अमेरिकामा आसन्न राष्ट्रपतीय निर्वाचनको पूर्व सन्ध्यामा बिहीबार अन्तिम बहस भएको छ ।
राष्ट्रपति पदका लागि प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारद्वय वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति जो बाइडेनका बीचमा टेलिभिजन बहस भएको हो ।
बहसमा बाइडेनले ट्रम्प प्रशासन र त्यसको कार्यशैलीप्रति चर्को आलोचना र टिप्पणी गर्नुभएको थियो । उनले विशेष गरेर कोरोना महामारी व्यवस्थापन गर्न तथा जनता र अर्थतन्त्र जोगाउन नसकेको आरोप ट्रम्पमाथि लगाएका थिए।
जवाफमा राष्ट्रपति ट्रम्पले बाइडेनको आरोपको खण्डन गर्दै आफ्नो कार्यकाल अत्यन्त सफल भएको दावी गर्नुभएको थियो । उनले कोरोनाभाइरसका विरुद्धमा लगाइने खोप केही हप्तामा आउने र महामारी पूर्ण रुपमा नियन्त्रण हुने जिकिर गरेका थिए ।
तर चाँडै नै खोप आएर महामारी नियन्त्रण हुने ट्रम्पको दावीलाई भने बाइडेनले अविश्वास गर्दै उनले भनेजस्तो जादु नहुने टिप्पणी गरेका थिए।
बहसका क्रममा राष्ट्रपति ट्रम्पले अमेरिकी नागरिकहरु कोरोनाभाइरस सँगसगै बाँच्न सक्ने भइसकेको बताउनु भएको थियो ।
ट्रम्पको भनाइले महामारी विरुद्ध लड्न वा महामारीको सामना गर्न वा व्यवस्थापन गर्न ट्रम्प प्रशासनसँग कुनै योजना नरहेको पुष्टि भएको पनि बाइडेनको तर्क थियो ।
“उनको कुरा सुन्ने हो र मान्ने हो भने उनले कोरोनाभाइरसको महामारी व्यवस्थापनका लागि जादु गर्ने बाहेक अरु केही देखिएन,” बाइडेनले भने ।
टेनेसी राज्यको नेस्भिलमा भएको उक्त बहस कोरोना विरूद्धको लडाइँ, अमेरिकी परिवार, जातियता, जलवायु परिवर्तन, राष्ट्रिय सुरक्षा, नेतृत्वलगायतका विषयमा केन्द्रित भएको थियो ।
बहसको शुरुमा यसअघिको पहिलो राष्ट्रपतीय बहसपछि पनि अमेरिकामा थप १६ हजार अमेरिकीहरुले कोरोनाका कारण जीवन गुमाएको तथ्याँक प्रस्तुत गरिएको थियो । त्यसपछि नै ट्रम्पको प्रस्तुति खल्लो, हल्का र अपत्यारिलो भएको टिप्पणी गरिएको छ ।
अर्का प्रतिस्पधी बाइडेनलाई भने कोरोनाभाइरस उत्पत्ति गराएको चीनलाई सजाय दिन के गर्नुहुन्छ भनेर सोधिएको थियो ।
जवाफमा बाइडेनले व्यापार र अर्थतन्त्रलाई जोडेर व्याख्या गर्दै चीनले अन्तर्राष्ट्रिय नियम अनुसार चलोस् भन्ने आफ्नो चाहना हुने बताउनु भएको थियो ।
पहिलो राष्ट्रपतीय बहसभन्दा यस पटकको बहस बढी व्यवस्थित र अमेरिकी मूल मुद्दाहरुमा केन्द्रित भएको थियो । अमेरिकामा राष्ट्रपतिका दुई आकाँक्षीलाई सँगै उभ्याएर प्रश्न सोध्ने प्रचलन छ, र यो निकै लोकप्रिय हुने गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।