बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

आरडीटी जस्तै गलत रिपोर्ट दिने ‘एन्टिजेन’ धन्दामा सरकार, बढ्यो कोरोनाको जोखिम !

आरडीटी जस्तै गलत रिपोर्ट दिने ‘एन्टिजेन’ धन्दामा सरकार, बढ्यो कोरोनाको जोखिम !

  • मिडिया डबली
  • बिहिवार, मंसिर २५ २०७७

  • 4.8K
    SHARES

  • आरडीटी जस्तै गलत रिपोर्ट दिने ‘एन्टिजेन’ धन्दामा सरकार, बढ्यो कोरोनाको जोखिम !

    काठमाडौं – एन्टिजेन विधिबाट स्वाब परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएकाको पीसीआर गर्दा करीब एकतिहाइमा पोजेटिभ देखिएको छ ।

    काठमाडौंको कोरोना हटस्पटमा लक्षण भएका ११० जनाको एन्टिजेन विधिबाट गरिएको स्वाब परीक्षणमा नेगेटिभ देखिए पनि पीसीआर गर्दा ३२ जनालाई पोजेटिभ देखिएको हो । 

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले एन्टिजेनको विश्वसनीयता र समुदायमा कोरोनाको अवस्था पत्ता लगाउन ३ हजार जनाको परीक्षण गर्ने योजना बनाए पनि १ हजार ४४५ जनाको मात्रै परीक्षण भएको थियो । परीक्षण गरिएकामध्ये ११५ जनालाई पोजेटिभ देखिएको थियो । लक्षण भएका ११० जनाको रिपार्ट भने नेगेटिभ थियो । उनीहरूको पीसीआर गरिएको थियो ।

    ‘पीसीआर गर्दा एन्टिजेनमा नेगेटिभ देखिएकामध्ये २९ प्रतिशतको रिपोर्ट पोजेटिभ आयो,’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका एक प्राविधिकले भने । काठमाडौं महानगरपालिका–४ धुम्बाराही क्षेत्रमा कात्तिक १५ गते लक्षण भए पनि २० जनाको रिपोर्ट नेगेटिभ देखिएको थियो । पीसीआर गर्दा ७ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । काठमाडौं–७ मा एन्टिजेनमा नेगेटिभ देखिएका ३ जनाको पीसीआर गर्दा २ जनामा पोजिटिभ पाइयो ।

    काठमाडौं–९ सिनामंगल क्षेत्रमा लक्षण भएका तर एन्टिजेनमा नेगेटिभ देखिएका १२ जनाको पीसीआर गर्दा ५ जनालाई कोरोना पोजेटिभ देखियो । कात्तिक १५ गते ६९६ जनाको एन्टिजेन गर्दा ४३ जनालाई पोजेटिभ देखिएको थियो । त्यसमा २२ जना पुरुष र २१ जना महिला थिए । कात्तिक १७ गते बानेश्वर, बुद्धनगर, बल्खु, कुलेश्वर, नयाँबजार, बालाजु क्षेत्रमा ७४९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । उनीहरूमध्ये ७२ जनालाई पोजेटिभ देखिएको थियो । त्यसदिन एन्टिजेन नेगेटिभ देखिए पनि लक्षण भएका ७५ जनाको नमूना पीसीआरका लागि संकलन गरिएको थियो । उनीहरूमध्ये १८ जनामा पीसीआरले कोरोना देखायो ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले एन्टिजेन परीक्षणमा नेगेटिभ देखिएकालाई सम्भावित नेगेटिभका रूपमा मात्रै लिनुपर्ने बताइन् । ‘पोजेटिभ देखिएका सबैलाई पोजेटिभ नै मानिन्छ । तर नेगेटिभ आएकालाई पूरै नेगेटिभ मान्दैनौं, सम्भावित नेगेटिभ मान्छौं,’ उनले भने, ‘त्यसैले लक्षण भएकाको एन्टिजेनमा नेगेटिभ देखिए पनि पीसीआर गरिएको हो । पोजेटिभ देखियो भने अन्यथा मान्नु हुँदैन ।’

    एन्टिजेनमा पोजेटिभ देखिएका ११५ जनाको पीसीआर गर्दा १ जनाको मात्रै नेगेटिभ देखिएको छ ।

    कात्तिक १८ गते बुद्धनगरमा एन्टिजेन परीक्षणमा पोजेटिभ देखिएका १ जनाको पीसीआरमा पोजेटिभ देखिएको हो । ‘एन्टिजेन पोजिटिभ भएकाको पीसीआर गर्दा नेगेटिभ हुने सम्भावना न्यून हुन्छ । भइहाल्यो भने पनि कुनै कुनैमा मात्रै हो,’ डा. झाले भनिन्, ‘एन्टिजेनको सेन्सिटिभिटी ८० प्रतिशतसम्म हुन्छ ।’ विश्व स्वास्थ्य संगठनले पनि सेन्सिटिभिटी ८० प्रतिशतभन्दा माथि भएका किटको मात्रै प्रयोग गर्न सकिने मापदण्ड तय गरेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पनि नेपालमा प्रयोग गर्न सकिने १० वटा एन्टिजेन किटको सूची तयार गरेको छ ।

    ‘डब्लूएचओ, एफडीए र मान्यता प्राप्त अन्य निकायले अनुमति दिएको किट हामीले सूचीकरण गरेका हौं, तिनैबाट मात्रै एन्टिजेन परीक्षण गराउनुपर्ने हुन्छ,’ डा. झाले भनिन्, ‘अहिले कुन किट प्रयोग भएको हो, थाहा भएन ।’ एनआरएनए जापानले सहयोगमा उपलब्ध गराएको किटबाट काठमाडौंमा परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

    संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले एटिन्जेनमा सेन्सिटिभिटी अलि नदेखिएको बताए । ‘एन्टिजेनले २० प्रतिशतभन्दा बढी नै संक्रमित पत्ता लगाउन सकेन । यस्तो बेला एन्टिजेन परीक्षण गर्दा महामारी नियन्त्रण गर्न गाह्रो हुन्छ,’ उनले भने, ‘पीसीआर पुर्‍याउन नसक्ने ठाउँमा जहाँ संक्रमण फैलियो, त्यहाँ संक्रमितको पहिचान नगरी नहुने भयो भने मात्रै प्रयोग गर्न सकिन्छ । पीसीआरको सहज पहुँच भएको ठाउँमा एन्टिजेन प्रयोग गर्नु हुँदैन ।’ एन्टिजेन गर्दा नेगेटिभ देखिएकाको फेरि पीसीआर गर्दा राज्यलाई थप आर्थिक दायित्व पर्ने उनले बताए ।

    ईडीसीडीका निर्देशक डा. वासुदेव पाण्डेले एन्टिजेनको प्रयोग यसरी समुदायमा भन्दा पनि समूह र नाकामा गर्नुपर्ने बताए । एन्टिजेनमा नेगेटिभ र पीसीआरमा पोजेटिभ भएको प्रतिशतबारे छलफल भइरहेको उनले बताए । ‘आगामी दिनमा यसलाई कहाँ र कसरी प्रयोग गर्ने भन्नेमा पनि थप छलफल गर्नुपर्ने देखियो,’ उनले भने, ‘यसको रिपोर्ट के आयो भन्नेभन्दा पनि यो किट कहाँ बनेको हो भनेर हेर्नुपर्छ ।’ एन्टिजेन पीसीआरको सट्टा प्रयोग गर्ने नभई छिटो नतिजा थाहा पाउन मात्रै प्रयोग हुने उनले बताएका छन् ।

    सरकारले तय गरेको मापदण्डमा एन्टिजेन परीक्षण खासगरी समूहमा बसेर काम गर्ने क्षेत्रमा गरिने उल्लेख छ । ‘मास स्क्रिनिङ’, अस्पतालमा उपचाररत बिरामीको तत्काल रिपोर्ट आवश्यक पर्ने अवस्थामा तथा सफाइकर्मी, तरकारी बजार, कारागार, विभिन्न आवास गृह र सुरक्षाकर्मीमा एन्टिजेनको प्रयोग गरिने मापदण्डमा भनिएको छ । आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७१०:०९:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend