काठमाडौं – कोरोना भाइरस संक्रमणको महामारी नियन्त्रण गर्न पर्वतमा अग्रपंक्तिमा खटिएर हालै भारत सरकारले निःशुल्क उपलब्ध गराएको कोरोना खोप लगाएका लाभग्राहीले कुनै असर (साइड इफेक्ट) नदेखिएको जनाएका छन् ।
भारतले निःशुल्क उपलब्ध गराएको खोप पर्वतमा पनि बुधवार लगाइएको थियो । पहिलो चरणमा खोप लगाएकाहरूले असर नदेखिएकाले नडराउन समेत आग्रह गरेका छन् ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर काम गरेकालाई खोप लगाइएको छ । उनीहरूमा खोपको कुनै असर देखिएला वा नदेखिएला भनेर पर्खिरहेका नागरिकबीच खोप लिएकाहरूको अनुभवले अन्य व्यक्तिहरूलाई समेत खोप लगाउन तयार हुन सन्देश दिएको छ ।
अन्य जिल्लामा जस्तै पर्वतमा पनि कोरोना संक्रमणको पुष्टि भएकाहरूलाई ओसारपसार गर्न तथा संक्रमण रहेको अवस्थामा मृत्यु भएकाको शव व्यवस्थापन गर्न अग्रपंक्तिमा रहेर नेपाली सेना खटिएको थियो । यही कारण पहिलो चरणको खोप अभियानमा खोप लगाएका केबलजंग गुल्म पर्वतका सेनानी रमेश थापाले पनि लगाए ।
खोपको प्रभावबारे कुरा गर्दा उनले आफूमा कुनै पनि ‘साइड इफेक्ट’ नरहेको, बरु अब कोरोनालाई जितेर बाँच्न सकिन्छ भन्ने आशा जगाएको अनुभव सुनाए । ‘मसहित सेनाबाट हामी ४ जनाले लगाएका हौं, हामीमा कुनै पनि खालको फरक फिलिङ भएको छैन, नेपालका लागि पहिलो भनेर हामी डराएका छैनौं, किनकि वैज्ञानिकद्वारा परीक्षण गरिएको खोपलाई सरकारले मान्यता दिएर मात्र ल्याएको हो,’ उनले भने, ‘यसले ममा कति शक्ति बढायो भन्ने त भर्खरै थाहा हुने कुरा भएन, यसले गरेको काम बिस्तारै थाहा होला, खोपमा विश्वास गर्नुपर्छ, खोप पाउनु हामी नेपालीको लागि खुशीको कुरा हो ।’
पर्वतमा पहिलो खोप लिएका स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा. भोजराज गौतम पनि खोपले अबको केही दिनमा आफूमा प्रतिरक्षा प्रणालीको थप विकास गर्नेमा ढुक्क भएको बताए । खोपबारे ‘ओरियन्टेसन’ गर्ने जिम्मेवारी नै आफ्नो भएको बताउँदै उनले अरुलाई यसबारे जान्न सजिलो होस् भनेर नै आफूले शुरूमा नै खोप लगाएको बताए ।
‘स्वास्थ्यकर्मीले समेत यो खोप के होला र कसो होला भनेर शंका भइरहेको बेलामा उहाँहरूलाई ढुक्क बनाउनकै लागि पनि मैले शुरूमा नै खोप लिनुपर्ने थियो । पहिलो पटक भएका कारण डर त्रास हुनु अस्वाभाविक पनि होइन,’ उनले भने, ‘अब हामीलाई केही नभएपछि अरुमा पनि आत्मविश्वास बढ्ने छ । अरुलाई पनि अब खोप लगाउन मन लाग्ने छ ।’
विश्व स्वास्थ्य संगठनले खोपको दोस्रो डोज लगाएपछि ७१ प्रतिशत ‘इम्युनिटी पावर’ बढाउँछ भनेकाले त्यसको अनुभव गर्न आफू प्रतीक्षारत रहेको डा. गौतमले बताए । खोप लगाएपछि आफू सुरक्षित छु भन्ने अनुभव भएको बताउँदै उनले खोप लिए पनि ‘हेल्थ प्रोटोकल’ मिच्न भने नहुने सुझाव दिएका छन् । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।