बेइजिङ - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको आन्तरिक विवाद बल्झिएर नेकपा एकता नै संकटमा र पार्टी फुटको स्थितिमा पुगेको छ । वैशाखदेखि नै नेकपाभित्र आन्तरिकरुपमा भुसको आगोजस्तै सल्किन सुरु भएपछि चिनियाँ पक्षले एकता जोगाउनका लागि प्रयासहरु थालेको थियो ।
पूर्व नेकपा एमाले र पूर्वमाओवादीबीच एकता चीनले नै गराइदिएको भन्दै आए पनि पछिल्लोल समय देखिएको चिनियाँ सक्रियताले यस कुरालाई पुष्टि गरेको छ । चिनियाँ राजदूतकै सक्रियतामा अहिलेसम्म नेकपा एकता जोगिँदै आएको कुराबाट पनि एकता पनि चीनले नै गराइ दिएको हो भन्ने कुरा पुष्टि हुन्छ ।
वैशाखयता नेकपा एकतामा विभिन्न उतारचढावहरु आएका छन् । यतिसम्मकी स्थायी कमिटी बैठकका बहुमत सदस्यले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको दुबै पदबाट राजीनामा माग गर्ने काम समेत भएको छ । तर, त्यसलगत्तै देखिएको चिनियाँ राजदूत होउ यान्छीको दौडधुपले त्यो साम्य भएको थियो ।
प्रधानमन्त्री ओलीको पद जोगाउनका लागि चिनियाँ राजदूतले कूटनीतिक मर्यादाविपरीत नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसँगको भेटवार्ता गर्दै पार्टी नफुटाउन दबाब दिएकी थिइन् ।
फेरि पछिल्लो समय पनि प्रधानमन्त्री ओलीले पार्टी र सरकारका कामकारबाहीहरु एकलौटीरुपमा अघि बढाउन थालेपछि अर्का अध्यक्ष प्रचण्डले १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै ओली सत्तामा रहनुपर्ने आधारहरु गुमाइसकेको आरोप लगाएका थिए । यहीबीचमा चिनियाँ रक्षामन्त्री वेई फिङ्गेको नेपाल भ्रमण भएका कारण चिनियाँ दूतावासले रक्षामन्त्रीको भ्रमणसम्म पार्टीका विवादलाई यथास्थितिमा राख्न निर्देशन दिएको थियो ।
नेपालको आन्तरिक मामिलामा चरम हस्तक्षेप गरेकी राजदूत यान्छीले रक्षामन्त्री फिङ्गे र पार्टीका अर्का अध्यक्ष प्रचण्डसँग भेटवार्ता गराएर राष्ट्रपति सी जिनपिङको दसैं तथा तिहारको शुभकामना सन्देश दिने वातावारण मिलाउने प्रयास गरेकी थिइन् । तर, उनी सफल हुन सकिनन् । रक्षामन्त्री फिङ्गे प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसहित प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट गरेर फर्किएका थिइन् ।
नेकपाको आन्तरिक राजनीतिमा भइरहेको चिनियाँ नियन्त्रण कसैबाट लुक्न सकेको छैन । राजदूत यान्छीको मर्यादाविपरीतका उच्चस्तरीय भेटघाटहरुको सामाजिक सञ्जाललगायतका विभिन्न प्लेटफर्महरुमा चर्को आलोचनाहरु भइरहेका छन् । चीनले नकेपाका नेताहरुलाई विद्यालयका बालबालिकाजस्तो व्यवहार गर्न थालेकोबाट नेकपाकै अधिकांश नेताहरु आक्रोशित बनेका छन् ।
काठमाडौं चिनियाँ कूटनीतिज्ञको भेटघाट सम्पूर्ण कूटनीति अभ्यास र शिष्टाचारको सबै मापदण्ड नाघेर भइरहेको छ । चिनियाँ पक्षको त्रासका कारण चीनको विरोध गर्न पनि त्रसित हुनुपर्ने स्थिति सिर्जना भएको छ । पछिल्लो समय चर्को आलोचनाप्रति संवेदनशील भएर चिनियाँ राजदूतले नेकपा नेताहरुको भेटघाट आफूभन्दा तल्ला तहका कर्मचारीहरुमार्फत सन्देश प्रवाह गर्ने गरेकी छन् ।
यतीमात्र नभएर केही महत्वपूर्ण वार्ताका लागि भने राजदूत यान्छी रातिको समयमा आफैं निजी ट्याक्सीमार्फत नेताहरुको घरघरमा जाने गरेको तथ्यसमेत खुलेको छ । उनी निजी ट्याक्सीमा रातिको समयमा नेकपा नेताहरुसँगको भेटघाटका लागि काठमाडौंको सडक हुँदै निस्किने गरेको देखिएको छ । उनले नेकपा नेताहरुलाई एकता कायम गर्नका लागि चर्को दबाब सिर्जना गरिरहेकी छन् । नेपालमा चीनको कूटनीति मुलुकको राष्ट्रिय स्वाभिमानविरुद्ध र सार्वभौम जनताको विरुद्ध हुँदा पनि नेकपा नेताहरुले भने आँखा चिम्लिएका छन् ।
नेपालमा बढ्दै गइरहेको यस्तो चिनियाँ चासोले नपालको हित गर्न नसक्ने भएकोले यस्तो जबरजस्तीको कूटनीतिमाथि प्रतिबन्ध लगाउनुपर्ने विज्ञहरुले सुझाव दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।