आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

जनतालाई राहत दिन ओली सरकारविरुद्ध संघर्ष गर्दै कांग्रेस

जनतालाई राहत दिन ओली सरकारविरुद्ध संघर्ष गर्दै कांग्रेस

  • मिडिया डबली
  • आइतवार, जेठ ४ २०७७

  • 7.9K
    SHARES

  • जनतालाई राहत दिन ओली सरकारविरुद्ध संघर्ष गर्दै कांग्रेस

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल कांग्रेसले कोरोना प्रताडितका लागि नीति तथा कार्यक्रमले आशा–भरोसा दिलाउन नसकेको टिप्पणी गर्दै पुनर्लेखनको माग गरेको छ । नीति तथा कार्यक्रममा सरकारमाथि दबाब बनाउने कांग्रेसको रणनीति छ ।

    शनिवार बसेको संसदीय दलको बैठकले विश्वव्यापी महामारीलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम नबनेको भन्दै पुनर्लेखन गर्न माग गरेको हो । नीति तथा कार्यक्रममाथि संसद्मा हुने छलफलमा सभापति शेरबहादुर देउवा सहितका नेता बोल्दै छन् ।

    पुनर्लेखनको मागसहित कांग्रेसका ३ सांसदले संयुक्त संशोधन प्रस्ताव दर्ता गराएका छन् । डा. मीनेन्द्र रिजाल, पुष्पा भुसाल गौतम र सञ्जयकुमार गौतमले शनिबार संसद् सचिवालयमा दर्ता गराएको संशोधन प्रस्तावमा नीति तथा कार्यक्रमको १ देखि २७६ बुँदासम्म पुनर्लेखन गर्नुपर्ने माग छ ।

    ‘लामो पट्यारोलाग्दो दस्ताबेजले हाम्रोसामु उपस्थित चुनौती सामना गर्न एकताबद्ध रूपमा सम्पूर्ण राष्ट्रको ध्यान केन्द्रित गरी महाव्याधि रोकथाम, स्वास्थ्योपचार, राहत वितरण, आर्थिक पुनरुत्थान र नीतिगत सुधारका लागि मजबुत एवं लचिलो नीति र त्यसलाई कार्यान्वयन गर्ने प्राथमिकतासहितका कार्यक्रमको रूपरेखा प्रस्ट र सुसंगठित हुने गरी बुँदा नम्बर १ देखि २७६ सम्म पुनर्लेखन गर्नुपर्नेछ,’ संशोधन प्रस्तावमा छ ।
    संसदीय दलले बैठकले विद्यमान चुनौतीको सम्बोधन गर्न नीति तथा कार्यक्रम लक्षित नभएको भन्दै संशोधन दर्ता गर्ने निर्णय गरेपछि कांग्रेसले संसद् सचिवालयमा प्रस्ताव दर्ता गराएको थियो ।

    नीति तथा कार्यक्रमले देशले अहिले व्यहोरिरहेको समस्यालाई सम्बोधन गर्न र नेपाली जनतालाई सुरक्षा प्रदान तथा राहत पुर्‍याउन नसक्ने कांग्रेसको ठहर छ । ‘विद्यमान चुनौतीको सम्बोधन गर्ने र जनताप्रति उत्तरदायी नरहेको नीति र कार्यक्रममाथि नेपाली कांग्रेस संसदीय दलको बैठकले संशोधन पेस गर्ने निर्णय गर्‍यो,’ दल बैठक निर्णयमा छ, ‘विश्व महामारीका रूपमा रहेको कोभिड–१९ रोकथाम, न्यूनीकरण र संक्रमितको उपचारलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बन्नुपर्दछ ।’ आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

    मजदुर तथा श्रमिक, किसान, अध्ययनको सिलसिलामा आफ्नो घरबाहिर रहेका विद्यार्थी, अन्य रोगबाट ग्रसित बिरामी एवं दीर्घरोगी, शारीरिक अशक्त तथा असहाय व्यक्तिका लागि राहत प्याकेज ल्याउन कांग्रेसको माग छ । भोकमरी आउन नदिन कृषि क्षेत्रमा ठूलो लगानी अभिवृद्धि गर्न, तत्काल कृषकका लागि बिउविजन र मलको उचित व्यवस्थापन गर्नुपर्ने माग कांग्रेसको छ ।

    कांग्रेस सभापति देउवाले शुक्रवार आएको नीति तथा कार्यक्रमले कोभिड–१९ को प्रभाव र असरलाई चिन्न नसकेको आरोप लगाएका छन् । संसदीय दलको बैठकमा सभापति देउवाले सरकारले प्राथमिकता निर्धारण गर्न नसकेको भन्दै संसद्मा सशक्त भएर प्रस्तुत हुन सांसदहरूलाई निर्देशन दिएका छन् ।

    ‘नीति तथा कार्यक्रमले कोभिडको असर र प्रभावलाई चिन्न सकेन । कोरोनाको असर छँदै छैन, जसरी नीति तथा कार्यक्रम आएको छ । प्राथमिकता नै तोकिएको छैन,’ सभापति देउवाको भनाइ उद्धृत गर्दै सांसद डा. डिला संग्रौलाले भनिन्, ‘कोरोनाको संक्रमण बढ्दो छ, यस्तोमा पीसीआरको दायरा बढाएर धेरैको परीक्षण गर्नुपर्ने भएपनि सरकार कमजोर देखिएको छ । तपाईंहरू संसद्मा सशक्त ढंगले प्रस्तुत हुनुहोला ।’

    विश्वभर कोरोनाको असरलाई चिर्न राहत प्याकेजको लहर चलेपनि नेपालमा मजदुर भोकै पर्दासमेत सरकार लाचार बनेको आरोप देउवाले लगाए । ‘कोरोनापछि विश्वभरि पीडितलाई राहत प्याकेजको लहर छ । तर हाम्रोमा नागरिकहरू भोकभोकै सडकमा हिँडेका छन् । मजदुर–किसानले राहत पाएका छैनन्,’ देउवाले भने, ‘यसकारण तत्काल भारत र अमेरिकामा घोषणा गरिएजस्तो राहत प्याकेजको घोषणा गर्नुपर्छ ।’
    देउवाले विदेशमा रहेका नेपालीलाई फर्काउन, कूटनीतिक पहल गरी भारतले मिचेको भूमि फिर्ता गराउन चीन र भारतसँग वार्ता गर्न सरकारसँग आग्रह गरेका छन् ।

    देउवाले भारतले नेपाली भूमि मिचेको भन्दै तत्काल कूटनीतिक र राजनीतिक पहल गरी नेपाली भूमि फिर्ताका लागि अग्रसरता लिन सरकारको ध्यानाकर्षण पनि गराएका छन् । लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायत नेपाली भूमिको अतिक्रमणको विरोध गर्दै कांग्रेसले आफ्नो भूमिको रक्षाका लागि सरकार संवेदनशील नरहेको आरोप लगाएको छ ।

    कोरोनापछि अर्थतन्त्रमा देखिएको संकटमा एमसीसी संसद्बाट पारित गर्नुपर्ने विषय पनि देउवाले पुनः दोहोर्‍याएका छन् । ‘कोरोनाले अर्थतन्त्र डामाडोल छ । सबै देश प्रभावित भएकाले विदेशी सहयोग तत्काल आउने देखिँदैन । त्यसैले ऋण होइन सहयोगका रूपमा सम्झौता भएको एमसीसी पारित गर्नुपर्छ,’ देउवाले बैठकमा भने, ‘अर्थतन्त्र जर्जर अवस्थामा पुगेका बेला रोड कनेक्टिभिटी, ऊर्जासहितमा खर्च हुने यो रकम हामीले किन नलिने ?’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend