काठमाडौं । जेनजीको नाममा भदौ २३ र २४ गते देशभर आतंक सिर्जना गरेर सत्ता परिवर्तन भएको छ । नयाँ सरकार र दैनिक प्रशासनिक कामकाजहरु जेनजीले जलाएको सिंहदरबारभित्र बाट नै सञ्चालन हुने गरेका छन् । यद्पि त्यही सिंहदरबारमा दैनिक आन्दोलन, नाराबाजी त कहिले मन्त्रीकै कार्यकक्षमा मन्त्रीको उपस्थिति रहेकै समयमा हाहानको स्थिति सिर्जना हुने गरेको छ ।
मंसिर ८ गते युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री बब्लु गुप्ताकै अगाडि दुई जेनजी समूहबीच कुटाकुट भयो । शिव यादव र जितेन्द्रप्रताप सिंह भनिने जितेन्द्रकुमार महतोबीच सुरु भएको विवाद एकैछिनमा अपशब्द प्रयोग गरे र हात हालाहालको स्थितिमा पुगेको हो । मन्त्रीकै कार्यकक्षमा कुटाकुट हुन थालेपछि युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले शिव र जितेन्द्रलाई छुट्याएका थिए । यो घटनाले सिंहदरबार परिसर र खासगरी मन्त्रालयका कर्मचारीहरूबीच त्रासको वातावरण सिर्जना गरेको छ ।
यो झगडाको सुरुवात त्यसअघि प्रधानमन्त्री कार्यालयमै भएको थियो । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठले सचिवालयमा श्रीमतीलाई नियुक्ति दिएको विषयमा सोधीखोजी गर्न जेनजी युवाहरूको एक समूह बिहान ११ बजे नै त्यहाँ पुगेको थियो । त्यहाँ उनीहरुले प्रधानमन्त्रीसँग भेट्न खोजेका थिए । यद्पि दिनभर कुर्दा पनि भेट्न नपाएपछि प्रधानमन्त्रीको राजीनामा माग गर्दै प्रधानमन्त्री कार्यालयमा नै नाराबाजी गरेका थिए । यति मात्र गरेनन् उनीहरुले प्रधानमन्त्री कार्यालयका कर्मचारीहरुलाई पनि थर्काएका थिए । प्रहरीले रोक्न खोज्दा पनि उनीहरू रोकिएका छैनन् ।
सो दिन प्रधानमन्त्री कार्यालयमा काउन्सिल अफ जेनजीका मधेश प्रदेश संयोजक शिव यादवको समूह पनि पुगेको थियो। प्रधानमन्त्री कार्यालयमा लफडा भएपछि शिवको समूह त्यहाँबाट निस्कियो र खेलकुद मन्त्रालयतर्फ लाग्यो । शिवको समूह मन्त्री बब्लु गुप्तासँग उनको कार्यकक्षमा बसिरहेका बेला जितेन्द्रको समूह पनि त्यहीँ आइपुग्यो । उनीहरूबीच सुरुमा भनाभन भयो र लगत्तै हानाहान हुन थाल्यो ।
केही समय अघि सुदन गुरुङले पनि सिंहदरबारमा नाराबाजी गर्ने, गृहमन्त्रीको राजीनामा माग गर्ने गरेका थिए भने त्यसको केही समयमा मिराज ढुंगाना समूहले सिंहदरबारमा नाराबाजी गरेका थिए । सरकार गठन भएको केही समयमा नै जेनजी आन्दोलनका घाइतेहरुले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै सिंहदरबारमा नाराबाजी गरेका थिए । जेनजीहरूको उछृंखल गतिविधिबाट मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयका कर्मचारी त्रसित छन्। आफूहरूलाई बिनाकारण थर्काएको र काम गर्ने वातावरण नभएको भन्दै कर्मचारीहरु निराश बनेका छन् ।
यसैगरी मंसिर १० गते उर्जा मन्त्रलयमा पनि केही जेनजीहरूले गएर होहल्ला र अराजकता देखाएको थियो । यसरी देशको प्रमुख प्रशासनिक केन्द्र जलाउँदा पनि जेनजीको नाममा विभिन्न स्वार्थ समूहले आफ्नो दुनो सोझ्याउने र कानुनी राज्यको उपहास गर्ने काम भइरहेको छ । यद्पि प्रधानन्यायाधीश भइसकेकी महिला प्रधानमन्त्री रहँदा पनि कानुनी राज स्थापनाका लागि यस्ता अराजकता सिर्जना गर्नेहरुलाई भने कुनै कारबाही गर्न सकेकी छैनन् । यस्तो त्रासको वातावरणमा निर्वाचनको परिकल्पना पनि गर्न नसकिने सिंहदरबारका कर्मचारीहरुको गुनासो छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।