काठमाडौं – स्थानीय व्यवसायीहरूले चीनको अघोषित नाकाबन्दीविरुद्ध रसुवामा प्रदर्शन गरेका छन् ।
व्यवसायीहरूले रसुवागढी भन्सार कार्यालय अगाडि चीनविरुद्ध प्रदर्शन गरेका छन् ।
प्रदर्शनको क्रममा व्यवसायीहरूले व्यवसायीलाई गरिखान देउ, चीन वारिपारि कन्टेनरको सहज आवागमन सुनिश्चित गर, सीमामा बस्ने नेपालीको सुरक्षा सुनिश्चित गर, अन्तर्राष्ट्रिय व्यापार कानूनको पालना गर, व्यापार तथा पारवहन सम्झौता पालना गर, चीनसँग सहज व्यापारको लागि पहल गर सरकार र अघोषित नाकाबन्दी अन्त्य गर भन्दै प्लेकार्डसहित नाराबाजी लगाएका थिए ।
रसुवागढी नाका हुँदै चिनियाँ सामान भित्र्याउनु फलामको चिउरा चपाउनु जस्तो भएको छ । सामान भित्र्याउन सकस भएपछि नेपाली व्यवसायीले चिनियाँ एजेन्टलाई चर्को घुस बुझाउनु परेको थियो । साथै अहिले रसुवागढी–केरूङ नाका हुँदै सामान आउन सकेको छैन ।
केही दिनअघि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चीनको पछिल्लो रवैयाप्रति असन्तुष्टि जनाएका थिए । विभिन्न बहानामा १ वर्षदेखि नेपालसँगको व्यापार रोकेको भन्दै उनले चीनको चर्को आलोचना समेत गरेका थिए ।
पहिले कोभिड र अहिले विभिन्न बहानामा नेपालसँग चीनले १ वर्षदेखि व्यापार रोक्दा त्यसको असर चौतर्फी रूपमा परेको मन्त्री भट्टको भनाइ थियो । १०–१० महिनादेखि सामान रोकिएको बेला कन्टेनरको मूल्य समेत बढाएको भन्दै यो गलत भएको मन्त्री भट्टले बताएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।