काठमाण्डौ । प्रतिनिधिसभाको हिजोको बैठकले पारित गरेका पाँच वटा अध्यादेश आज राष्ट्रिय सभामा निर्णयार्थ पेश हुने भएको छ ।
प्रतिनिधिसभा बैठकमा हिजो ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन’,‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन’,‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व’, ‘निजीकरण र आर्थिक तथा व्यावसायिक वातावरण सुधार’ र ‘लगानी अभिवृद्धि’ अध्यादेश स्वीकार गरियोस् भन्ने सरकारको प्रस्ताव बहुमतबाट पारित भएको थियो ।
आज दिउँसो बस्ने राष्ट्रिय सभाको बैठकबाट पनि पारित भएपछि सरकारलाई प्रतिस्थापन विधेयक संसदमा लैजाने बाटो खुल्नेछ । जसपा नेपालले सघाएपछि सरकारले ल्याएका ६ मध्ये ५ अध्यादेश संसद बैठकमा पेश भएको एक महिनाभन्दा बढी समयपछि अघि बढेको हो ।
राष्ट्रिय सभाबाट अध्यादेश र विधेयक पारित गर्न सरकारलाई जसपा नेपालको सहयोग आवश्यक पर्छ । ५९ सदस्यीय राष्ट्रिय सभामा बहुमतका लागि ३० सांसदको समर्थन चाहिनेमा कांग्रेसका १६, एमालेका १०, मनोनीत १ र लोसपाका १ गरी २८ सांसद छन । ३ सांसद रहेको जसपा नेपालले स्वीकार गर्ने निर्णय लिएपछि बहुमत जुट्ने देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।