काठमाडौं – भारतको आलोचना गर्दै राष्ट्रवादी नेता भएको ढोङ गर्ने गरेका कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय भारतीयहरूसँग हिमचिम बढाएका छन् ।
भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयललाई बालुवाटारभित्रै स्वागत गरेको विषय आलोचित भएपछि पनि ओलीले बालुवाटारभित्रै थुप्रै नेतालाई स्वागत गरिसकेका छन् । भारतीयहरू ओलीलाई भेट्न बालुवाटार पुग्ने शृंखला ह्वात्तै बढेको छ ।
भारतीय प्रशासक र नेताहरू मात्रै होइन, अब त हुँदाहुँदा भारतीय पत्रकारहरू समेत बालुवाटारभित्रै छिरेर ओलीको अन्तर्वार्ता लिन थालेका छन् । प्रधानमन्त्री ओलीले भारतीय टेलिभिजन च्यानल जी न्यूजलाई बालुवाटारभित्रै अन्तर्वार्ता दिएको सार्वजनिक भएको छ ।
कतिपय मुख्यमन्त्री, सांसद र नेताहरूले ओलीलाई भेट्न नपाएको गुनासो गर्ने गरेपनि भारतीयहरूले भने ओलीलाई भेट्न बालुवाटारभित्र सहजै प्रवेश पाइरहेका छन् ।
भारतीय च्यानल जी न्युजका पत्रकार सुधिर चौधरीले आफ्नो फेसबूकमा प्रधानमन्त्री ओलीसँग अन्तर्वार्ता लिएको सानो भिडियो र फोटो सार्वजनिक गरेका छन् ।
प्रोमो भिडियोमा चौधरीले नेपालले भारतलाई ‘बोस’ मान्न किन इन्कार गरिरहेको छ भन्ने सोधेका छन् । अर्को प्रश्नमा चौधरीले ओलीलाई नेपाल अब भारतसँग नजिक छ कि चीनसँग भन्ने प्रश्न समेत गरेका छन् ।
अन्तर्वार्ता भारतीय समयअनुसार आज सोमबार राति ९ बजे प्रसारण हुने जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।