काठमाडौं - प्रधानमन्त्री केपी ओलीको सरकार जोगाउने र ढाल्ने समिकरणको विषयमा विवाद हुँदा विभाजनको डिलमा पुगेको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको भिन्न लाइनले विवाद उत्कर्षमा पुगेको हो ।
ठाकुरको पहलमा जसपाका १२० नेता कार्यकर्ताको मुद्दा फिर्ताको निर्णय सरकारले गरेपछि यादवलाई पेल्न थालिएको छ । ठाकुर र राजेन्द्र महतो ओलीसँग सरकारमै सहभागी हुने सम्झौताका लागि बढेका छन् ।
तर, अध्यक्ष यादव कुनै हालतमा ओलीसँग मिलेर जान नहुने पक्षमा छन् । उनी ओली सरकारविरुद्धको समिकरणमा जानुपर्ने जोड गरिरहेका छन् । लुम्बिनी प्रदेशमा देखिएको विवादले जसपा चोइटिने खतरा पनि छ ।
मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा हस्ताक्षर गर्ने चारजना जसपा सांसद मन्त्री बनेपछि विवाद बढेको थियो । उनीहरुलाई जसपाको यादव पक्षले कारबाही गरी सांसद पदबाटै मुक्त गर्ने सिफारिश गर्यो ।
यसको विरोधमा अध्यक्ष महन्थ ठाकुरले पत्र नै लेखेपछि अब जसपामा वार कि पारको अवस्था आएको छ । एउटा पक्ष सांसदलाई कारबाही गर्ने र अर्को रोक्ने विषयले जसपाको विवाद छताछुल्ल भएको छ ।
अब केन्द्रमा ओलीलाई साथ दिने या नदिने विषयको विवादले जसपा फुट्न सक्ने सम्भावना बढेको छ । जसपाले प्रधानमन्त्री ओलीको विकल्प चाहेको भए उहिल्यै उनी बालकोट पुगिसकेका हुन्थे ।
पुस ५ मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको विरोध गर्ने जसपा अहिले भने ओलीसँग निकै नरम बनेको छ । खासगरी ठाकुर र महतोकै कारण ओलीले गणतन्त्रमा ताण्डव देखाइरहेका छन् ।
नेपाली कांग्रेस र माओवादी केन्द्रसँग जसपालाई मिल्न नदिने ओलीको रणनीतिमा छिमेकी देशले पनि राम्रै सहयोग गरिरहेको छ । ओलीले हालै मन्त्रिपरिषद्बाट ११३ मुद्दाका १२० जसपा कार्यकर्ताको मुद्दा फिर्ता लिने निर्णय गराए ।
तर, त्यहाँ एउटा पनि थारु समुदायका परेनन् । अधिकांश महोत्तरीका उग्र राजपाका कार्यकर्ता छन् । रेशम चौधरीको सहानुभूति लिएर थारु सामुदायलाई आफ्नो पक्षमा पार्ने रणनीति ठाकुर र महतोको छ ।
त्यसलाई प्रधानमन्त्री ओलीले पनि साथ दिँदै आएका छन् । रेशम चौधरी सजाय पूरा नगरी जेलबाट छुट्छन् भन्नेमा थारु समुदाय नै विश्वस्त छैनन् । तर, ठाकुर र महतोले हामी प्रयास गर्दैछौं भन्ने देखाउन छाडेका छैनन् ।
जबकि दुवैलाई रेशम चौधरी छ्ुट्न नसक्ने स्पष्ट थाहा छ । जसपाको अर्को पक्ष उपेन्द्र यादव र बाबुराम भट्टराईलाई तह लगाउन पनि ओलीले ठाकुर र महतोले जे जे भन्छन् त्यही त्यही मान्दै गएका छन् । जुन आगामी निर्वाचनमा ओलीकै लागि प्रत्युत्पादक बन्ने एमाले नेता कार्यकर्ता बताउँछन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।