काठमाडौं - पार्टीमा चौतर्फी घेराबन्दीमा परेपछि प्रधानमन्त्री केपी ओली अहिले संकटको डिलमै पुगेका छन् ।
नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टीमा नियन्त्रण राख्दा ओलीको अध्यक्ष र प्रधानमन्त्री दुवै पद संकटमा परेको छ ।
यही संकट पार लगाउन उनले केही दिनअघि एक टेलिभिजन अन्तर्वार्तामार्फत पार्टीको नेतृत्व नयाँ पुस्तामा जानुपर्ने धारणा राखे । ओलीको यो धारणापछि वरिष्ठ नेताहरु रुष्ट बनेका छन् भने ६० वर्ष नाघेका नयाँ पुस्ता भने औधि खुसी देखिएको छ ।
अहिले ओली समूहमा पार्टी महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल, शंकर पोखरेल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ उत्तराधिकारीका प्रबल दाबेदार हुन् ।
यी चारमध्ये कसलाई अघि बढाउने भन्नेमा ओलीलाई सहज भने देखिएको छैन । पार्टी महासचिव पौडेल राजनीतिका चतुर खेलाडी हुन् । उनले आफूले उत्तराधिकारी नपाउने स्थिति आएमा प्रचण्ड समूहलाई सहयोग गर्ने आशंका ओली पक्षले गरेको छ ।
त्यही भएर पौडेलसँग बालुवाटार ढुक्क नदेखिएको हो । उपप्रधानमन्त्रीसमेत रहेका ईश्वर पोखरेल पद घटुवा भएका नेता हुन् । कडा स्वभाव र अरुलाई खेदो गर्ने स्वभावका भएकाले पोखरेलले ओलीपछि आफूलाई गुटको नेता बनाउन नसक्ने धेरैको विश्लेषण छ ।
तत्कालीन एमालेको निर्वाचित महासचिव पोखरेल पद घटुवा भएर पनि नेकपामा सचिवालय सदस्यमा सीमित छन् । त्यसैले अहिले पूर्वसभामुख नेम्वाङ र लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलमध्ये एकजना ओलीका उत्तराधिकारी बन्ने चर्चा सुरु भएको छ ।
पोखरेलले आफूलाई मदन भण्डारीको उत्तराधिकारी पनि दाबी गरेकाले उनलाई शीतल निवासको पनि राम्रो साथ र सहयोग पनि छ । ओलीलाई संकट आइलागे अहिलेसम्म मिलाएर लैजाने काम पोखरेलले र्नै गर्दै आएका छन् ।
मंगलबारमात्र प्रचण्डलाई बालुवाटार जाने वातावरण पोखरेलले नै खुमलटार गएर मिलाएका थिए । त्यसैले २७ गतेका लागि बोलाइएको सचिवालय बैठकमा ओलीको पनि साथ रहने आकलन गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।