काठमाडौं- नेपाली कांग्रेससँगको गठबन्धन भत्काएर एकाएक नेकपा एमालेसहितका दलहरुसँग गठबन्धन गरेर आफ्नो सत्ताको आयु लम्ब्याउने रणनीतिमा लागेका प्रधानमन्त्री पुष्पकमल दाहालको कुर्सी धरापमा परेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैंले खनेको खाल्डोमा पर्ने सम्भावना बढ्दै गएको छ।
सरकारका मन्त्रीहरुले शपथ ग्रहण गरेको तीन दिन भइसक्दासमेत मन्त्रीहरुले जिम्मेवारी पाउन सकेका छैनन् भने थप मन्त्रीहरुकोसमेत टुंगो लाग्न सकेको छैन। नेकपा माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीको मात्रै सरकार गठनका लागि पर्याप्त संख्या पुग्दैन। सत्ता गठबन्धनमा सामेल हुने भनेका जनता समाजवादी पार्टी सरकारमा नजाने भएको छ।
जसपा नै सरकारमा नजाने भएपछि तीन दलको १३० सिटमात्रै पुग्नेछ। सरकार गठनका लागि १३७ सिट आवश्यक हुन्छ। त्यसैगरी नेकपा एकीकृत समाजवादीले पनि अहिलेको सरकारमा नजाने निर्णय गरेपछि प्रधानमन्त्री प्रचण्डले गठन गरेको नयाँ समीकरण नै समस्यामा परेको हो।
नेकपा एमालेले पनि मन्त्रीमण्डल विस्तारमा चासो नदिएको प्रधानमन्त्री प्रचण्डको गुनासो रहेको माओवादीकै नेताहरुले बताइरहेका छन् भने रास्वपाले पनि उपप्रधानसहित गृह अथवा अर्थ मन्त्रालय माग गरिरहेको छ। गृह अथवा अर्थ नपाएको अवस्थाम सरकारमा पठाएका एक बिना विभागीय मन्त्रीलाई पनि फिर्ता गर्ने विषयमा निर्णय गर्न सकिने निष्कर्षमा रास्वपा पुगेको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार बिहान नै नेकपा एकीकृम समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका थिए। कांग्रेस सभापति देउवाले दौडधुपलाई तीव्रता दिएसँगै एमाले र माओवादीबीचको मन्त्रीपरिषद् विस्तारसम्बन्धको वार्ता स्थगित भएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।