बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

कोरोनाको खोप नेपाल ल्याउन के गर्दैछ सरकार ?

कोरोनाको खोप नेपाल ल्याउन के गर्दैछ सरकार ?

  • मिडिया डबली
  • बिहिवार, पौष २ २०७७

  • 4.4K
    SHARES

  • कोरोनाको खोप नेपाल ल्याउन के गर्दैछ सरकार ?
    फाइल तस्वीर

    काठमाडौं – नेपालमा कोरोना भाइरस विरुद्धको खोप (भ्याक्सिन) आयातका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राविधिक र व्यवस्थापकीय रूपमा तयारी गरे पनि भ्याक्सिन कहिले आउने भन्ने अन्योल छाएको छ ।

    हालसम्म विश्व स्वास्थ्य संगठनले कुनै पनि भ्याक्सिनलाई प्रमाणीकरण गरेको छैन । जसकारण कुन देशले उत्पादन गरेको भ्याक्सिन ल्याउने भन्ने अझै निर्णय हुन सकेको छैन ।

    हालसम्म विभिन्न देशले उत्पादन गरेको भ्याक्सिन परीक्षणका क्रममा छन् ।

    स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा भ्याक्सिन ल्याउन प्राथमिकताका आधारहरू तय गरिएका छन् । सरकारले सुरक्षित, लाइसेन्स प्राप्त, भौतिक संरचना, पूर्वाधारसँग मिल्ने र कम मूल्यलाई आधार मानेर भ्याक्सिन आयात गर्ने तयारी गरेको छ ।

    हालसम्म अमेरिकामा कोरोना भाइरस संक्रमणविरुद्ध आपतकालीन प्रयोगका लागि फाइजर भ्याक्सिनले स्वीकृति पाएको छ । हालसम्म फाइजर भ्याक्सिनले मात्रै बेलायत, बहराइन र अमेरिकामा मात्रै आम मानिसमा प्रयोगका लागि सिफारिस भएको छ । फाइजरले बनाएको भ्याक्सिन माइनस ७० डिग्रीमा राख्नुपर्ने भएकाले यसका लागि आवश्यक भण्डारण पूर्वाधार नेपालसँग नभएको कोभिड भ्याक्सिन प्राविधिक सल्लाहकार समितिका संयोजक समेत रहेका खोप विज्ञ डा. श्यामराज उप्रेतीले बताएका छन् ।

    खोप विज्ञ डा. उप्रेतीका अनुसार लाइसेन्स प्राप्त भ्याक्सिन मात्रै प्रयोग गर्न मिल्छ । ‘नेपालमा ल्याइने भ्याक्सिन भनेको लाइसेन्स प्राप्त भ्याक्सिन नै हो । लाइसेन्स प्राप्त भ्याक्सिन नल्याउनु भनेको फेरि क्लिनिकल ट्रायल गर्नु हो,’ उनले भने ।

    भ्याक्सिन उत्पादन भएको देशको सम्बन्धित नियमनकारी सरकारी निकायले लाइसेन्स दिने व्यवस्था छ । डा. उप्रेतीले भने, ‘भ्याक्सिन भण्डारणको आकलन गरिसकेका छौं । २ देखि ८ डिग्रीमा भण्डारण गर्नुपर्ने भ्याक्सिन आयो भने अहिले भएको कोल्ड चेनले नै पुग्छ, माइनस २० डिग्रीमा राख्नुपर्ने भ्याक्सिन आए केही संरचना थप्नुपर्ने हुन्छ ।’

    सरकारले भ्याक्सिन आयातदेखि लगाउनेसम्मका पूर्वतयारीका कार्यक्रमलाई जारी राखेको छ । डा. उप्रेतीका अनुसार भ्याक्सिन कसलाई लगाउने भनेर प्राथमिकीकरण भइसकेको छ । भ्याक्सिन भण्डारणको एस्सेसमेन्ट भएको छ । भ्याक्सिन राख्ने कोल्ड चेनको विस्तार, आवश्यक निर्देशिका, संरचना, भ्याक्सिन आएपछि कसले पहिले पाउँछ भन्ने जोखिमका आधारमा वर्गीकरण गर्ने कार्य भएको छ ।

    सरकारलाई कोभ्याक्समार्फत २० प्रतिशत जनतालाई पुग्ने भ्याक्सिन उपलब्ध हुनेछ भने बाँकी आवश्यक खोप सरकारले खरिद गर्नुपर्नेछ । हालसम्म २०० भन्दा बढी कम्पनीले उत्पादन गरेका भ्याक्सिन परीक्षणका क्रममा रहेका छन् । सरकारले १५ वर्षमाथिका ७२ प्रतिशत जनसंख्यालाई भ्याक्सिन उपलब्ध गराउने योजना बनाएको छ । सरकारले हाल जनसंख्याको ७२ प्रतिशतलाई कोभिड १९ विरुद्धको खोप लगाउने योजनाअनुरूप काम गरिरहेको छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोभिड–१९ खोपसम्बन्धी प्राविधिक सुझाव दिन विज्ञ सल्लाहकार समिति गठन भई आवश्यक काम भइरहेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले भने, ‘खोपको भण्डारण र सुरक्षाका लागि आवश्यक क्षमता मूल्यांकन लगायतका कार्य गरिएको छ । आवश्यक चिस्यान भण्डारणका लागि प्रस्ताव तयार भइसकेको छ ।’

    कोभिड–१९ खोपसम्बन्धी प्राविधिक कार्ययोजना तयारीका कामलाई अघि बढाइएको छ । खोप खरिद गर्न आवश्यक रकमको व्यवस्था गर्न अर्थ मन्त्रालयमा प्रस्ताव पठाइसकिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

    सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले नेपालमा भ्याक्सिन आइहाले त्यो ट्रायलका रूपमा हुने बताए । ‘नेपालमा कोरोना विरुद्धको भ्याक्सिन आउनु सुखद कुरा हो । तर अन्य देशबाट आयात गरिएको भ्याक्सिन यत्तिकै प्रभावकारी हुन्छ भनेर भन्न सकिँदैन, हेर्नैपर्ने हुन्छ,’ उनले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७१०:०९:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend