काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको लडाइँ अग्रगमन र प्रतिगमनबीचको भएको दाबी गरेका छन् ।
राजधानी काठमाडौंमा सोमवार आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद् बैठकमा बोल्दै प्रचण्डले अहिले लडाइँ पदका लागि नभएर अग्रगमन र प्रतिगमनको भएको दाबी गरे ।
‘हाम्रो लडाइँ पदको लागि होइन, विचार, सिद्धान्त, प्रणालीको लागि हो । तर प्रतिक्रान्ति गर्न क्रान्तिकारी विचारलाई भुत्ते बनाई दिने, क्रान्तिकारी विचारलाई निस्तेज बनाइदिने, क्रान्तिकारी नेतृत्वलाई जति सकिन्छ बदनाम गर्न सक्यो त्यति प्रतिक्रान्तिको आधार बन्दै जान्छ । यो सच्चाइ बुझ्न सकिएन भने हामीले लडाइँ हार्छौ । त्यसकारण यो पदको लडाइँ हैन । अग्रगमन र प्रतिगमनको लडाइँ हो,’ उनले भने ।
प्रचण्डले आफूहरू अहिले जनताको पक्षमा गएको दाबी गर्दै ओली जनताबाट टाढिएको तर्क गरे । ‘हामी जनताको पक्षमा गयौं, हामी संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा गयौं, संविधानको पक्षमा गयौं । सडकमा हामीलाई गर्व छ,’ प्रचण्डले भने, ‘तर केपी लोकतन्त्र, संघीयता, जनताबाट टाढा गए । संविधानलाई घात गर्ने कुत्सित मनासायबाट गए, त्यसकारण उनले हारे ।’
पुस ५ गतेदेखि नै प्रतिगमनविरुद्ध लडाइँ सुरू भएको र अहिले प्रतिगमकारी हार्ने वातावरण बनेको प्रचण्डको दाबी छ । ‘पुस ५ गतेबाट नै प्रतिगमनविरुद्ध लडाइँ सुरू गर्यौं । हामी सडकमा जानुपर्छ भनेर सडकमा आयौं । अहिले नयाँ वातावरण बन्दै गएको छ,’ उनले भने, ‘फेरि नेपाली जनताले जित्नेतिर र प्रतिगमनकारीले हार्नेतिर वातावरण बन्दै गएको छ ।’
अध्यक्ष प्रचण्डले पछिल्लो समय ओली रक्षात्मक भएको दाबी समेत गरे । ‘केपी ओली अब रक्षात्मक भइसके । उनीहरूको अस्तिको धाकधक्कु त धेरै लगाए । तर छिरलेर मान्छे राख्न पनि उनकै सेक्युरिटीले ३०/३५ हजारभन्दा मान्छे थिएनन् भनिदिएपछि उनीहरूभित्र गालीगलौज भएको देखेको छु । तर हामी एकताबद्ध भएर ऐतिहासिक जनप्रदर्शन गर्नुछ,’ प्रचण्डले भनेका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड–नेपाल पक्षले दोस्रो चरणको आन्दोलन गरिरहेको छ । प्रचण्ड पक्षले माघ २८ गते काठमाडौंमा प्रदर्शन गर्ने तयारी गरिरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।