काठमाडौं – बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस फेला परेपछि त्यहाँबाट नेपाल भित्रिएका २३५ जना नागरिक निगरानीमा राखिएका छन् । १४ जना क्वारेन्टीनमा छन् ।
उनीहरूको स्वाब नमूना संकलन गरी नेपालमा नयाँ भाइरस प्रवेश भए/नभएको अध्ययन गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बेलायतबाट सिधै र अन्य मुलुकबाट बेलायत ट्रान्जिट हुँदै आउने नागरिकलाई निगरानीमा राखिएको जानकारी दिए । स्वास्थ्य मन्त्रालयअन्तर्गत इन्सिडेन्ट कमान्ड सिस्टमको बुधवार बसेको बैठकले नयाँ भाइरसको स्वरुप नेपालमा भित्रिएको छ/छैन भन्नेबारे अध्ययन गर्ने निर्णय गरेको थियो ।
नयाँ भाइरस संक्रमण देखिएसँगै बेलायतबाट हुने उडान र यात्रु आगमनलाई नेपालमा प्रतिबन्ध लगाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत बुधवार रातिदेखि लागू हुने गरी बेलायत र बेलायत ट्रान्जिट भएर आउने यात्रुलाई नल्याउन विभिन्न हवाई सेवालाई सर्कुलर गरेको थियो ।
त्यसअघि नै बेलायतबाट नेपाल भित्रिएकामध्ये केही व्यक्तिको स्वाब संकलन गरी जिन सिक्वेन्सिङद्वारा आनुवंशिक संरचनाको अध्ययन गर्न लागिएको डा. गौतमले बताएका छन् ।
मन्त्रालयले पुस पहिलो साता बेलायतबाट आएका नागरिकले अनिवार्य होटल क्वारेन्टाइनमा बस्नुपर्ने र प्रयोगशालामा स्वाब परीक्षण गर्न आग्रह गरेको छ ।
बेलायतमा असोजमै पहिलो पटक नयाँ भाइरस देखापरेको थियो । अहिले फ्रान्स डेनमार्क, नाइजेरिया लगायत मुलुकमा नयाँ स्वरुपको कोरोना भाइरस देखापरेको छ । यस भाइरसले त्रास बढाएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले बेलायतबाट आएका व्यक्तिको नमूना लिएर जिन सिक्वेन्सिङको प्रक्रिया सुरू गरिने बताए । ‘स्वाब लिइसकिएको छैन । स्वाब लिएको हप्ता/दश दिनभित्र नतिजा आइसक्छ,’ डा. ज्ञवालीले भने । डा. ज्ञवालीका अनुसार दोस्रो पटक गर्न लागिएको आनुवंशिक अध्ययनमा ४०–५० वटा स्याम्पल लिएर अध्ययन गरिँदै छ ।
परिषद्ले आनुवंशिक संरचना अध्ययन गर्दा नेपालमा भेटिएको भाइरस भारत, बंगलादेश र साउदी अरबको भाइरसको प्रकृतिसँग मिल्दोजुल्दो पाइएको थियो । कोरोना भाइरस संक्रमण पुष्टि भएको झण्डै ७ महिनापछि पहिलो पटक १५ वटा नमूना संकलन गरेर जिन सिक्वेन्सिङद्वारा आनुवंशिक अध्ययन गरिएको थियो ।
नयाँ स्वरूपको भाइरस फैलने क्रम तीव्र भएपछि भारत, स्पेन, हङकङसहित ४० भन्दा बढी मुलुकले बेलायतबाट हुने उडान प्रतिबन्ध गरिसकेका छन् । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।