सोमवार, कार्तिक १७ २०८३Nov 02 2026

Logo
images images

पार्टी र नेतृत्वमाथि प्रहार गरेर सरकारका गतिविधिबाट ध्यान मोड्न खोजिएको कांग्रेसको आरोप

पार्टी र नेतृत्वमाथि प्रहार गरेर सरकारका गतिविधिबाट ध्यान मोड्न खोजिएको कांग्रेसको आरोप

  • मिडिया डबली
  • सोमवार, कार्तिक १७ २०८३

  • 132
    SHARES

  • पार्टी र नेतृत्वमाथि प्रहार गरेर सरकारका गतिविधिबाट ध्यान मोड्न खोजिएको कांग्रेसको आरोप

    काठमाडौं - नेपाली कांग्रेसले पार्टी र सभापति गगनकुमार थापाको नेतृत्वविरुद्ध विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण सूचना फैलाउने काम भइरहेको भन्दै आपत्ति जनाएको छ । कांग्रेसले सरकारका पछिल्ला गतिविधिमाथि उठिरहेका प्रश्न र विवादबाट जनताको ध्यान अन्यत्र मोड्न प्रतिपक्षी दललाई लक्षित गरेर योजनाबद्ध प्रचारबाजी भइरहेको आरोप लगाएको छ ।

    सभापति गगनकुमार थापाको सचिवालयले सार्वजनिक गरेको विज्ञप्तिमार्फत पार्टी र नेतृत्वको वैधानिकतामाथि प्रश्न उठाउने गरी आएका समाचार तथा आरोपहरू तथ्यहीन रहेको जनाएको हो । सचिवालयले यस्ता प्रचारलाई निराधार, कपोलकल्पित र राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको टिप्पणी गरेको छ ।

    कांग्रेसले आफ्नो नेतृत्व र पार्टी संरचनासम्बन्धी विवादलाई कानुनी तथा संस्थागत प्रक्रियाबाटै टुङ्ग्याइसकेको दाबी गरेको छ । पार्टी विधान र प्रचलित कानुनअनुसार सम्पन्न विशेष महाधिवेशनबाट नेतृत्व तथा निर्णयको आधिकारिकता स्थापित भएको र त्यसलाई निर्वाचन आयोग तथा अदालतका निर्णयले समेत पुष्टि गरेको विज्ञप्तिमा उल्लेख छ ।

    त्यस्तै, संविधान, प्रचलित कानुन, पार्टी विधान र सर्वोच्च अदालतको आदेशलाई आधार बनाएर सम्पन्न १५औँ महाधिवेशनले पार्टीको आन्तरिक लोकतन्त्र र संस्थागत प्रक्रियालाई थप सुदृढ बनाएको कांग्रेसको भनाइ छ । पार्टीको नेतृत्व र वैधानिकतामाथि अनावश्यक विवाद सिर्जना गर्नुको कुनै औचित्य नरहेको सचिवालयले जनाएको छ ।

    सरकारका गतिविधिप्रति भने कांग्रेसले आफ्नो असन्तुष्टि कायमै राखेको छ । लोकतन्त्र, नागरिक स्वतन्त्रता, जनअधिकार र विधिको शासनका विषयमा सरकार जिम्मेवार हुनुपर्ने भन्दै लोकतान्त्रिक मूल्य र मान्यतामाथि प्रहार हुने कुनै पनि गतिविधिको प्रतिवाद गर्ने कांग्रेसले स्पष्ट पारेको छ ।

    यसैबीच, बिचौलियासँग जोडिएका विभिन्न प्रकरणको अनुसन्धानलाई लिएर पनि कांग्रेसले आफ्नो धारणा सार्वजनिक गरेको छ । पार्टीले ती प्रकरणमा संलग्न जोकोही भए पनि निष्पक्ष र प्रमाणमा आधारित अनुसन्धान हुनुपर्ने तथा दोषी प्रमाणित हुने व्यक्तिलाई कानुनअनुसार कारबाही गर्नुपर्ने बताएको छ । यस विषयमा सरकारलाई आवश्यक सहयोग गर्न कांग्रेस तयार रहेको विज्ञप्तिमा उल्लेख छ ।

    तर, अनुसन्धानका क्रममा रहेका विषयसँग सम्बन्धित नेपाल प्रहरीको छापसहितका कागजात, तथ्य तथा कथित बयानहरू छनोट गरेर सार्वजनिक गरिनुले अनुसन्धान प्रक्रियामाथि नै प्रश्न खडा गरेको कांग्रेसको ठहर छ । अनुसन्धानका संवेदनशील विवरणहरू छानिछानी बाहिर ल्याइनुले वास्तविक प्रमाण लुकाउने, नष्ट गर्ने वा अनुसन्धानलाई प्रभावित पार्ने प्रयास भइरहेको हो कि भन्ने आशङ्का पैदा भएको सचिवालयले जनाएको छ ।

    कांग्रेसले अनुसन्धानको दायरा र प्रक्रिया सबैका लागि समान हुनुपर्नेमा समेत जोड दिएको छ । अनुसन्धानमा संलग्न निकायभित्रकै व्यक्तिहरूको भूमिकासमेत सार्वजनिक भइरहेका बेला कुनै व्यक्ति वा समूहलाई लक्षित गरेर अनुसन्धान अघि बढाइएको हो कि भन्ने प्रश्न उठ्नु स्वाभाविक भएको उसको भनाइ छ ।

    पार्टीले अनुसन्धानका नाममा राजनीतिक प्रतिशोध साँध्ने, अपुष्ट सूचनाका आधारमा व्यक्तिको छवि बिगार्ने र पूर्वाग्रहपूर्ण ढङ्गले आरोप स्थापित गर्ने प्रयास स्वीकार्य नहुने जनाएको छ । अनुसन्धान निष्पक्ष, पारदर्शी र प्रमाणमुखी हुनुपर्ने कांग्रेसको अडान छ ।

    यस विषयमा पार्टीको संसदीय दलले समेत अनुसन्धानलाई निष्पक्ष बनाउन आवश्यक निर्णय गरिसकेको सचिवालयले स्मरण गराएको छ । कांग्रेसले कुनै पनि प्रकरणको सत्यतथ्य बाहिर ल्याउन आफूहरू बाधक नबन्ने तर अनुसन्धानको आवरणमा राजनीतिक उद्देश्य पूरा गर्ने प्रयास भए त्यसको विरोध गर्ने संकेत गरेको छ ।

    विज्ञप्तिको अन्त्यमा कांग्रेसले सञ्चारमाध्यम, राजनीतिक दल तथा सम्बन्धित सबै पक्षलाई अपुष्ट विवरणका आधारमा धारणा निर्माण नगर्न र प्रमाणित तथ्यका आधारमा मात्र विषय सार्वजनिक गर्न आग्रह गरेको छ । साथै, आमनागरिकलाई सामाजिक सञ्जालमा फैलिने अपुष्ट सूचना र भ्रामक प्रचारबाट प्रभावित नहुन पनि अनुरोध गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र १५ २०७९०८:०३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend