आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images
सिंहदरबारमा छायाँशक्तिको भूत

सिंहदरबारमा अभिषेक सिंहको दादागिरी, मन्त्री बब्लुकै अगाडि सचिवमाथि आक्रमण

सिंहदरबारमा अभिषेक सिंहको दादागिरी, मन्त्री बब्लुकै अगाडि सचिवमाथि आक्रमण

कमिसनको खेलमा विचौलियाको धम्कीले त्रासमा कर्मचारी
  • मिडिया डबली
  • बिहिवार, मंसिर १९ २०८२

  • 2.1K
    SHARES

  • सिंहदरबारमा अभिषेक सिंहको दादागिरी, मन्त्री बब्लुकै अगाडि सचिवमाथि आक्रमण

    काठमाडौं । देशको मुल प्रशासनिक केन्द्र सिंहदरबारको गम्भीरता र मर्यादामाथि आक्रमण गर्ने एउटा घटना फेरि सार्वजनिक भएको छ । प्रधानमन्त्री सुशील कार्कीको छायाँ शक्ति भनेर चर्चित डा. अभिषेक सिंह फेरि एक पटक विवादको केन्द्रमा परेका छन् । यसअघि सिंहदबार जलाउने मास्टरमाइन्डको रुपमा आरोप लागेका सिंहले फेरि सिंहदरबारका हरेक मन्त्रालयमा गएर कर्मचारालाई 'ह्यारेस' गरिरहेका छन् ।

    मंसिर १६ गते मंगलबार दिउँसो युवा तथा खेलकुद मन्त्रालयमा राष्ट्रिय खेलकुद परिषद्‌को सदस्य सचिव रिक्त भएको अवस्थामा १० औं राष्ट्रिय खेलकुद कसरी सम्पन्‍न गर्ने भन्‍ने विषयमा मन्त्री बब्लु गुप्ता, सचिव डा. हरि लम्साल र विज्ञहरुबीच छलफल चलिरहेको थियो । त्यही समयमा समय पनि नलिएर सिधैँ ढोका लिएर सुशिला कार्कीको छायाँ शक्तिको रुपमा सिंहदरबारमा परिचित तर, अनधिकृत डा.  अभिषेक सिंहको प्रवेश भयो । घटनाका प्रत्यक्षदर्शीहरूको भनाइअनुसार, अभिषेक सिंह मन्त्रीको कार्यकक्ष प्रवेश गरेदेखि नै उनको बोली र व्यवहारबाट आक्रामकता झल्कन्थ्यो । सिंह कार्यकक्षमा छिर्नासाथ उनले सिंहदरबारभर फैलिएको आफ्नो राजनीतिक निकटता र पहुँचको धाक देखाउँदै सचिवमाथि जाइलागेका थिए ।

    उनले भनेका थिए, “तपाईंहरूलाई चेतावनी दिएको कति भयो ? १०औँ राष्ट्रिय खेलकुदको बजेट बढाउन किन नसकेको ? निकम्मा सचिव । मन्त्रालय चलाउन जान्नुहुन्न भने राजीनामा दिएर घर जानुस् । हैन भने मैले तपाईंलाई निकालिदिन्छु । अब म चुप बस्दिन !” सचिव लम्सालले शान्त रूपमा बजेट विनियोजनसम्बन्धी प्रक्रिया, कानुनी सीमा र अर्थ मन्त्रालयकै नीतिगत अड्चनबारे बुझाउन खोज्दा सिंह थप आक्रामक बनेका थिए ।

    स्रोतका अनुसार, मन्त्री गुप्ता आफ्नै अगाडि सचिवमाथि भइरहेको यत्रो अपमान हेर्दै चुपचाप बसिरहे, जसले मन्त्रालयभित्रका कर्मचारी झन् अचम्मित बने । एक कर्मचारीले भने, “हाम्रो मन्त्रीकै अगाडि अनधिकृत मान्छे आएर सचिवलाई यस्तो गरी हान्न खोज्दा मन्त्री मौन... त्यसपछि हामी कसरी आत्मसम्मानका साथ काम गर्ने ?”

    अभिषेक सिंहले मन्त्री गुप्तालाई समेत उपेक्षा गरेर नियन्त्रणमा लिन खोजेको घटनाले सिंहदरबारमा विचौलियाको बिगबिगी रहेको पुष्टि हुन्छ ।  मन्त्रीको कुर्सीमा बसेर पनि मन्त्रालयमा प्रचलित आदेश–निर्देश बाहिरका मान्छेका इसारामा चलिरहेको छ भन्ने आभास कर्मचारीहरूमा झनै बलियो भएको छ । मन्त्री गुप्ताले घटना रोक्न किन हस्तक्षेप गरेनन् भन्नेबारे प्रश्न उठिरहेको छ । सिंहले सचिवलाई सुनाएर मन्त्रीलाई नै निशाना बनाएको विषयमा पनि टिप्पणी भइरहेको छ । कर्मचारीहरुले विगतमा दलीय सरकार हुँदा यसरी विचौलिया र अनधिकृत व्यक्तिले हस्तक्षेप र दादागिरी कहिल्यै नदेखाएको तर अहिले यसरी मन्त्रीकै अगाडि हंगामा हुँदा पनि मन्त्रीको मौनता केवल कमजोरी नभई संस्थागत अपमान भएको टिप्पणी गरेका छन् । “मन्त्री मौन रहँदा कर्मचारीको मनोबल एकै झट्कामा भत्किन्छ । प्रशासनिक संरचना व्यक्ति निर्भर होइन, प्रक्रिया निर्भर हुनुपर्छ। तर यहाँ त पूरा संरचनामै बाहिरका मान्छेले ‘ओभरराइड’ गरेको देखियो,” मन्त्रालयकै एक उच्च अधिकारीले भने ।

    अर्थ मन्त्रालयले देशको अस्थिर आर्थिक अवस्था र तीव्र बजेट दबाबका कारण १०औँ राष्ट्रिय खेलकुदको बजेट तत्काल बढाउन नसकिने स्पष्ट रूपमा बताइसकेको छ । यसै बीच, सिंहले बजेट बढाउन असाधारण चासो देखाउनु, मन्त्रालयमा बारम्बार दबाब दिनु, र आफ्नो ‘नेटवर्क’ प्रयोग गरेर मन्त्री तथा सचिवलाई लगातार तनाव दिनुले कुनै आर्थिक स्वार्थ त लुकेको छ कि भन्ने शंका मन्त्रालयभित्र उठ्न थालेको छ ।

    मन्त्रालयका एक कर्मचारीले नाम नखुलाइ टिप्पणी गरे, “ठूलो रकम भएको आयोजनामा कोही–न–कोही कमिसन खोज्छन् । हामीलाई शंका पर्नुको कारण के भने, बजेटीय सम्भाव्यता भन्दा पनि ‘छिटो–छिटो बढाउनुपर्छ’ भन्ने दबाब उनले बारम्बार गरिरहेका छन् ।”

    यसअघि मन्त्री गुप्ताकै अगाडि दुई पक्षबीच हानाहान भएको थियो । सिंहले प्रधानमन्त्री सुशील कार्कीको नजिकका पात्र र निर्णय प्रक्रियामा प्रभाव जमाएको हल्ला पहिले नै फैलिएको थियो । अब मन्त्रालयभित्रै यसरी आक्रमक रूपमा प्रवेश गरेर सचिवलाई धम्क्याउने घटना बाहिर आएपछि अभिषेक सिंह वास्तवमै सिंहदरबारभित्रको अनौपचारिक, अनियन्त्रित शक्ति हुन् कि? भन्ने प्रश्न व्यापक रूपमा उठेको छ ।

    सचिव–सहसचिव–उपसचिवहरूको मनोबल प्रशासनको मेरुदण्ड मानिन्छ । तर पछिल्लो केही महिनादेखि राजनीतिक हस्तक्षेप, बाहिरी प्रभाव, अनौपचारिक शक्ति केन्द्र बढेको भन्दै उनीहरूको मनोबल भंग भइरहेको छ । यो घटना त्यसको ताजा उदाहरण भएको उनीहरूको बुझाइ छ । यदि सिंहदरबारमै यस्तो दादागिरी सहनुपरेको छ भने-
    तल्लो तहका सरकारी कार्यालयमा कर्मचारीले कस्तो वातावरणमा काम गरिरहेका होलान् ? भन्‍ने प्रश्‍नसमेत उठेको छ । अभिषेक सिंहजस्ता शक्तिशाली, अनौपचारिक पात्रहरूलाई कसरी नियन्त्रण गर्ने?
    मन्त्रीहरू किन मौन बस्छन्? जनताकै करबाट तलब खाने सार्वजनिक सेवकको सम्मान कसरी जोगाउने ? यी प्रश्नहरूको जवाफ नआएसम्म- सिंहदरबारभित्रको अशान्ति झनै गहिरिँदै जाने खतरा बढेको छ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, मंसिर १५ २०८२०९:२९:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend