काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जोसँग निकट भएर राजनीतिक सहकार्य गर्छन्, ऊ कि चरम अलोकप्रिय हुन्छ कि उसको राजनीतिक भविष्य धरापमा पर्छ ।
विगत डेढ दशकदेखि यस्तो दृश्य नेपाली राजनीतिमा देखिँदै आएको छ । माओवादी युद्ध छाडेर शान्ति वार्तामार्फत मूलधारको राजनीतिमा आएका प्रचण्डले कुनै बेला गिरिजाप्रसाद कोइरालासँग निकट भएर राजनीति गरे ।
जुनसुकै बेला प्रचण्डलाई कोइराला आवश्यक पथ्र्यो । आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न पनि प्रचण्डले गिरिजाप्रसादको दौराको फेर समातेका थिए । तर, उनै प्रचण्डले गिरिजाप्रसादलाई राष्ट्रपति बन्नबाट रोके ।
अन्तिम समयमा गिरिजाप्रसाद अलोकप्रिय बन्न पुगे । त्यसपछि प्रचण्ड एमाले अध्यक्ष केपी ओलीसँग निकट भए । एमाले र माओवादी केन्द्रलाई एक गरेर नेकपा बनाए । हरेक दिन ओलीसँग वार्ता गर्थे । बालुवाटारमा घन्टौं बिताउँथे । तीन वर्ष यसरी नै बिताए । पछि ओलीसँग उनको डिभोर्स भयो ।
अहिले फेरि उनी एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई अघिपछि लगाएर हिँडेका छन् । माधव नेपालसँग आफ्नो ‘डप लभ’ परेको बताउन थालेका छन् । प्रचण्डको यस्तै अभिव्यक्तिले माधव नेपालको राजनीति भने धरापमा परेको छ ।
अर्काको राजनीतिक एजेन्डा बोकेर हिँडेको भन्दै ओलीले माधव नेपाल र उनी पक्षका २७ सांसदको पद नै खाइदिने भएका छन् । यदि ओलीले माधव नेपालसहितलाई कारबाही गरेमा उनले कि त नयाँ पार्टी दर्ता गर्नुपर्ने हुन्छ, कि त ओलीकै शरणमा पर्नुपर्ने हुन्छ ।
जे गरे पनि माधव नेपाल अहिले निकै अप्ठेरोमा परेका छन् । प्रचण्डकै कारण सत्तारुढ एमाले फुटको संघारमा पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीले ‘समानान्तर कमिटी गठन गरेको र पार्टी हितविपरीत कार्य गरेको’ भन्दै कारबाही प्रक्रिया अघि बढाएका छन् ।
पार्टीलाई विधान, पद्धतिअनुसार सञ्चालन गर्नुपर्ने माग नेपाल समूहको छ भने संस्थापन पक्षले विधि पद्धतिको ‘नक्कली कुरा’ गरेर समानान्तर गतिविधि र पार्टी हितविपरीत कार्य गरिरहेको आरोप ओली समूहले लगाउँदै आएको छ ।
नेपाल समूह आफैं पार्टी फुटाउने गृहकार्यमा जुटेको आरोप ओली पक्षको छ । यदि आज माधव पक्षले बुझाएको स्पष्टीकरण चित्त नबुझेमा ओलीले माधव पक्षलाई कारबाही गर्ने निश्चित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।