाली जनतलाई समर्थन चाहियो भनेर औपचारिक अपिल गरेका छौं ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।