काठमाडौं - सरकारले स्थानीय तहको निर्वाचनको मिति तोकेसँगै विभिन्न पार्टीमा फुट र विभाजनको रेखा कोरिन थालेका छन् ।
राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले पार्टी त्यागेर नयाँ गठनको तयारी गरेका छन् । अब जनता समाजवादी पार्टी पनि विभाजनको डिलमा पुगेको छ ।
सो पार्टीबाट डा.बाबुराम भट्टराई पक्षले विद्रोह गरेर नयाँ पार्टी गठन गर्ने तयारी गरेको देखिएको छ । अध्यक्ष उपेन्द्र यादवले पार्टीमा एकलौटी निर्णय गर्न थालेको भन्दै भट्टराई पक्ष असन्तुष्ट बनेको छ ।
लाामो समयदेखि दुई नेताबीच बोलचालसमेत बन्द छ । पार्टीको बैठक बस्न सकेको छैन । प्रदेश १ को राष्ट्रिय सभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई यादव पक्षधरले अन्तर्घात गरेको विषयले विवाद बढाएको हो ।
निर्वाचनमा भट्टराई पक्षका हेमराज राई उम्मेदवार बनेका थिए । तर, जसपाका जनप्रतिनिधिले एमाले उम्मेदवार सोनाम ग्याल्जेन शेर्पालाई मत हालेको सो पक्षको ठहर छ ।
सोही कारण गठबन्धनको बहुमत हुँदाहुँदै पनि राई पराजित बनेका थिए । यादवलाई कमजोर बनाउन भट्टराईले केन्द्रीय कमिटीमा बहुमत बनाउने प्रयास थालेका छन् ।
बहुमत जुटाउन नसके जसपाबाट अलग हुँदै नयाँ पार्टी बनाउने स्रोतले बतायो । भट्टराईलाई कृषिमन्त्री महेन्द्र राय यादव, मोहम्मद इस्तियाक राई, रामनरेश यादव, राजेन्द्र श्रेष्ठ, अशोक राई, गंगा श्रेष्ठलगायतले साथ दिइरहेका छन् ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषयमा भट्टराई पक्षमा खुलेका छन् । यादव भने अहिलेसम्म मौन छन् । उनले एमसीसीबारे केही बोलेका छैनन् ।
उपेन्द्र यादवलाई यसअघि विजयकुमार गच्छदार, महन्थ ठाकुर, राजेन्द्र महतो साथ छाडेका थिए । चुनावको मुखमा जसपामा देखिएको विवादले लोसपालाई फाइदा पुग्ने देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।