काठमाडौं - सत्तारुढ नेकपामा सचिवालय बैठक बोलाउने कि नबोलाउने भन्नेमा विवाद बढिरहेका बेला प्रधानमन्त्री केपी ओली भने संखुवासभा यात्रामा निस्किएका छन् ।
पार्टीमा विवाद बढेकै बेला ओलीले संखुवासभा भ्रमणको योजना बनाएका थिए । कोरोना कहरमा प्रधानमन्त्री पहिलोपल्ट काठमाडौं बाहिर निस्कन लागेका हुन् । नत्र विगत नौ महिनादेखि ओली बालुवाटारमै सीमित थिए ।
प्रधानमन्त्री ओली बुधबार संखुवासभाको चीनसँगको सीमावर्ती क्षेत्र किमाथांकासहितको विभिन्न आयोजना निरीक्षणमा निस्कन लागेका हुन् । भारतसँग सम्बन्ध बनाउन खोजेकै बेला ओली चीनको सीमा नाका किन जाँदैछन् ? यसलाई अर्थपूर्ण मानिएको छ ।
प्रधानमन्त्री ओलीले सीमासुरक्षा, कोसी करिडोर र अरुण तेस्रो जलविद्युत् आयोजनाको निरीक्षण गर्ने प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले जानकारी दिएका छन् ।
उनी काठमाडौंबाट हेलिकोप्टरमार्फत सीधै किमाथांका नाकामा स्थापना भएको सीमा सुरक्षा पोस्ट (बीओपी) निरीक्षणमा जानेछन् । त्यसपछि कोसी राजमार्गको अनुगमन गर्दै अरुण तेस्रो जलविद्युत् आयोजनाको बाँध निर्माणस्थल जाने कार्यक्रम छ।
कुनै ठोस कार्यक्रम नभए पनि पार्टी विवाद छल्नकै लागि ओली संखुवासभा जान लागेको नेकपा नेताहरु बताउँछन् । कोरोना रोकथाम र नियन्त्रणमा चासो नदेखाएका ओलीले यस्तो बेला घुमघामको योजना किन राखे ? अनुत्तरित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।