बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

काठमाडौंमा स्कूल खोल्नु ‘खतरनाक’ : कोरोनाको मृत्युदर बढ्ने विज्ञको चेतावनी

काठमाडौंमा स्कूल खोल्नु ‘खतरनाक’ : कोरोनाको मृत्युदर बढ्ने विज्ञको चेतावनी

  • मिडिया डबली
  • बिहिवार, मंसिर २५ २०७७

  • 4.0K
    SHARES

  • काठमाडौंमा स्कूल खोल्नु ‘खतरनाक’ : कोरोनाको मृत्युदर बढ्ने विज्ञको चेतावनी
    फाइल तस्बिर

    काठमाडौं – राजधानी काठमाडौं उपत्यकामा तत्काल विद्यालय खोले कोभिड–१९ को संक्रमण झन् फैलिने र मृत्युदर पनि बढ्ने उच्च जोखिम देखिएको छ ।

    यसले मुलुकमा सम्भावित मानिएको कोभिडको दोस्रो लहर ल्याउने विज्ञहरूको भनाइ छ । उनीहरूले कोभिडको उच्च जोखिम समूहलाई खोपको व्यवस्था नभएसम्म विद्यालय खोल्दा थप जटिलता आउन सक्ने बताएका छन् ।

    जाडोयाममा कोभिड विस्तारको जोखिमबीच विद्यालय खोल्दा हरेक घरघरमा संक्रमण पुगेर बूढापाका, दीर्घरोगी लगायतमा संक्रमण जटिल बन्न सक्ने चिन्ता उनीहरूले व्यक्त गरेका छन् ।

    ‘हाल जाडो छ, अझै खोप आएको छैन, हतारमा स्कूल खोल्दा समस्या हुन सक्छ,’ स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक एवं भाइरोलजिस्ट डा. वासुदेव पाण्डेले भने, ‘स्कूल जाने बालबालिकामा कोभिडको खासै लक्षण देखिँदैन तर उनीहरू संक्रमित हुन सक्छन् र आफ्नो घर, छरछिमेक तथा समुदायमा सहजै संक्रमण फैलाउन सक्छन् । यसले बिरामीमा जटिलतासँगै मृत्युदर बढाउन सक्छ ।’

    राजधानीको शहरी क्षेत्र अझै कोभिडको उच्च जोखिममा रहेको र संक्रमणको दोस्रो तरंग आउने सम्भावना समेत कायमै रहेको औंल्याउँदै डा. पाण्डेले भने, ‘हालसम्म स्कूल बन्द रहेकाले कोभिड संक्रमण बढ्न नदिन जनस्वास्थ्यका दृष्टिले धेरै ठूलो सहयोग पुगेको छ ।’

    लकडाउन र विद्यालय बन्द रहेका कारण हालसम्म बालबालिकामा कोभिड संक्रमण कम देखिएको कान्ति बाल अस्पतालका प्रमुख बालरोग विशेषज्ञ प्रा.डा. आरपी बिच्छाले बताए । ‘स्कूल बन्द भएकाले बालबालिका घरभित्रै खेल्छन्, समाजसँग सम्पर्कमा छैनन्,’ उनले भने, ‘त्यसैले उनीहरूमा संक्रमण कम देखिएको हो ।’

    विद्यालयमा सामाजिक दूरी, उपयुक्त मास्कको प्रयोग, कोठामा हावाको राम्रो ओहोरदोहोर र निरन्तर हातको सरसफाइ असम्भव रहेको जनाउँदै डा. बिच्छाले भने, ‘स्कूल खोलेर बच्चालाई संक्रमणसँग एक्सपोज गर्नु अत्यन्त खतरनाक हो ।’

    आगामी ३ महिनासम्म उपत्यकामा जाडो रहने र यही समयमा प्रदूषण पनि चरम अवस्थामा रहने भएकाले विद्यालय खोलेर उच्च जोखिम मोल्न नहुने विज्ञहरूले सुझाएका छन् । ‘स्कूलले जनस्वास्थ्य प्रक्रियाको पूरा ध्यान राख्ने दाबी गर्ला तर बच्चाले संक्रमण बोकेर घरपरिवार र समाजमा सार्न सुरू गर्नेछन्,’ वरिष्ठ छातीरोग विशेषज्ञ डा. रमेश चोखानीले भने, ‘स्कूल खोले बूढापाका, दीर्घरोगी मात्र नभएर ५५ वर्षमाथिका व्यक्ति उच्च जोखिममा पर्नेछन् ।’

    विद्यालयमा १ जना संक्रमितले सयौं जनालाई रोग सार्न सक्ने यथार्थलाई बिर्सन नहुने औंल्याउँदै डा. चोखानीले छिमेकी भारतमा पनि विद्यालय खोलिएपछि संक्रमण अत्यधिक बढेकाले पुनः बन्द गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

    मुलुकमा बुधवार ६ हजार २८६ नमूनाको पीसीआर परीक्षण गर्दा १६.७९ प्रतिशत अर्थात् १०५६ जनामा कोभिड देखिएको छ । हालसम्म मुलुकमा मृत्युदर ०.६७ प्रतिशत देखिएको छ । काठमाडौं उपत्यकामा कोभिडको वास्तविक संक्रमण दर २५–३० प्रतिशतसम्म रहेको दाबी गर्दै ईडीसीडीका पूर्वनिर्देशक डा. जीडी ठाकुरले भने, ‘अहिले स्कूल खोल्नु हुँदैन, समाजमा संक्रमण दर धेरै उच्च छ । स्कूल खोल्दा कोभिड संक्रमणको दोस्रो तरंग धेरै छिटो आउँछ ।’ आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।

    भारतको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) को गत महिनाको रिपोर्टमा स्कूल खोल्दाको जोखिमबारे विश्लेषण गरिएको छ । एम्सका अनुसार सबै कोभिड पोजेटिभ बिरामीमध्ये ४० प्रतिशत लक्षण नभएका (एसिम्प्टोम्याटिक) थिए । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७१०:०९:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend