काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले तत्कालै समाजवादी मोर्चासँग सहकार्यको सम्भावना नरहेको बताएका छन् । बलिदान दिवसका अवसरमा शनिबार लहानमा शहीदको प्रतिमामा माल्यापर्णपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
‘ अहिलेको अवस्थामा सहकार्य हुँदैन । जोसँग सहकार्य गरेको छ उसैलाई पिँठ्यूमा छुरा रोप्ने र राज्य शक्तिको प्रयोग गरेर पार्टी विभाजन गर्ने नेता किन्न भएपछि कुनै विश्वास छैन,’ यादवले भनेका छन् ।
समाजवादी मोर्चा सक्रिय बनाउन लागे पनि आफू तत्काल सहभागी हुने सोचमा नरहेको उनको भनाइ छ ।
अध्यक्ष यादवले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था ल्याउन मधेश आन्दोलनको पनि भूमिका रहेको जिकिर गरे ।
पछिल्लो समाजवादी मोर्चा सक्रिय बनाउन भन्दै नेताहरू छलफलमा जुटेका छन् । ४ असार २०८० मा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (नेपाल) र विप्लव नेतृत्वको नेकपाले समाजवादी मोर्चा बनाएका थिए ।
उपेन्द्र भने मोर्चामा निष्क्रिय छन् । मोर्चामा सक्रिय बनाउन उपेन्द्रलाई मनाउने जिम्मा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले लिएका थिए ।
नेपालले यादवसँग छलफल अघि बढाए पनि सकारात्मक परिणाम आउन सकेको छैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।