आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सुर्खेत उद्योग वाणिज्य संघको दादागिरी, पढाइ अवरोध गरेर महोत्सव आयोजना

सुर्खेत उद्योग वाणिज्य संघको दादागिरी, पढाइ अवरोध गरेर महोत्सव आयोजना

  • मिडिया डबली
  • शुक्रवार, फाल्गुण ११ २०८०

  • 2.6K
    SHARES

  • सुर्खेत उद्योग वाणिज्य संघको दादागिरी, पढाइ अवरोध गरेर महोत्सव आयोजना

    काठमाडौं - सुर्खेतको विरेनेद्रनगरमा विद्यार्थीको परीक्षाको मुखैमा पढाइमा नै अवरोध हुने गरी सुर्खेत उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्ने भएको छ ।

    सुर्खेतको विरेन्द्रनगरमा रहेको बाल मन्दिर प्राथमिक विद्यालयको छेउमै यही फागुन १४ गतेदेखि २२ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको भन्दै चर्को विरोध भइरहेको छ । यसअघि विद्यालयका प्राधानाध्यापक महन्द्र विसीले विद्यालयमा पढाइ अवरोध हुने भएकोले विद्यालय नजिकै महोत्सव नगरिदिन पत्र पठाएको भए पनि त्यसलाई बेवास्ता गर्दै महोत्सव आयोजना गर्न लागिएको हो ।

    उनले भने, 'पैसा कमाउनका लागि विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने र शक्ति भएकाले जे पनि गरे हुन्छ भन्‍ने खोजिएको छ । यो गलत हो ।' बाल मन्दिर प्राथमिक विद्यालयको १० मिटर नजिक रहेको मैदानमा महोत्सव चल्ने भएपछि पढाइ अवरोध हुने भन्दै बिहीबार अधिवक्ता प्रकाशबावु ऐडीले उच्च अदालत सुर्खेतमा रिटसमेत दायर गरेका हुन् । वार्षिक परीक्षा आउन करिब तीन हप्ता बाँकी रहँदा छेउमा महोत्सव चलेपछि विद्यार्थीको स्वच्छ र शान्त वातावरणमा अध्ययन गर्न पाउने अधिकार हनन हुने भएकोले उपयुक्त स्थानमा महोत्सव सञ्चालन गर्ने आदेशको मागसहित रिट दायर गरिएको अधिवक्ता ऐडीले बताए।

    ‘अब चैत १ गतेदेखि विद्यार्थीको वार्षिक परीक्षा छ। त्यहीँ नजिक ९ दिनसम्म मेला चल्दा उनीहरूको अध्ययन, अध्यापन प्रभावित हुन्छ,’ उनले भने, ‘त्यसैले विद्यार्थीको स्वच्छ र शान्त वातावरणमा पढ्न पाउने अधिकारको रक्षाका लागि रिट दायर गरिएको हो।’

    अधिवक्ता ऐडीले वीरेन्द्रनगर नगरपालिकाको कार्यालय, सुर्खेत उपत्यका नगर विकास समिति र उद्योग वाणिज्य संघ सुर्खेतलाई विपक्षी बनाई अन्तरिम आदेशसहितको निषेधाज्ञा माग गरेका छन्। उक्त रिटमा शुक्रबार सुनुवाइ हुँदैछ। रिटमा मेला संचालनका लागि वीरेन्द्रनगरकै खुला मञ्च, जिल्ला प्रशासन कार्यालयको दक्षिण तर्फको खुल्ला मैदान, कालुन्चोकमा रहेको खेल मैदान, बुलबुले उद्यान लगायतका स्थानहरूको विकल्प समेत दिइएको छ। पटकपटक यहाँ मेला नलगाउन नगरपालिकासँग अनुरोध गर्दा पनि बेवास्ता गरेर मेला लगाउने गरेको विद्यालयका प्रधानाध्यापक महेन्द्र विसीले गुनासो गरे। ‘महोत्सव लगाउँदा विद्यालयमा पढाइ प्रभावित हुन्छ भन्ने विषयमा बारम्बार नगरलाई अनुरोध गरेका थियौं,’ उनले भने, ‘बालबालिकाको पढाइभन्दा नगरलाई महोत्सव ठूलो लाग्यो। दुई पटकसम्म महोत्सव लगाउँदा विद्यालय नै बन्द गरेका थियौं।’

    महोत्सव सञ्चालन गर्ने स्थानको विकल्प खोजी बालबालिकाको पठनपाठनमा सहज बनाइदिन प्रधानाध्यापक विसीले नगरपालिकालाई अनुरोध गरे। प्रधानाध्यापक विसीका अनुसार उक्त विद्यालयमा कक्षा एकदेखि पाँचसम्म अध्ययन गर्ने १ सय १० जना बालबालिका रहेका छन्। यसअघि पनि महोत्सव विवादको विषय अदालतमा पुगेको थियो। सुर्खेत उद्योग वाणिज्य संघले बढी कबोल गर्ने कम्पनीलाई ठेक्का नदिएर कम कबोल गर्ने कम्पनीलाई सेटिङ्ग मिलाएर महोत्सवको ठेक्का दिएको भन्दै माघ ९ उच्च अदालत सुर्खेतमा रिट दर्ता भएको थियो।

    १० गते रिटमाथि सुनुवाइ हुँदै एक हप्ताको छलफल पेसी दिइएको थियो। १७ गते अदालतले अन्तरिम आदेश नदिएपछि मेला सञ्चालनका लागि तयारी थालिएको थियो। वीरेन्द्रनगर नगरपालिकाले आफैंले बनाएको कार्यविधि मिचेर महोत्सव सञ्चालनको स्वीकृति दिएको भन्दै चौतर्फी विरोध हुने गरेको छ। नगरपालिकाले मेला महोत्सव व्यवस्थापन कार्यविधि, २०७५ को विपरीत स्वीकृति दिएको भन्दै असन्तुष्ट पक्षले आवाज उठाउँदै आएका छन्।

    परिच्छेद २ (२) मा मूल्याङ्कन समितिको सिफारिसका आधारमा महोत्सव व्यवस्थापन समितिले कम्तिमा ‘तीन आर्थिक वर्षसम्म एउटा संस्था मुल आयोजकमा नदोहोरिने गरि तोकेबमोजिम शर्त राखेर मेला महोत्सव सञ्चालन अनुमति दिइने’ उल्लेख छ। कार्यविधिमा भएको यो व्यवस्था अनुसार आर्थिक २०७५/०७६ मा चेम्बर अफ कमर्स सुर्खेत, २०७६/०७७ मा सुर्खेत उद्योग वाणिज्य संघ मुल आयोजक भएर महोत्सव सञ्चालन गरिसकेका छन्। आर्थिक बर्ष २०७७/०७८ र २०७८/०७९ मा कोभिड महामारीका कारण महोत्सव सञ्चालन गर्ने अवस्था थिएन।

    २०७९/०८० मा घरेलु तथा साना उद्योग महासंघ मुल आयोजक भएर महोत्सव सञ्चालन गरिसकेका छन्। कार्यविधिका आधारमा यो आर्थिक बर्ष प्रदेश उद्योग वाणिज्य महासंघ कर्णालीले मुल आयोजकका रुपमा महोत्सव सञ्चालन गर्न पाउनुपर्ने दावी गरेको थियो। पछि यो अडानबाट महासंघ पछि हट्दै सुर्खेत उद्योग वाणिज्य संघलाई नै सहमति दिएको थियो।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, मंसिर १९ २०८२०९:२९:५५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend